काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले लिम्पियाधुरा छाडेर अयोध्यातिर ध्यान नमोड्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या भारतमा नभई ठोरीमा रहेको भन्दै अभिव्यक्ति दिएपछि कांग्रेसले प्रधानमन्त्रीको ध्यान लिम्पियाधुरातर्फ केन्द्रित गर्न आग्रह गरेको हो । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारको ध्यान कोरोना भाईरसको जोखिम न्युनीकरण र कालापानीतर्फ हुनुपर्ने बताउनुभएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘अयोध्यातिर ध्यान नमोडौं, संसदबाट पारित नक्सामा हक कायम गर्न गम्भीर कुटनितिक पहल थालौं ।’ संसदले हालै मात्र लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटिएको नक्साअनुसार निशान छाप परिर्वतन गर्ने संविधान संशोधन प्रस्ताव पास गरेको छ ।
अब लिम्पियाधुरासहितका भूभाग फिर्ता ल्याउन राजनीतिक र कुटनितिक संवाद गर्नुपर्नेमा सरकारले अयोध्यातिर ध्यान मोड्न खोजेको बिषय सन्तोषजनक नरहेको कांग्रेसका नेताहरुले बताएका छन ।