विराटनगर । नेपालका युवाहरु वैदेशिक रोजगारमा गएको मात्रै तथ्याङ्क मिडियामा सार्वजनिक भइरहँदा एउटा प्रश्न उठ्छ, ‘उनीहरु फर्किन्छन् कि फर्किदैनन् ? तथ्याङ्कले के भन्छ ?’ तथ्याङ्कले भन्छ, ‘झण्डै त्यति नै मात्रामा युवाहरू फर्किन्छन् ।’
तीन दिन अगाडि सार्वजनिक भएको अध्यागमन विभागको तथ्याङ्क अनुसार एक वर्षमा १६ लाखभन्दा धेरै नेपाली विदेशिएका छन् । त्यसरी विदेश जानेहरूमा वैदेशिक रोजगारीसहित विभिन्न प्रयोजन रहेको छ । सन् २०२३ को १२ महिनाको अवधिमा १६ लाख ३ हजार ८३६ जना बिदेसिएकामध्ये महिलाको संख्या ४ लाख ३२ हजार ५८४ जना रहेको छ भने पुरुषको संख्या ११ लाख ७१ हजार १८६ जना रहेको छ ।
तथ्याङ्क अनुसार एक वर्षमा १२ लाख ६३ हजार ४६९ जना नेपाल आएका छन् । नेपाल आउनेमा सबैभन्दा धेरै युएइबाट २ लाख १७ हजा १५९, भारतबाट २ लाख २०८ जना, कतारबाट १ लाख ९२ हजार ८८९ जना, मलेसियाबाट १ लाख ८१९ जना, साउदी अरबबाट १ लाख ६ हजार ५२९ जना रहेका छन् । यस्तै नेपाल फर्किनेको संख्या धेरै हुनेमा अष्ट्रेलिया, जापान, अमेरिका, बेलायत, कुवेत, दक्षिण कोरिया, थाइल्याण्ड, क्यानडा क्रमश रहेका छन् ।
विभागका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै वैदेशिक रोजगारीका लागि ७ लाख २३ हजार ७८९ जना पुरुष र ८४ हजार ६०४ जना महिला गरी कुल ८ लाख ८ हजार ४१५ जना गएका छन् । त्यसपछि दोस्रो नम्बरमा पर्यटक भिसामा २ लाख ४ हजार ५१८ जना विदेशसिएका छन् । जसमा पुरुष १ लाख ३० हजार ९२६ र महिला ७३ हजार ५७५ जना रहेका छन् भने पारिवारिक प्रयोजनका लागि १ लाख ६७ हजार ४८५ जना बिदेसिएका छन् । जसमा पुरुष ७० हजार ८०८ र महिला ९६ हजार ६७३ जना रहेका छन् ।
यस्तै वैदेशिक अध्ययनका लागि एक वर्षको अवधिमा १ लाख ८ हजार ५४२ जना बिदेसिँदा पुरुष ५९ हजार ९७८ र महिला ४८ हजार ५६२ जना रहेको विभागको भनाइ छ । यसै गरी अस्थायी आवासीय भ्रमणमा ९२ हजार ३४९ जना विदेसिँदा पुरुषको संख्या ५१ हजार ८७६ र महिलाको संख्या ४० हजार ४६८ जना रहेका छन् । यस्तै स्थायी आवासीयतर्फ पुरुष ३६ हजार ६६३ र महिला ३४ हजार २५१ गरी कुल ७० हजार ९१५ जना विमानस्थल हुँदै बाहिरिएको विभागले सोमबार जारी गरेको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै कन्फ्रेन्स, सेमिनार र तालिममा २४ हजार २६३ जना, डिपेन्डेन्टमा २० हजार ६१३ जना र उपचारमा समेत १९ हजार जना भन्दा बढी बाहिरिएका छन् । विभागका अनुसार उपचारका लागि पुरुष १० हजार ६९५ जना र महिला ८ हजार ८०९ जना गरी कुल १९ हजार ५०९ जना विभिन्न देशमा उपचारका लागि गएका हुन् । यसै गरी व्यापारका लागि १८ हजार ९६४, अफिसियल भिजिटका लागि १६ हजार १११, वैदेशिक रोजगारीकै लागि तर वर्क पर्मिट लिन नपर्नेहरू पनि ८ हजार ८६ जना त्रिभुवन विमानस्थल हुँदै बाहिरिएको विभागको तथ्याङ्कमा उल्लेख छ । यस्तै युएन मिसनमा ६ हजार ५८, खेलकुद गतिविधिमा ३ हजार ६५३, कन्सर्ट तथा कार्यक्रममा ३ हजार ६५३ र अन्य ३२ हजार भन्दा धेरै विदेसिएको तथ्याङ्कमा उल्लेख छ ।
त्रिभुवन विमानस्थल हुँदै सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई)मा २ लाख ७१ हजार ८८ जना गएका छन् । त्यसपछि भारतमा १ लाख ८० हजार ६०२, कतारमा १ लाख ७९ हजार ४४१, मलेसियामा १ लाख ६५ हजार २०१, साउदी अरेबियामा १ लाख ३६ हजार २०३ जना गएका छन् । यस्तै छैटौँ नम्बरमा अस्ट्रेलियामा सबैभन्दा धेरै नेपाली गएका छन् । अस्ट्रेलियामा एक वर्षको अवधिमा १ लाख ५ हजार ३४३ जना नेपाली गएका हुन् । यस्तै जापान, अमेरिका, युके र कुवेतमा क्रमशः सातौँ, आठौँ, नवौँ र दशौँ शीर्ष स्थानमा नेपालीको गन्तव्य देखिएको छ ।
हेर्नुहोस् तथ्याङ्क…
Good reporting.