विराटनगर । शुक्रबार कोरोना पुष्टि भएपछि लगिएका झापाका २७ जना संक्रमितहरुलाई वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भर्ना नलिएर अलपत्र बनाएपछि शनिबार सामाजिक विकासमन्त्री जीवन घिमिरे प्रतिष्ठान पुग्नुभएको छ ।
विरामीको भर्ना नलिई रातभर प्रतिष्ठानको आइसोलसन वार्डबाहिरै आपूm आएको बसमै रात कटाउन विरामी बाध्य भएपछि प्रतिष्ठानले चरम लापर्वाही गरेको भन्दै मन्त्री घिमिरे धरान पुग्नुभएको हो ।
अस्पतालमा भर्ना हुन नपाएका विरामीले दिसापिसाब पनि आइसोलेसन वार्ड बाहिरै परिसरमा गरेका छन् । विहान मन्त्री घिमिरे प्रतिष्ठान पुगेर सोधखोज गरेपछि मात्र करिब ९ बजेतिर संक्रमितहरुलाई आइसोलेसन वार्डमा लगिएको छ ।
मन्त्री घिमिरे बिहान ७ बजे नै प्रतिष्ठान पुग्नुभएको थियो । उहाँले विरामीलाई अस्पतालमा नराखेर रातभर बाहिरै राखेर प्रतिष्ठानले गम्भीर लापरवाही भएको बताउनुभयो । यो बिषयमा सत्यतथ्य बताउन र फेरि यस्ता घटना नदोहोरिन पदाधिकारीहरुलाई निर्देशन दिएको उहाँको भनाइ छ ।
बिहीबार मात्र अनलाइन बैठकमा वीपीका पदाधिकारीले २ सय बेड तयार छ भनेकोमा २७ जना संक्रमित भर्ना नलिनुले आफू अचम्मित भएको मन्त्री घिमिरेले बताउनुभयो । प्रतिष्ठानका पदाधिकारीहरुले भने यसबारे कुनै प्रतिक्रिया दिन चाहेका छैनन् । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले समन्वय अभाव भएकोले विरामीलाई समस्या भएको बताउँदै आएका छन् ।
शुक्रबार राति करिब ११ बजे झापाबाट धरान पुगेका झापाको केचनाकबलका कोरोना संक्रमित विरामीले रातभर केही खान पनि पाएनन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ६७ जना संक्रमित छन् । प्रतिष्ठानले २ सय बेडको कोभिड अस्पताल बनाएको बताउँदै आएको छ ।
संक्रमण बढ्दै गएका कारण बिहीबार नै प्रदेश सरकारले बीपीमा थप तीन सय बेड आइसोलेसन तयार गर्न निर्देशन दिएको छ ।