विराटनगर । हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भएपछि सुरु भएको प्रदेशसभाको बैठक बहिस्कार गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसदहरु सोमबारको प्रदेशसभा बैठकमा सहभागी हुने भएका छन् ।
कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रम सोमबार प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशसभामा पेश गर्ने कार्यक्रम छ । यसअघि प्रदेशसभाको बैठकमा सहभागी नभएको भएपनि सोमबारदेखिका प्रदेशसभा बैठकमा काँग्रेसका सांसदहरु सहभागी हुने काँग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धब थापाले जानकारी दिए ।
‘प्रतिनिधिसभाका पनि हाम्रो विरोध थियो, अब त्यो हटिसक्यो’ थापाले भने, ‘माथि सहमति भएर संसद सुचारु भएकोले यहाँ पनि अब संसद बैठकमा सहभागी हुन्छौं ।’ प्रतिनिधिसभा बैठक सहज रुपमा सञ्चालन हुन थालेकोले प्रदेशसभाको बैठकमा पनि काँग्रेस सहभागी हुने उनको भनाइ छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिएको दिनसहित सरकारको पूर्वबजेट छलफल काँग्रेसले बहिष्कार गरेको थियो । काँग्रेसले नयाँ सरकार गठनको विरुद्ध सर्वोच्च अदालतमा मुद्दा विचाराधिन रहेको भन्दै बैठक बहिष्कार गर्दै आएको थियो । तर, निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटको पेशी सरेपछि काँग्रेस पदेशसभा बैठकमा सहभागी हुन तयार भएको हो ।
त्यसो नेपाली काँग्रेस संसदीय दलका बहुमत सदस्य यसअघि नै प्रदेशसभाको बैठकमा सहभागी हुनुपर्ने पक्षमा थिए । प्रदेशसभामा रहेका काँग्रेसका २९ सांसदमध्ये १६ जनाले लिखित रुपमै प्रदेशसभा बैठकमा सहभागी हुनुपर्ने मत दल नेता थापासामु राखेका थिए । तर, निवर्तमान मुख्यमन्त्री कार्कीको ‘मान’ राखिदिन भन्दै यसअघिका बैठक बहिष्कार गरेको काँग्रेसका एक सांसदले जानकारी दिए । ‘निवर्तमान मुख्यमन्त्रीको कुरो सुनुवाई गर्दै यसअघिका बैठकमा सहभागी भएनौं’ उनले भने, ‘अब अदालतले सरकारबारे अन्तरिम आदेश पनि नदिएको र प्रतिनिधिसभामा पनि सहमति जुटेकोले प्रदेशसभा बैठकमा सहभागी हुन्छौं ।’
यसअघि संसदीय दलको बैठकमा बहुमत सांसदले प्रदेशसभा बैठकमा सहभागी हुनुपर्छ भन्ने मत राखेपछि पार्टी सभापति सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य मिनबहादुर विश्वकर्मालाई नै संसदीय दलको बैठकमा सहभागी हुन पठाएका थिए । विश्वकर्माको पहलमा यसअघिका बैठकमा सहभागी नहुने निर्णय भएपनि १६ जना प्रदेश सभासदस्यले बैठकमा सहभागी हुनुपर्ने लिखित धारणा राखेका थिए ।
पार्टीभित्रको आन्तरीक समस्याकै कारण यसअघिका प्रदेशसभा बैठकमा सहभागी नभएको काँग्रेस संसदीय दलका नेता थापाले पनि स्वीकार गरेका छन् ।