डा.रवीन्द्र पाण्डे
लकडाउन खुकुलो हुँदै गएको । कोरोना संक्रमण अनिश्चित कालसम्म रहनसक्ने तथा हाम्रा आधारभूत आवश्यकता आजको आजै अनिवार्य भएकोले लकडाउन खुकुलो गर्नुको बिकल्प पनि छैन ।
हामीले के बिर्सिनु हुँदैन भने संक्रमित व्यक्तिको संख्या थोरै हुँदा हामीले लकडाउन गर्यौ । संक्रमितको संख्या बढिरहेको स्थितिमा लकडाउन खुकुलो गर्दैछौं । लकडाउन खुकुलो भएसँगै हामीले कोरोना संक्रमण रोकथामको लागि थप सतर्क र सजग हुनु जरुरी छ । यहाँहरुले निम्न लिखित अभ्यासलाई आफ्नो जीवनशैली बनाउनु भयो भने कोरोना संक्रमणसंग बच्न सकिन्छ ।
१. लकडाउन खुकुलो भएपनि अत्यावश्यक कामबाहेक घरमै बस्नुहोला ।
२. घरबाहिर निस्कँदा सर्जिकल मास्क वा कटनको २ पत्रे मास्क सहि तरिकाले लगाउनुहोला । घरमा आएपछि त्यो मास्कलाई धोएर सुकाउने वा घाम र हावा खेल्ने ठाउँमा राख्नुहोला । मास्कले नाक र मुखमा एयर टाइट हुने गरि छोप्नुहोला । प्रयोग गरेको मास्क बाटोमा नफाल्नुहोला । सकभर चस्मा र पञ्जाको पनि प्रयोग गर्नुहोला ।
३. कोरोना संक्रमणको प्रमुख रोकथाम व्यक्तिगत दुरी हो । घर बाहिर निस्किएपछि बाटोमा, पसलमा, बसमा, काम गर्ने ठाउँमा, खाजा खाने ठाउँमा, सामान किन्ने ठाउँमा अर्थात हरेक ठाउँमा ६ फिटको दुरी कायम गर्नुहोला ।
४. सकभर नाक, मुख, आँखामा हात लैजाने बानी छोड्नुहोला । हरेक बस्तु छोएपछि, बाहिरबाट आएपछि, खाना खानुअघि तथा अन्य समयमा पनि साबुनपानीले मिचिमिची हात धुनुहोला । साबुनपानी नभएको ठाउँमा ह्याण्ड स्यानिटाइजरले हात सफा गर्नुहोला ।
५. सार्वजिक यातायातमा संक्रमण सर्ने जोखिम हुने भएकोले छोटो दुरीमा पैदल हिँड्ने बानी गर्नुहोला । भौतिक दुरी कायम हुनेगरि सवारी साधन चढ्दा मास्क, चस्मा, पञ्जा तथा स्यानिटाइजर अनिवार्य रुपमा प्रयोग गर्नुहोला ।
६.। कोरोना संक्रमण सर्ने सबैभन्दा खतरनाक ठाउँ भीडभाड हो । भीडमा झुक्किएर पनि नजानुहोला । भौतिक दुरीको मुलमन्त्र नबिर्सनुहोला ।
७. खोकी लागेमा, हाच्छिउँ आएमा, रुघा लागेमा तथा ज्वरो आएमा निको नहुने बेलासम्म घरबाहिर नजानुहोला । यस्तो बेला कुहिनातिर फर्केर खोक्ने, हाच्छ्युं गर्ने, टिस्यु पेपर वा सफा रुमाल प्रयोग गर्ने, अनि हात सफा गर्ने गर्नुहोला । अरु मान्छेतिर फर्केर कहिल्यै पनि नखोक्नुहोला, हाच्छ्युं नगर्नुहोला । यो बानी हामीले सुधार्नु जरुरी छ ।
८. आफूले काम गर्ने र गराउने ठाउँमा भौतिक दुरी, सरसफाई तथा भेन्टिलेसनको ब्यबस्था मिलाउनुहोला । बन्द कोठामा भाइरस लामो समयसम्म रहन्छ ।
९. सकभर खाजा घरबाटै लिएर जानुहोला । क्यान्टिन वा चियापसलको भीडबाट बच्नुहोला ।
१०. आफ्नो काम सकिएपछि सिधै घरमा फर्किने बानी गर्नुहोला ।
११. घरमा फर्केपछि मास्क, रुमाल, पञ्जा, चस्मा, झोला, बाहिरी कपडालाई घरबाहिर वा घरको हावा लाग्ने गल्ली, कौसीमा राख्नुहोला ।
१२. सानोतिनो समस्या भएमा अस्पताल नजानुहोला । घरेलु उपचार तथा प्राथमिक उपचारले निको नभएमा भीडभाड नहुने स्वास्थ्य संस्थामा जानुहोला । त्यहाँ ६ फिटको दुरी कायम गर्ने, मास्क लगाउने गर्नुहोला ।
१३. तरकारी, फलफूल तथा अन्य सामान किन्नको लागि सपिंग मल, डिपार्टमेन्टल स्टोरजस्ता भीडभाड हुने ठाउँभन्दा नजिकको किराना पसल रोज्नुहोला ।
१४. मानसिक तनाब न्यूनीकरण गर्ने योजना बनाउनुहोला । केहि समय हाम्रा ब्यवसाय चल्ने छैनन् वा कम चल्नेछन् । खाध्य, औषधि, स्टेसनरी, कृषि लगायतका ब्यवसाय चल्नेछन् । अन्य ब्यवसायमा महँगो भाडा, धेरै लगानी तथा धेरै खर्च भएमा त्यसलाई ब्यवस्थापन गर्नुहोला । आवश्यक परे पेशा परिवर्तन गर्ने यो उपयुक्त समय हो । कृषि, पशुपंक्षी पालन तथा बिबिध अर्गानिक खेती, होम डेलिभरी एवं अनलाइन बिजनेस अबका उत्कृष्ट पेशा हुनेछन् ।
१५. चुनौतीलाई स्वीकार्ने, चुनौतीलाई ब्यवस्थापन गर्ने तथा सानो उपलब्धिमा पनि सन्तोष मान्ने बानीको विकास गर्नुको बिकल्प छैन । कोभिडपूर्वको अवस्थासँग तुलना गर्यो भने तनाब थप्ने काम हुन्छ । यो नयाँ युगलाई शुन्य मानेर काम गर्यौं भने तनाब हुनेछैन ।
१६. रोगसँग लड्ने क्षमता बढाउने उपाय गर्नुहोला । ताजा र पोषिलो खाना, खानामा मरमसला र जडिबुटीको प्रयोग, गुर्जो ं तुलसी ं बेसार ं अश्वगन्धा मिश्रित चिया, प्रशस्त पानी, ब्यायाम, योग, ध्यान, संगीत, लेखन, पठन, प्रबचन श्रवण, तनाब न्यूनीकरण आदिबाट आफ्नो इम्युनिटी पावर बढाउन सकिन्छ । इम्युनिटी पावर बढेमा कोरोनामात्र हैन अन्य धेरै रोगबाट पनि बच्न सकिन्छ । सकारात्मक सोंच र आशावादी गुण सुखी जीवनका अचुक औषधि हुन् ।
१७. कुनै व्यक्तिसँग प्रतिष्पर्धा, रीस, इर्श्या, मनमुटाव, नकारात्मक धारणा तथा बेइमानी कहिल्यै नगर्नुहोला । प्रत्येक व्यक्ति फरक क्षमताको हुन्छ । विनयशील, सहनशील, क्षमाशील तथा सत्यको बाटोमा हिंड्ने व्यक्ति निरोगी र दिर्घायु हुन्छ ।
१८. संक्रमित तथा मृतकको संख्या, उमेर, स्थान हेरेर चिन्तित हुने नगर्नुहोला । कोरोना आउनु पहिले सबै अस्पताल प्याक थिए, आइसीयु प्याक थिए, घाटहरु ब्यस्त थिए, जन्म, वृद्धि, क्षयरोग, बुढोपन र मृत्यु हामी सबैको जीवनमा थियो, छ र हुनेछ ।
१९. कोरोनाको कारण मात्र मृत्यु हुनेको संख्या अत्यन्तै कम छ । तसर्थ हामीले हाम्रा रोगहरु पत्ता लगाएर चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्छ । आफै जान्ने भएर, बानी पर्छ भनेर वा आफैले कन्ट्रोल गर्छु भनेर जोखिमको धारमा बस्नुहुँदैन । औषधि सेवनले हाम्रा रिपोर्ट नर्मल राख्न सक्यौं भने कोरोना संक्रमणसंग डराउनु पर्दैन ।
२०. कोरोना संक्रमण भएमा मरिन्छ भन्ने जुन धारणा छ, त्यो गलत हो । ९० प्रतिशत कोरोना संक्रमितलाई आफै वा सामान्य उपचारले निको हुन्छ । १० प्रतिशतलाई अस्पताल बस्नुपर्ने हुनसक्छ । तीमध्ये ५ प्रतिशतलाई आइसीयु र भेन्टिलेटर चाहिन्छ । त्यसको आधा अर्थात २÷३ प्रतिशतको मात्र निधन हुन्छ । हाम्रो देशको मृत्युदर अहिलेसम्म ०.५ प्रतिशत पनि छैन । यो तथ्य हामीले बिर्सिनु हुँदैन ।
(लेखक जनस्वास्थ्य विज्ञ हुन्)