झोराहाट । तराई मधेश क्षेत्रमा धान थन्क्याउने काम अन्तिम चरणमा पुगेको छ । किसानहरु हिउँदे खेतीमा जुटिसकेका छन् । ढिलो तयार हुने जातको धान पनि अब करिब खेतबाट निस्किसकेको छ । यही मौकामा तराईमा बसोबास गर्ने मरिक समुदायले आफ्नो परम्परागत पेशाको रुपमा अपनाउँदै आएको बाँसबाट तयार पारेको धान थन्क्याउने भकारी बिक्री गरिरहेका छन् ।
मोरङ र सुनसरीका ग्रामीण बस्तीहरुमा धान थन्क्याउन उपयोगी हुने भकारी बेच्न मरिक समुदायका युवाहरु पुग्ने गरेका छन् । उक्त समुदायको परम्परागत पेशालाई निरन्तरता दिने क्रममा उनीहरुले यो सिजनमा अन्य वस्तुको सट्टामा भकारी बनाउने कामलाई प्राथमिकता दिने गरेका छन् ।
सुनसरी दुहवी नगरपालिकाको पचिरा निवासी प्रभु मरिकलाई मोरङ सुनसरीका बस्तीहरुमा पुगेर भकारी बिक्री गर्ने कामबाट फुर्सद मिलेको छैन । मरिकले २० वर्षदेखि मोरङ, सुनसरी लगायत अन्य ग्रामीण क्षेत्रका ठाउँहरूमा धान बाली पाकेसँगै मंसिरदेखि माघ महिनासम्म भकारी बिक्री गर्दै आएका छन् । यस पटक पनि उनले भकारी बेच्ने कामलाई निरन्तरता दिएका छन् ।
मरिकले बाँसको चोया र गिद्रो प्रयोग गरेर आफैं भकारी बनाउने गरेका छन् । उनल १५ देखि २० मनसम्म धान अटाउने भकारी बनाएर प्रतिगोटा एक हजार ८०० रूपैयाँ देखि दुई हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन् । भकारी बिक्री गरेर दैनिक एक हजार रुपैयाँ भन्दा बढी आम्दानी गरिरहेको उनले बताए । आफूले बनाएको भकारी बेचेर यो सिजनमा जीविकोपार्जन गर्न सहज भएको उनको भनाइ छ ।भकारी बनाउने पेशामा युवाहरूको आकर्षण भने नदेखिएको उनी बताउँछन् । ‘नयाँ केटाहरु हामीले जस्तो मिहेनत गर्न खोज्दैनन् तर म आफ्नो पुख्र्यौली पेशामै रमाइरहेको छु,’ मरिकले भने ।
भकारीमा धान, गहुँ लगायत कृषि उपजहरु सुरक्षित राख्ने गरिएको छ । अहिले बजारमा पाइने थरिथरिका फलामे तथा टिनका ड्रम, प्लाष्टिकको बोरा, बट्टा आदिमा धान राख्ने चलन पनि बढ्दै गएको छ । त्यसले बाँसबाट बनेको भकारीको प्रयोग घटिरहेको छ ।बजारमा पाइने आधुनिक सामग्रीहरूको प्रयोगले बढ्दा हस्तकलाका यी वस्तुको प्रयोग घटेको छ भने मरिक समुदायको परम्परागत पेशा संकटमा पर्न थालेको छ ।
भकारी बाँसको चोयाबाट बनाइने हुँदा १२ देखि १५ वर्षसम्म टिकाउ हुने गरेको कृषकहरुको अनुभव छ । तर गाउँमा किसानहरुले धान थन्क्याएर राख्ने भन्दा बिक्री गरेर चामल किनेर खाने प्रचलन बढ्दै जाँदा भकारीको प्रयोग घट्दै गइरहेको छ ।सरकारले भकारी बिक्री गर्ने डुम (मरिक) समुदायलाई जागरूक बनाएर सीप विकास गरी समुदायको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रेरित गर्नुका साथै किसानहरुलाई अन्न जोहो गर्ने तर्फ राज्यले विशेष ध्यान दिन जरुरी देखिएको छ ।