डा.लेखनाथ नेउपाने
विषेश गरेर रातको समयमा बढी पिसाव लाग्ने, चाडो चाडो पिसव फेर्न उठनु पर्ने, पिसाव खुलेर नहुने, निक्कै बेरसम्म आइरहने, धारो सानो आउने, थोपा थोपा आउने, कन्नुपर्ने र तल्लो पेट दुख्ने, भारी महशुस हुने कहिलेकाही ठाउमा पुग्न नभ्याईने, पिसाव गर्दा पोल्ने, रगत देखापर्ने जस्ता समस्या पुरुषहरुमा देखापर्छन् । यही र यस्तै खाले समस्याहरुलाई प्रोष्टेटको समस्या भनिन्छ । ४० वर्ष नाघिसकेका पुरुषहरुमा देखा पर्ने एउटा गम्भीर समस्या हो, प्रोस्टेट । प्रोस्टेट ग्रन्थि पुरुषमा मात्र रहने हुँदा प्रोस्टेटलाई पुरुष ग्रन्थी पनि भनिन्छ । धेरैजसो ५० देखि ७० वर्षबीचका पुरुष यो र यस्तै खाले लक्षणहरु लिएर डाक्टरकोमा धाउनेको संख्या बढ्दै गएको छ । यता अप्रेशन गराउनेको संख्या पनि बढ्दो छ । यौन दुर्वलता पनि यही उमेरमा धेरै देखिने हुनाले हर्मोनको कमीका कारण चाँडोचाँडो ग्रन्थी बढ्ने गर्छ । उमेरले डाँडा काटेपनि मन बुढो नहुनेहुँदा हरेक खाले चाहना मानिसमा रहिरहन्छ । राति आन्नदले निदाउने कुरालाई प्रोस्टेटले रोक्नसक्छ । छिनछिनमा पिसाब गर्न उठिरहनुपर्ने बाध्यताले अरु समस्या जन्मिन सक्छ ।
के हो प्रोष्टेट ?
यो पिसावथैली मुन्तिर थैलीबाट निस्कने मुत्रनली(युरेथ्रा)लाई घेरेर बसेको हुन्छ । जन्मेदेखि नै सानो आकारमा रहने यो ग्रन्थी उमेरसँगै बढ्छ । वयस्क उमेरमा यसको तौल २० या २२ ग्रामसम्म पुग्छ । यो सामान्य हो । यो ग्रन्थीले मुत्र प्रणालीलाई सहयोग गर्छ भने सेक्स हर्मोनको पनि उत्पादन गर्छ । साथमा अण्डकोषबाट आउने विर्यलाई यसबाट निस्कने तरल पदार्थले सुरक्षित रुपमा सम्भोगको समयमा महिलाको योनीमार्ग हुँदै पाठेघरसम्म लैजान सहयोग गर्छ । जब यसको आकारमा बृद्धि हुँदैजान्छ र असहज हुन्छ । पिसाव छिनछिनमा लग्ने, राति निक्कै पटक उठ्नुपर्ने, पिसाब फेर्न निक्कै समय लाग्ने, ननिथ्रिएको महशुस हुने, फेरिसकेपछि पनि पुनः पिसा आएजस्तो लाग्ने, रोक्न मुस्किल हुने, कसैकसैलाई यौन चाहना हराउने, तल्लो पेट दुख्ने, भारी हुने या पिसाब पूर्ण रुपमा रोकिने जस्ता लक्षणले सताउन थाल्छ । यस्ता लक्षण देखिएमा उपचारको आवश्यकता हुन्छ ।
कारणहरुः
शरीरमा उत्पन्न हुने हर्मोेन (रसराग) टेस्टोस्टेरोनको कमी हुँदैजाँदा प्रोष्टेटको समस्या देखापर्छ । यसरी नै वंशानुगत र पटक–पटक पिसावमा देखिने संक्रमण अनि संक्रमणका कारण प्रोस्टेट सुन्निनु हो । नियोप्लाजम नामक कोषहरुको अनावश्यक बृद्धि हो । यस्तो अवस्थालाई फाइब्रोमायोएडिनोमा भनिन्छ । यसका साथै अन्य कारणहरु पनि हुनसक्छन् ।
प्रकार:
विषेश गरेर फाइब्रामायोएडिनोमा बेनाईन र कार्सिनोजेनिक अर्थात क्यान्सर हुने र नहुने गरेर दुई रुपमा देखापर्छ । कसैकसैमा प्रोष्टेट सुन्निएर नघटेको अवस्था पनि हुन्छ । यो अवस्थामा पनि माथिकै लक्षणहरु देखा पर्ने र ती लक्षणहरु रहिरहन सक्छन् । हेर्दा आकार सामान्यभन्दा ठूलो मात्र भएको अवस्थामा पनि विरामीले नियमित जाँच भने गराउनुपर्छ । प्रोष्टेटको आकार धेरै ठूलो नदेखिएपनि पिसाव आउने नलिवरपर अनावश्यक बोसो या अनावश्यक कोषको विकास भएमा पनि पिसाव रोकिने दुख्ने जस्ता लक्षणहरु देखा पर्छन् । पिसाव फेरिसकेपछि पनि मुत्रथैलीमा केही मात्रामा पिसाव रहन्छ । यो अवस्थामा पनि पिसाब बारबार लाग्ने र ननिथ्रिएको जस्तो हुन्छ । यसरी नै पुरुषहरुमा प्रोष्टेट क्यान्सर उच्च दरमा देखिएको छ । प्रोस्टेट बढेको अवस्थामा जस्तै प्रोष्टेट क्यान्सरमा पनि तीनै लक्षणहरु देखिने हुँदा सजग रहनुपर्छ । जस्तै पितापुर्खामा क्यान्सरको इतिहास, आफैंमा क्यान्सरको उपचार चलिरहेको अवस्थामा या प्रोष्टेटको अप्रेशन पश्चात पनि उही समस्या देखिएमा पिसाब गर्दा पोल्ने, दुख्ने भएमा, रगत देखिएमा एक पटक जाँच गराउनु राम्रो हुन्छ । दिसाद्वारबाट औला छिराएर प्रोष्टेट बढेको छ या छैन थाहा पाउन सकिन्छ । आजकल त अल्ट्रासाउन्ड(भिडियो एक्स्रे) गराएर सजिलै कति ग्राम र कस्तो अवस्थामा छ भन्ने पत्ता लाग्छ । यसरी नै कति मिलिलिटर पिसाव फेरिसकेपछि पनि थैलिमा रहन्छ भनेर पत्ता लगाउन सकिन्छ । जति धेरै पिसाबथैलीमा पिसाव फेरिसकेपछि पनि रहन्छ त्यति नै छिटोे पिसाब लाग्ने र ननिथ्रिएको महशुस हुनेगर्छ ।
उपचार:
विरामीको उमेर, रोगीको अवस्था र प्रोष्टेटको आकारका आधारमा उपचार विधि अपनाइन्छ । विषेश गरेर औषधीको सेवन गरेर बढ्दै गरेको प्रोष्टेटलाई अरु बढ्नबाट रोक्ने । यदि औषधीले बढ्नबाट रोक्न सकेन र बिरामीलाई असहज भइरहेमा अप्रेशन अथवा बढेर गएको अनावश्यक कोषहरुलाई खुर्केर प्mयाक्ने गरिन्छ । दोस्रो अपचार सुन्दा सजिलो लागे पनि खर्चको अभावमा र सहज सेवा उपलब्ध नभएका कारण दुर–दराजमा वस्ने अधिकांश नागरिकहरुले यस्तो खालको सेवा लिन सकेका छैनन् । यसमा पनि अप्रेशन असफल हुने र समस्या दोहोरिने घटनाहरु बढी भएकाले धेरै रोगीहरु रोग सहेर बस्न बाध्य छन् । समय समयमा पुनः जाँच गराउनुपर्छ भन्ने ज्ञानको कमी र अभावले पनि उपचार असफल भएको पाइन्छ । एक पटक जाँच या अप्रेशन गराएपछि अब पुग्यो, जानु पर्दैन भनेर बस्नु राम्रो होइन । कम्तीमा पनि वर्षमा एक पटक जचाउँनु उचित हुन्छ । यसका साथै भविष्यमा प्रोष्टेट क्यान्सर हुन पनि सक्छ भन्ने कुरा ध्यानमा राखेर एउटा रगतको परिक्षण गराउनु राम्रो हो । त्यो जाँचलाई पिएसए भनिन्छ । यो जाँचबाट भविष्यमा हुनसक्ने क्यान्सर बेलैमा थाहा पाएर बच्ने उपाय अपनाउन सकिन्छ ।
यसरी नै बिनाअप्रेशन प्रोष्टेट पीडितलाई राहत दिन सकिन्छ, औषधीको माध्यमबाट पनि । होमियोप्याथिक, आर्युवेिदक तथा योग चिकित्साबाट हजारौं प्रोष्टेट रोगीहरुले राहत पाएका छन् । नियमित व्ययाम र खानपिनमा सरलता अर्थात सहजै पच्नसक्ने साकाहारी भोजन एउटा सहज माध्यम हो । मांसहारीले पनि पोलेको, धेरै मसला भएको र पटक–पटक पकाएको मासु नखाने । दैनिक फलफुलको मात्रा थोरै भए पनि सेवन गर्ने । एउटा अध्ययन अनुसार हाम्रो शरिरलाई आवश्यक पर्ने लाइकोपेन भन्ने तत्वको कमी भएमा शरीरमा विशेष गरेर प्रोस्टेट ग्रन्थिमा क्यान्सर लाग्नसक्छ । यो हुनबाट बचाउँछ लाइकोपेनले । र, लाइकोपेन फलफुलमा पाईन्छ । जस्तै गोलभेडा, अमला, कागती, रुख टमाटर, स्याउ र धेरै बियाँ भएका तरकारी र पहेला फलफुलमा यो पाइन्छ ।
त्यसैले बेलैमा रोगका बारेमा जानकारी राखेर आप्mनै घर र करेसा बारीमा उत्पादन हुने तरकारीको सेवन गरौं । यसबाट क्यान्सर जस्तो डरलाग्दो रोगबाट टाढा रहन सकिन्छ भने प्राकृतिक उपचर पद्दति अपनाएर अप्रेशनबाट केही हदसम्म बाँच्न सकिन्छ । यसका साथै सहज जीवन जीउन पनि सकिन्छ । जसरी जंगलमा चर्ने गाईवस्तु घाँसपातसँग मिसिएका जडिबुटी खाएर स्वस्थ हुन्छन्, त्यसरी नै हामी पनि सागसब्जी र फलफुलको सेवन गरेर स्वस्थ रहन सक्छौं । प्रोष्टेट समस्याका लागि होमियोप्याथिक औषधिहरु निक्कै प्रभावकारी हुन्छन् । जस्तै सेवल सेरुलेटा, थुजा, कोनियम, फेरम पिक्रिकम, बैराइटा कार्ब आदि । तर, होमियोप्याथिकमा विरामीको लक्षण र चिन्हका आधारमा औषधी दिइने हुँदा कुनैपनि औषधी चयन हुनसक्छ । त्यसैले चिकित्सकको सल्लाह बमोजिम मात्र औषधी सेवन गर्नुपर्छ ।
(लेखकः रीता होमियो क्लिनिक सेन्टर दमकका सञ्चालक हुन्)