विराटनगर । राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवस मनाएको छ ।
पूर्वमन्त्री तथा मोरङ क्षेत्र नं. ५ का सांसद शिवकुमार मण्डलको सहयोग र परिवर्तनका लागि हातेमालो अभियान विराटनगरको समन्वयमा राष्ट्रिय दलित पत्रकार संघ मोरङले विपन्न दलित परिवारलाई राहत वितरण गर्दै दिवस मनाएको हो ।
१४ औँ जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसका सन्दर्भमा मोरङको रंगेली–७ स्थित विश्वकर्मा टोलका सवै परिवारलाई राहत वितरण गरेको हो । राहत वितरण कार्यक्रममा बोल्दै राष्ट्रिय दलित पत्रकार संघ मोरङका अध्यक्ष किशोर विश्वकर्माले मुलुक छुवाछुत मुक्त राष्ट्र घोषणा भएको १४ वर्ष नाघे पनि दलित समुदाय माथि गरिने विभेदको अन्त्य नहुनु दुःखद भएको बताउनु भयो ।
अध्यक्ष विश्वकर्माले जातीय विभेद र छुवाछुत गर्नेविरुद्ध सरकार कडा ढंगले प्रस्तुत हुनुपर्ने र सरोकारवालाहरुले पनि खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जातीय विभेदकै कारण रुकुम पश्चिम चौरजहारी हत्याकाण्ड भएको बताउँदै यस्ता घटना भइरहे जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको कुनै अर्थ नरहने पनि बताउनु भयो ।
सो अबसरमा परिवर्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष तथा दलित अभियान्ता विनोद चाहार (परियार) ले संवैधानिक अधिकार रक्षाका लागि सिंगो दलित समुदाय एक जुट हुनुपर्ने बताउनु भयो । उहाँले मुलुकमा विभेद र छुवाछुत अन्त्यका लागि दलित र गैरदलितबीच हातेमालो गर्दै खबरदारी अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विश्वकर्मा टोलका सवै परिवारलाई वडा सदस्य रुपा विक, संघका मोरङ अध्यक्ष किशोर विश्वकर्मा, उपाध्यक्ष खड्ग वेदना (परियार), परिवर्तनका लागि हातेमालो अभियान विराटनगरका अध्यक्ष विनोद चाहार, दलित अभियान्ता वर्षा गजमेर लगायतले चामल, दाल, खानेतेललगायतका राहत सामाग्री वितरण गरेका थिए । २०६३ साल जेठ २१ गतेका दिन पूनस्र्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो ।