विराटनगर । आज ५ जुन अर्थात् विश्व वातावरण दिवस । यसै अवसरमा लायन्स क्लब अफ बिराटनगर हेल्थ प्रोफेसनले वृक्षारोपण गरेको छ ।
कोभिड–१९ को त्राश र लकडाउनमा पनि स्वास्थ्यकर्मीहरु व्यस्त छन् । तरपनि स्वास्थ्यकर्मीहरु नै आवद्ध लायन्स क्लब अफ हेल्थ प्रोफेसनले बिहानै २५ वटा भन्दा बढी फलफूलका बिरुवा रोपेका हुन् ।
अहिले लकडाउन रहेकाले सबै जना भेला भएर बृहत कार्यक्रम गर्न नसकिने भएकाले आफ्नो–आफ्नो घरमा नै कम्तिमा १ बिरुवा रोपौं भन्ने व्हिप जारी गरेकाले यो सम्भव भएको क्लबका अध्यक्ष लायन डा. बालकृष्ण साहले बताउनु भयो ।
विभिन्न अवसर पारेर ठूलो संख्यामा वृक्षारोपण गर्ने गरेको भए पनि ती विरुवाहरुको हेरचाह नभएकाले अधिकांश सुकेर जाने देखिन्छ । त्यसैले आफ्नै बारीमा फलफूलका बिरुवा रोपे त्यो राम्रोसँग हुर्केने विश्वास लिएको डा. साहले क्लबका सबै सदस्यहरुलाई फलफूल वा कुनै बिरुवा रोप्न आग्रह गर्नुभएको थियो ।
रोपिएका बिरुवामा सबै भन्दा बढी आँप र लिचि रहेका छन् भने यस बाहेक कटहर, सजिवन, धुपी आदिका विरुवा पनि रहेको अध्यक्ष साहले बताउनु भयो ।