काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजतन्त्रले गुमाएको नेपाली भूमी गणतन्त्रले फिर्ता ल्याएको बताउनुभएको छ ।
शनिबार प्रतिनिधिसभा बैठकमा संविधान संशोधन विधेयकमाथिको दफावार छलफलमा सहभागी हुँदै प्रचण्डले यो ऐतिहासिक दिन भएको बताउनुभयो ।
नयाँ नक्सासहितको संविधान संशोधन विधेयकमाथि भएको छलफलमा बोल्दै प्रचण्डले यो ऐतिहासिक जित भएको उल्लेख गर्नुभयो। राष्ट्रिय एकताको पक्षमा यो अभूतपूर्व सहकार्य भएको भन्दै उहाँले यसमा साथ दिने राजनीतिक दल र सबैलाई धन्यवाद दिनुभयो ।
गुमेको भूभाग लिने, त्यसको दावी प्रस्तुत गर्ने र भारतसँग राजनीतिक तथा कुटनीतिक तहमा वार्ता गरेर सदाका निम्ति समाधान गर्ने संकल्पको चरणमा आफूहरु आएको प्रचण्डले बताउनुभयो । कालापानी, सुस्ता क्षेत्र विवादमा छ भन्ने कुरा भारत सरकारले बारम्बार स्वीकार गरेको स्मरण गदैए उहाँले वार्ताका लागि नेपालले भारतलाई प्रस्ताव गरेको तर त्यसका निम्ति तत्परता देखाउनुभन्दा भारत सरकारकै एक मन्त्रीले त्यही भूभाग हुँदै बनाइएको बाटो लकडाउनकै उद्घाटन गर्नुले हामी सबैलाई उद्वेलित बनाएको प्रष्ट पार्नुभयो ।
नक्सा प्रकाशित गरेर र बाटो उद्घाटन गरेर भारतले नेपालीलाई एकतावद्ध हुन र आफ्नो गुमेको भूमि फिर्ता लिन घच्घच्याएकोमा प्रचण्डले धन्यवादसमेत दिनुभयो । समस्या समाधानका लागि वातावरण बनोस् भन्ने नै आफूहरुको चाहना रहेको उहाँको भनाई थियो ।