बिजुली काटिएपछि समस्यामा रिलायन्सका मजदुर

कोलोनीका २५० बालबालिकाको पढाइ प्रभावित, खानेपानीको चरम अभाव

विराटनगर । सुनसरीको खनारमा रहेको धागो उद्योगको कोलोनीमा बस्दै आएका २५० भन्दा बढी बालबालिकाको पठनपाठनमा समस्या भएको छ । विद्युत आपुर्ति बन्द भएका कारण कोलोनीमा बस्दै आएका बालबालिकाहरुको पढाइ ११ दिनदेखि अवरुद्ध भएको हो । नेपाल विद्युत प्राधिकरणले रिलायन्स स्पिनिङ मिल्सको विद्युत लाइन काटिदिएपछि उद्योग बन्द भएको छ भने दुई हजार पाँच सय जनाभन्दा बढी मजदुर तथा कर्मचारीहरु बस्दै आएको कोलोनी अन्धकार बनेको छ । विद्युत आपुर्ति ठप्प भएपछि साँझ बिहान बालबालिकाहरुले पढ्ने र गृहकार्य गर्ने कामसमेत गर्न नसक्ने अवस्था छ ।

कोलोनीमा २० वर्षदेखि बस्दै आएका मजदुर अमरलाल यादवले भने ‘बिजुली नभएर कोलोनीको अवस्था दयनीय बनेको छ, हामी हजारौं कामदार कोलोनीमा बस्छौं तर न पानी आउँछ न बिजुली बाल्न पाइन्छ, हाम्रा बालबालीकाहरुको पढाइमा नराम्रो प्रभाव परिसकेको छ, यसमा सबैले बोलिदिनुप¥यो ।’ यादवका अनुसार मजदुर कोलोनीमा झण्डै दुई हजार व्यक्तिहरु बसोबास गर्दै आएका छन् भने त्यहाँबाट एक सयजना भन्दा बढी बालबालिकाहरु नियमित विद्यालय जाने गरेका छन् । त्यस्तै स्टाफ कोलोनीबाट १५० भन्दा बढी बालबालिकाहरु नियमित विद्यालय जान्छन् । दिउँसो स्कुल गएर फर्केका बालबालिकाहरुले राति कोठामा पढ्न र अभ्यास गर्न पाइरहेका छैनन् । ‘हामी त जसोतसो चलाउँथ्यौं तर बालबालिकाको पढाइ नै बिग्रिने भयो, उनीहरु पढ्नै पाउँदैनन्,’ यादवले भने ‘साँझमा जेनेटर चलाएर एक घण्टा बिजुली आउँछ त्यतिबेलै पानी थाप्नु पर्छ, जे गर्ने हो त्यतिबेला गर्नुपर्दा बच्चाको पढाइमा धेरै बाधा भएको छ ।’

पछिल्लो समस्या विद्युतको समस्या समाधान हुँदै गएपछि रिलायन्स स्पिनिङ मिल्समा भएका ठूला जेनेटर चलेका छैनन् भएका पुराना जेनेटर पनि ब्रिग्रेका कारण चल्ने अवस्थामा नरहेको मिल्सका प्रबन्धक महेश पोखरेलले जानकारी दिए । सानो क्षमताको एउटा जेनेटर एक दुई घण्टा चलाएर खानेपानी र साँझको समयमा विद्युतको अपूर्ति मिलाइरहको भएपनि पूरा समय चलाउन सक्ने अवस्था नरहेको पोखरेलले बताए ।प्राधिकरणले विद्युत लाइन बिच्छेद गरिदिएपछि कोलोनीमा बस्दै आएका कामदारहरुले चार दिन जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर हजारौं कामदार कर्मचारी बस्ने कोलोनीमा बत्ती बाल्नका लागि मात्रै भए पनि विद्युत जडान गरिदिन माग गरेका थिए । त्यसबेला प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कोलोनीमा विद्युत जडान गर्न पहल गर्ने जवाफ दिएको भए पनि विद्युत नजोडिएको कोलोनीमा बस्दै आएका मजदुर अमरलाल यादवले बताए ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले रिलायन्सको कोलोनीभित्र बस्दै आएका कामदार कर्मचारीको बालबालिकाको पढाइमा समस्या भएको बारेमा आफूलाई जानकारी रहेको बताए । उनले भने ‘बिजुली काटिएपछि बालबालिकाको पढाइमा समस्या भएको छ भन्ने कुरा मसम्म आएपछि मैले कोलोनीमा विद्युत जडान गरिदिन प्राधिकरणलाई भनेको छु, कोलोनीका कामदारहरुले प्राधिकरणमा निवेदन दिनेबित्तिकै लाइन जोडिन्छ ।’ प्रजिअ आचार्यले कोलोनी तर्फ छुट्टै लाइन जडान गरी खानेपानी र बत्ती बाल्न बिजुली उपलब्ध गराउने विषयमा आफू संवेदनशील रहेको बताए । उनले भने ‘उद्योग र कोलोनीमा बस्दै आएका मानिसहरुको विषयमा फरक ढंगले हेर्नुपर्छ, उहाँहरुबाट निवेदन आउनासाथ विद्युत जोडिन्छ ।’

डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेवापत नेपाल विद्युत प्राधिकरणलाई तिर्नुपर्ने नियमितबाहेकको महशुल नबुझाएको भन्दै प्राधिकरणले पुस ६ गते साँझा ६ः३० बजे उक्त उद्योगको लाइन काटिदिएको थियो । त्यसयता ११ दिनदेखि उद्योग बन्द छ । उद्योगमा ४ हजार भन्दा बढी कामदारहरु कार्यरत रहेका थिए । त्यस दिनदेखि सबै कामदारहरुलाई उद्योगले छुट्टी दिएको छ । उद्योगले छुट्टी दिए पनि कोलोनीमा परिवारसहित बस्दै आएका अधिकांश कामदारहरु त्यहिं बसिरहेका छन् भने बाहिर डेरा लिएर बस्ने अधिकांश कामदारहरु घर फर्केका छन् ।
उद्योगमा कार्यरत मजदुर पार्वता खतिवडाले भनिन् ‘विद्युत लाइन काटिदाँ हामी हजारौं कामदारहरुको रोजीरोटीमा समस्या भएको छ । एघार दिनदेखि काम बन्द छ, यो कहिले खुल्छ कुनै टुंगो नहुँदा के खाने भन्ने समस्या आइसयो ।’ महिना मरेपछि सामाजिक सुरक्षा कोषमा कम्तिमा पनि ३ हजार रुपैयाँ रकम तिर्नुपर्छ, महिनाभरि काम नभएपछि अर्को महिना कसरी चलाउने भन्ने चिन्तामा सबै मजदुरहरु रहेको उनले बताइन् । खतिवडाका अनुसार कोलोनीभित्र झण्डै ९ सय जना महिला कामदारहरु बस्दै आएका छन् । पुरुषको संख्या झण्डै ११ सय जनाजति रहेको उनले बताइन् ।

विद्युत नियमन आयोगले प्रमाणका आधारमा बाँकी महशुल लिन निर्देशन दिएको र सरकारले ६० किस्तामा बक्यौता महशुल तिर्न सक्ने सुविधा दिएपछि पनि उद्योगहरुले भने लाइन जोड्ने पहल थालेका छैनन् । रिलायन्स स्पिनिङ मिल्सका प्रबन्धक महेश पोखरेलले भने ‘हामीले तिर्नुपर्ने रकम तिरिसकेका छौं, चार वर्षपछि पुरानो बक्यौता भन्दै मागेपछि हामीले तिर्ने कुरा हुँदैन, प्राधिकरणले प्रमाण दिएमा हामी तिर्छौं, यो विवादले उद्योग कहिले चल्छ भन्ने अनिश्चितता उत्पन्न भएको छ ।’ उनले उद्योगमा कार्यरत कामदार कर्मचारीहरुलाई विद्युत अपूर्ति नभएसम्म काममा नआउन भनेको भन्दै मजदुरहरुको दैनिकीमा नराम्रो प्रभाव परेको बताए । सरकारले उद्योगसँगै मजदुरको पीडा नबुझेको उनको भनाइ छ । डेडिकेटेड र टं«क लाइनको महशुलको विवादका कारण प्राधिकरणले सुनसरीको रिलायन्स स्पिनिङ र मोरङको कटहरीस्थित बाबा जुट मिलको लाइन काटिदिएको छ । दुवै उद्योग धेरै मजदुरलाई रोजगारी दिने उद्योगहरु हुन् ।

धर्ना बस्ने मजदुरको तयारी

लामो समयदेखि उद्योग बन्द भएपछि उद्योगमा कार्यरत मजदुरहरुले बिहीबारदेखि चरणबद्ध आन्दोलन सुरु गर्ने भएका छन् । बिहीबार उद्योगको १ नम्बर गेटमा धर्ना दिएर उद्योग प्रवेश गर्ने र उद्योगबाट बाहिर निस्किने सवारी साधन सबै रोक्ने मजदुरको तयारी छ । मजदुर अमरलाल यादवले भने ‘अब उद्योग चल्छ कि चल्दैन केही थाहा छैन, हामी हजारौं मजदुरको भविष्यसँगै भुक्तानीको सुरक्षा गर्नुपर्ने छ त्यसैले हामी धर्ना दिन्छौं र उद्योगबाट कुनै माल बिक्री गर्न दिँदैनौं ।’ उद्योगमा भएको तयारी बस्नु बिक्री गर्ने अनि मजदुरको भुक्तानी पनि नहुने अवस्था आउन सक्ने भएकोले आन्दोलनको तयारी भएको उनले बताए ।

बिहिबार, १९ पुष, २०८०, बिहानको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर