प्रतिनिधिसभामा महाकाली सन्धिबारे गम्भीर प्रश्न

महाकाली सन्धि गर्दा लिपुलेक कहाँ थियोः महतो, सन्धि गर्नेहरुले माफी माग्नुपर्छः यादव

काठमाडौं । जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो र उपेन्द्र यादवले महाकाली सन्धि गर्नेहरुले राष्ट्रघात गरेकोले माफी माग्नुपर्ने बताउनुभएको छ ।

शनिबार प्रतिनिधिसभा बैठकमा नेपालको संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै दुबै नेताले महाकाली सन्धिबारे प्रश्न उठाएका हुन् ।

नेता महतोले सन्धि पारित हुँदा नक्सा स्पष्ट गरेको भए अहिलेको अवस्था नआउने बताउनुभयो । ‘राष्ट्रघातीको अब पहिचान गर्नुपर्छ। राष्ट्रघातीलाई झुन्डाउनुपर्छ। राष्ट्रवादको परीक्षा अब मधेसमा नगर्नुस् । मधेसीलाई राष्ट्रघाती भन्‍ने ?’ महताको आक्रोश थियो । महाकाली सन्धि गर्दा लिपुलेक कहाँ थियो भन्ने पश्न गर्दै नक्सा मात्र नभएर भूमि फिर्ताको पहल गर्न प्रधानमन्‍त्रीलाई सुझाब दिनुभयो ।

‘कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूमी हो, त्यसैले अनुसुची संशोधन गर्न प्रस्ताव पेश भएको हो’ महतोले भन्नुभयो, ‘मधेसीले राष्ट्रियताका कुरा गर्छ ? भनेर सोधिन्छ तर राष्ट्रियता एकल हुन्न, सबैको हुन्छ । मधेसी जनताले सीमाको रक्षा गरेका छन्, सेना पुलिस जानु पर्दैन ।’

बैठकमा सोही पार्टीका नेता उपेन्द्र यादवले महाकाली सन्धी गर्दा राष्ट्रघात भएकोले जनतासँग कांग्रेस कम्युनिष्टले माफी माग्नुपर्ने बताउनुभयो । महाकाली सन्धी हुँदा आफू सांसद पनि नभएको उल्लेख गर्दै उहाँँले त्यसबेला सांसद हुने र नेतृत्व गर्नेहरूले सुगौली सन्धीभन्दा पनि पछि हटेर महाकाली सन्धी गरेकोले माफी माग्नुपर्ने बताउनुभयो ।

‘मधेशीलाई गाली गर्ने, राष्ट्रघाती भन्ने ? अनि त्यसबेला सन्धी गर्नेहरूले माफी माग्नुपर्दैन ?’ यादवको प्रश्न थियो । आन्तरिक एकता बलियो बनाउन सुझाव दिँदै उहाँले त्यसको लागि अधिकार प्राप्तिको माग गरिरहेका समुदायका आवाज सुन्न आग्रह गर्नुभयो ।

शनिबार, ३१ जेठ, २०७७, दिउँसोको ०३:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर