विराटनगर । कोशीमा नयाँ सरकार गठनको आह्वान गर्न माग गर्दै नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश प्रमुख परशुराम खापुङलाई पत्र बुझाएका छन् ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बुझाएको पत्रमा मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत नलिएर स्वतः पदमुक्त भइसकेकोले नयाँ सरकार गठनको प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ ।
गत २६ चैतमा एमाले र माओवादीले मुख्यमन्त्री केदार कार्कीलाई दिएको समर्थन फिर्ता लिएको थियो । समर्थन फिर्ता लिएको ३० दिन अर्थात २५ वैशाखसम्म मुख्यमन्त्रीले विश्वासको मत नलिएका कारण उनी स्वतः पदमुक्त भएको भन्दै एमाले र माओवादीले नयाँ सरकार गठनको आह्वान गर्न माग गरेका हुन् ।
उनीहरुले वैशाख ६ गते भएको प्रदेश सभा अधिवेशनमा पनि विश्वासको मत लिन संकल्प प्रस्ताव पारित गरेको तर आफू अल्पमतमा रहेको थाहा हुँदाहुँदै पनि विश्वासको मत माग्न प्रदेश सभा अधिवेशन आह्वान नगरेको आरोप लगाएका छन् । पत्रमा भनिएको छ, ‘२०८१ वैशाख २५ गते राति १२ बजेबाट माननीय केदार कार्की कोशी प्रदेश सरकारको मुख्यमन्त्री पदको संवैधानिक र कानुनी हैसियत स्वतः पदमुक्त भइसक्नु भएको हुँदा नेपालको संविधानबमोजिम नयाँ सरकार गठनका लागि तत्काल उपयुक्त प्रक्रिया प्रारम्भ गर्न माननीयज्यू समक्ष हार्दिक अनुरोध गर्दछौं ।’
९३ सदस्यीय कोशी प्रदेश सभामा कुल मुख्यमन्त्री कार्कीले ५२ जना सदस्यको समर्थन गुमाएको एमाले र माओवादीको भनाइ छ । बुधबार नै कोशी प्रदेशसभा सचिवालयले नेकपा एमाले र माओवादी केन्द्रलाई मुख्यमन्त्रीका तर्फबाट विश्वासको मत प्राप्त गर्नेसम्बन्धी कुनै प्रस्ताव नआएको जानकारी गराएको थियो ।
प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले एमाले र माओवादी संसदीय दलका नेताहरू पत्र लेख्दै सो कुराको जानकारी दिएका थिए । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की र माओवादी संसदीय दलका नेता इन्द्रकुमार आङ्बोलाई लेखिएको पत्रमा कोशी प्रदेशसभा नियमावलीको नियम १२८ बमोजिम मुख्यमन्त्रीको तर्फबाट विश्वासको मत प्राप्त गर्ने सम्बन्धी कुनै प्रस्ताव सचिवालयमा दर्ता नभएको जानकारी गराइएको छ । सोही पत्रसमेत संलग्न गरेर दुई दलले प्रदेश प्रमुखलाई नयाँ सरकार गठनको प्रक्रिया थाल्न आग्रह गरेका हुन् ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रदेश प्रमुख पर्शुराम खापुङले कानुनी परामर्शपछि उचित निर्णय दिने जनाएका छन् । ‘म कानुनी परामर्शमा छु । संविधान र कानुन र अभ्यासलाई मध्यनजर गर्दै अध्ययन गर्नुपर्ने भएकोले तपाईँलाई चिया पनि नखुवाई बिदा गर्दछु’, प्रदेश प्रमुख खापुङको भनाइ छ ।