दियाली परिवारद्वारा ५० हजारको अक्षयकोष स्थापना

कोनेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका–६ मुलगाउँमा रहेको सरस्वती आधारभुत विद्यालयमा काठमाडौं कपनका सुनचाँदी व्यवसायी सुरेन्द्र दियालीले स्वर्गीय बुबाको नाममा ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिनुभएको छ ।

स्कूलका जेहन्दार विद्यार्थीलाई छात्रवृत्ती, शैक्षिक र खेलकुद सामाग्री खरिद गर्न दियाली परिवारले स्व. बुबाको नाममा ‘हर्कबहादुर दियाली अक्षयकोष’ स्थापना गरिदिनुभएको हो ।

अक्षयकोष स्थापना गरिदिनुभएको सुनचाँदी व्यवसायी सुरेन्द्रले सरस्वती स्कूल अध्ययन गर्नुभएको थियो । आफू पढेको स्कूलमा बुवाको नाममा जेहन्दार विद्यार्थीहरूलाई पढाइमा अभिरुची बढाउनुको साथै उनीहरूको व्याक्तित्व विकासमा थप टेवा पु¥याउने उद्देश्यले अक्षयकोष स्थापना गरिएको बताउनुभयो । आउँदा दिनमा यसरी नै आफ्नो तर्फबाट स्कूललाई सहयोग गरेर अगाडि बढ्ने दियालीले बताउनुभयो ।

२०४४ सालमा स्थापना भएको सरस्वती स्कूलको शैक्षिक गुणस्तर सुधार गरी नमुना विद्यालयको रूपमा परिचत गराउन भुतपूर्व विद्यार्थीहरूको समूह लागि परेका छन् । विद्यालयको भौतिक पूर्वाधारको स्तरउन्नतिदेखि शैक्षिक गुणस्तर सुधारमा लागि परेको स्कूलमा स्थापना भएको अक्षय कोषले ठूलो सहयोग पुग्ने सरस्वती आधरभूत विद्यालय भूतपूर्व विद्यार्थी संगठनका संयोजक खगेन्द्र बाराइलीले बताउनुभयो ।

विद्यालयको शैक्षिक गुणस्तर सुधारमा भूतपूर्व विद्यार्थीको समूह लागि परेकोले सम्पूर्ण मनकारी व्यक्तिहरूलाई सहयोगको लागि भुतपूर्व विद्यार्थी समूहले सार्वजनिक रुपमा अपिल गरेको छ । यस अघि पनि कानेपोखरी–६ घर भइ बेलायतमा रहनुभएका धनबहादुर लिम्बू र चेत माया लिम्बूले ५० हजारको ‘बुद्ध रानी लिम्बू अक्षयकोष’ स्थापना गरिदिनुभएको थियो । उक्त कोषबाट आएको ब्याजले जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ती प्रदान गरिँदै आएको स्कूलले जनाएको छ ।

आइतबार, १४ असार, २०७७, साँझको ०६:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर