अव्यवस्थितत थुपारिएको फोहरले बस्ती नै प्रदूषित

विराटनगर । विराटनगर महानगरपालिकाबाट उत्सर्जन हुने फोहरको अव्यवस्थित ढंगले बिसर्जन गर्दा ब्रह्मपुरा बस्ती नै प्रभावित बनेको छ ।
विराटनगरलाई सुन्दर, सफा र हराभरा बनाउने नीति बनाएको महानगरले फोहर व्यवस्थापनमा देखाउँदै आएको बेवास्ताका कारण फोहर थुपारिएको ठाउँ वरपरका बस्ती नराम्ररी प्रभावित बनेका छन् । फोहरले स्थानीय बासिन्दासँगै विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुमा पनि नकारात्मक असर परेको छ ।

महानगरले फोहर फालेको ठाउँमा दैनिक आगो लगाउने गरेको छ । फोहर डढाउन लगाएको आगोका कारण उत्पन्न धूँवाले गाउँमा निकै समस्या ल्याइरहेको स्थानीयहरु बताउँछन् । ‘फोहरमा आगो लगाउँदा हावा चल्नसाथ गाउँ नै अन्धकार हुन्छ’, स्थानीय संदीप चौधरीले भने, ‘महानगरले वास्तै गर्दैन धुँवाले श्वासप्रस्वासमा पनि असर पारिरहेको छ ।’

फोहर जलाउँद उत्पन्न गन्धले खाना खान र घरमा बस्नै नसकिने अवस्था आएको उनले बताए । अर्का स्थानीय अनिल कामतकले जनप्रतिनिधिले डम्पिङ्ग साइडलाई व्यवस्थित गर्न आलटाल गरिरहेको बताए । ‘मानवीय संवेदनशीलतालाई जनप्रतिनिधिहरुले किन ख्याल गरिरहेका छैनन् ?’ उनले प्रश्न गर्दै भने, ‘उनीहरु जनताका सेवक होइनन् र ?’

महानगरको रवैया देखेर पीडित स्थानीय आक्रोशित बनेका छन् । डम्पिङ्ग साइडको प्रदूषणबाट निस्कने दुर्गन्धको पीडा खपेर बस्न नसकिने अवस्थाको सिर्जना भएको स्थानीय फुलीयादेवी कामतले बताइन् ।

विरानगर महानगरपालिकाले भाडामा लिएको जग्गामा फोहर बिर्सजन गर्ने गरेको छ । विराटनगरबाट सुनसरी जोडने मुख्य मार्गकै छेउ अर्थात विराटनगर–६ केशलीया खोलामा डम्पिङ्ग साइट अवस्थित छ । त्यही डम्पिङ्ग साइटको पश्चिमतर्फ सुनसरी जिल्लाको बर्जु गाउँपालिका छ ।
त्यहाँको फोहरको दूर्गन्धले विराटनगर र रामपुरबासीलाई समस्या थपेको छ । १९ वटा वडा रहेको महानगरमा दैनिक ८० देखि सय मेट्रिक टनसम्म फोहर संकलन हुने गरेको छ । दैनिक ४० देखि ५० टयाक्टर फोहर फ्याकिने गरेको छ ।

डम्पिङ्ग साइडको विकल्पै नदिइ महानगरले ठेक्का लगाएपछि निजी क्षेत्रले व्यक्तिको जग्गा भाडामा लिएर सोही स्थानमा फोहर विर्सजन गर्दै आएका छन् । फोहर विर्सजन गरिन्छ तर त्यहाँ दुर्गन्ध हटाउने औषधीसम्म नछरिने संदिप चौधरीले बताए ।

ब्रहमपुरा स्थित श्रीधरणीधर निमाविमा अध्ययनरत विद्यार्थीहरुलाई फोहरको गन्ध र धूँवाले असर पार्ने गरेको छ । विराटनगर महानगरपालिकाका वडा नम्बर ६ का वडा अध्यक्ष हरिशचन्द्र सहनीले पटक पटक आफूले मेयर नागेश कोइरालालाई फोहरको समस्या समाधान गर्न आग्रह गरेको सुनाए । उनले तत्काल समस्याको समाधान गर्न महानगर लागि लिखित र मैखिक रुपमा बैठकहरुमा आग्रह गरे पनि कुनै सुनुवाइ नभएको बताए । स्थानीय समस्यामा रहेको स्वीकार गर्दै उनले दूर्गन्ध र धूँवा नियन्त्रण गर्ने उपाय महानगरले खोज्नु पर्ने पनि बताए ।

मङ्गलबार, २७ चैत, २०८०, बिहानको ०७:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर