कोशी सरकारबाट तत्काल माओवादीलाई नहटाउने पक्षमा मुख्यमन्त्री

विराटनगर । सङ्घीय सरकारको नेतृत्वमा नेपाली काँग्रेस र नेकपा एमाले गठबन्धनबाट एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । ओलीले प्रधानमन्त्रीको दावी शुक्रबार नै राष्ट्रपतिसामु बुझाइसकेका छन् ।

संघीय सरकारमा प्रतिनिधिसभाबाट विश्वासको मत गुपाएपछि माओवादी सरकारबाहिर पुग्दैछ । तर, कोशी प्रदेशमा भने एमाले र माओवादीको सहकार्य अझै टुटेको छैन । न माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ, न मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादीका मन्त्रीहरुलाई हटाएका छन् ।

संघमा गठबन्धन परिवर्तन भएपछि माओवादी नेता र मन्त्रीहरुले मुख्यमन्त्रीसँग त्यसबारे छलफल गरेका थिए । तर, मुख्यमन्त्री कार्कीले नै अहिले ‘हतार नगर्न’ भनेपछि उनीहरु रोकिएका छन् ।

संघीय गठबन्धन परिवर्तन भएपछि सबैभन्दा पहिले मधेश प्रदेका मुख्यमन्त्रीले माओवादी र एकीकृत समाजवादीका मन्त्रीहरुलाई पदमुक्त गरेका थिए । यस्तै माओवादीको मुख्यमन्त्री रहेका बाग्मती र लुम्बिनी तथा एकीकृत समाजवादीको मुख्यमन्त्री रहेका सुदुरपश्चिम प्रदेशबाट एमालेका मन्त्रीहरुले राजीनाम दिइसकेका छन् ।

कोशी प्रदेश सरकारबाट भने माओवादी केन्द्र तत्कालै नबाहिरिने सङ्केत देखिएको छ । गत वैशाख २७ गते हिक्मतकुमार कार्की नेतृत्वमा गठन भएको सरकारमा माओवादीका गणेश उप्रेती भौतिक पूर्वाधार विकास मन्त्री, राजेन्द्रकुमार कार्की स्वास्थ्य मन्त्री र नारायण बुर्जा मगर पर्यटन, वन तथा वातावरण मन्त्री एवं बन्दना झागर राज्यमन्त्री छन् ।

मुख्यमन्त्री कार्की माओवादीका मन्त्रीहरूसँग राजीनामा नमाग्ने मुडमा रहेको स्रोतले जनाएको छ । ‘हामी राजीनामा माग्दैनौँ । राजनीति भनेको कहिले घाम कहिले छायाँ हो । सहकर्मी पार्टीहरूको विषयमा राजनीतिक व्यवहार गर्नुपर्छ,’ मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार रवि खनालले भने, ‘तत्कालै उहाँहरूलाई हटाउने कुरा छैन । राजीनामा पनि माग्ने मुख्यमन्त्रीको मुड छैन ।’

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले पनि तत्कालै राजीनामा दिनुपर्ने परिस्थिति नबनेको बताए । ‘अहिलेसम्म मुख्यमन्त्रीज्यूले केही भन्नुभएको छैन । केही समय अगाडि कुरा गर्दा अहिले नै हतार नगर्नु भनेर उहाँले नै भन्नु भएको थियो । पछिल्लो परिस्थितिको विषयमा छलफल भएको छैन,’ उनले भने ।

नेकपा एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने उपर्युक्त समयमा माओवादीका मन्त्रीहरूले राजीनामा दिने विश्वास व्यक्त गरेका छन् । ‘मुख्यमन्त्रीले आजै राजीनामा दिनू भनेर भन्नु भएको छैन । उहाँहरूले राष्ट्रिय परिस्थितिलाई हेरेर अनुकूल समयमा राजीनामा दिनुहोला,’ उनले भने ।

संविधानको धारा १६८ को उपधारा ५ को प्रयोग पनि दुई पटक भइसकेको कोशी प्रदेशमा कांग्रेस र एमाले मिल्दा पर्याप्त बहुमत पुग्छ । तर, डेढ वर्षको अन्तरालमा ६ वटा सरकार परिवर्तन भइसकेको भन्दै यहाँ सबै दल मिलेर प्रदेशलाई अगाडि बढाउनु पर्ने आवाज पनि उठिरहेको छ ।

केन्द्रको समीकरण अनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेले नै लिने बताइन्छ । त्यसो हुँदा कांग्रेसले आफूले पाउने मन्त्रालयको टुङ्गो लगाएर तत्कालै मन्त्री पठाउन चाहेको छ । कांग्रेसबाट मन्त्री बन्ने दौडमा दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक गोपाल तामाङ, सांसदहरू भीम पराजुली, अमृत अर्याल, भुपेन्द्र राई, डोल्मा तामाङलगायत छन् ।

केन्द्रमा गठबन्धन परिवर्तन भएपनि प्रदेशमा त्यसअनुसार नेपाली काँग्रेस र एमालेबीच छलफल सुरु भएको छैन । काँग्रेस संसदीय दलका नेता उद्धब थापाका अनुसार केन्द्रमा सरकार गठन भइसकेपछि प्रदेशमा छलफल गर्ने तयारी छ । ‘अहिलेसम्म प्रदेशको बारेमा एमालेसँग औपचारिक छलफल भएको छैन’ उनले भने, ‘संघीय सरकारले आकार लिएपछि त्यसबारे छलफल गर्ने तयारीमा छौं ।’

आइतबार, ३१ असार, २०८१, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर