चार सय करोड लगानीमा विराट मेडिकलमा क्यान्सर ईन्ष्टिच्युट सञ्चालन

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेज शिक्षण अस्पतालले १०० शय्याको विराट क्यान्सर इन्ष्टिच्युट उद्घाटन गरेको छ ।

क्यान्सर दिवसको अवसर पारेर आइतबारबाट विराटले क्यान्सर ईन्स्टिच्युट उद्घाटन गरेको भएपनि ८ महिनादेखि सञ्चालनमा रहेको अस्पतालले जनाएको छ ।

विराट मेडिकल कलेजका १२ सय शय्यामध्ये १०० शय्या क्यान्सर रोग विभागको लागि छुटयाएको विराटका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले जानकारी दिए । ४०० करोड रुपैयाँको लगानीमा अस्पताल परिसरभित्रै क्यान्सर रोगको उपचारको लागि विराट क्यान्सर इन्स्टिच्युट सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

रेवन्त–रूपमणी फाउन्डेसनबाट सञ्चालित विराट क्यान्सर इन्स्टिच्युटमा क्यान्सर सम्बन्धि सम्पूर्ण उपचार सेवा सस्तो, भरपर्दो गुणस्तरीय रहेको कार्कीले दावी गरेका छन् । ‘कम खर्चमा क्यान्सरको सम्पूर्ण उपचार यहाँ हुनेछ,’ उनले भने, ‘अहिले १०० शय्याको रहेको छ । यसलाई अवश्यकताअनुसार विस्तार गर्दै अगाडि बढाउनेछौं ।’

क्यान्सरको उपचार तथा शल्यक्रियामा सहयोग पु¥याउने उद्देश्यका साथ आधुनिक प्रविधिको रेडिएसन पद्दतिद्वारा क्यान्सरको उपचार गर्ने अस्पतालले जनाएको छ । कोशी प्रदेशसहित नेपाल र भारतका विरामीले अस्पतालबाट सेवा लिने अपेक्षा सञ्चालकको छ ।

अब क्यान्सरका विरामी चितवन र विदेश जान नपर्ने डा.कार्कीले बताएका छन् । क्यान्सर इन्स्टिच्युटले दक्ष चिकित्सकको साथमा अन्तर्राष्ट्रियस्तरको प्रविधि र विशेषज्ञको टिमबाट सबै किसिमका क्यान्सरको उपचार सेवा दिने बताइएको छ ।

इन्स्टिच्युटले रेडिएसन थेरापी, मेडिकल अंकोलोजी, किमोथेरापी टार्गेट थेरापी, इम्युनो थेरापी, हर्मोनल थेरापी, सर्जिकल अंकोलोजी (महिला, पुरुष तथा बालबालिका), रेडियो–डाइग्नोसिस, इन्टरभेन्सनल रेडियोलोजी, स्टेरियोट्याक्टीक म्यामोग्राफी, प्रिभेन्टीभ अन्कोलोजी सेवा सञ्चालन गरेको छ । यसैगरी, प्रिभेन्टीभ अंकोलोजी, प्यालिएटीभ केयर, प्याथोलोजी विभाग, आहार तथा पोषणविदद्वारा परामर्श, मनोविदद्वारा परामर्शलगागयतका सेवा रहेका छन् ।

क्यान्सर उपचारका लागि नेपाल सरकारद्वारा उपलब्ध उपचार सुविधाबाट पनि अस्पतालमा उपचार हुनेछ । अस्पतालले क्यान्सरको उपचारको लागि सय करोडभन्दा धेरैको उपकरण मात्रै ल्याएको छ । अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ डा.ज्ञानेन्द्रमान सिंह कार्की, डा.मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, क्यान्सर शल्य चिकित्सक (अंको सर्जन) डा. शिवराम शर्मा, डा. धुव्रनारायण साह, डा. नरेन्द्र पण्डित, पेडियाट्रिक अंकोलोजिष्ट डा. सुवास मेहेता, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, अंको रेडियोलोजिष्ट डा.नेत्रविक्रम शाह, डा.भानुप्रताप शाहसहित चिकित्सकको टिमले सेवा प्रदान गर्नेछ ।

टिममा सुपरस्पेसियालिटी हासिल गरेका चिकित्सकहरु रहेको डा.कार्कीले बताए । क्यान्सरको उपचारको लागि चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी एक सय जना कार्यरत रहने अस्पतालले जनाएको छ ।

विराट मेडिकल कलेज शिक्षण अस्पतालमा सुपरस्पेसियालिटी सेवाहरु मृगौला डायलाइसीस, मुटु रोग, मुत्र रोग, न्यूरो सर्जरी, न्युरोलोजी, पल्मोनोलोजी, इन्डोक्राइनोलोजी रहेको छ । अस्पतालमा हालसम्म १५ लाख ४४ हजार ४ सय ७१ जनाले ओपीडि सेवा लिएका छन् भने अन्तरंग भर्ना हुनेको संख्या २ लाख ७१ ह्जार ७२३ रहेको कलेजले जनाएको छ ।

आइतबार, २१ माघ, २०८०, साँझको ०७:०८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर