विराटनगर । केही दिन अगाडि विराटनगरका उद्योगी राजेन्द्र राउतले २५० करोडको लगानी अनुमान गर्दै अस्पताल भवनको शिलन्यास गरे । भविष्यमा ३०० शय्याको अस्पताल र नर्सिङ कलेज चलाउने लक्ष्यसहित आरआर इन्टरनेशन अस्पताल निर्माण हुनेछ ।
विराटनगरको सिमाना नजिकै मोरङको बुढीगंगा १ मा अस्पताल निर्माण सुरु गरिएको हो । बुढीगंगाको टंकिसिनुवारीमै विराट टिचिङ अस्पताल सञ्चालनमा छ । त्यहाँ पनि अरबौंको लगानी छ ।
यस्तै विराटनगर ५ मा नोबेल मेडिकल कलेज सञ्चालित छ । मेडिकल कलेजमा पनि अरबौं लगानी भइरहेको छ भने सयौं मानिसले रोजगारी पाएका छन् ।
विराटनगरमै न्यूरो कार्डियो स्पेशियालिटी अस्पताल विराटनगर १० मा सञ्चालित छ । पूर्वाञ्चलको चर्चित अस्पतालमध्येको एक न्युरोमा पनि अरब बढी लगानी छ र सयौंले रोजगारी पाएका छन् । न्युरोले कलेज पनि चलाएका छ ।
लामो समयदेखि विराटनगरको हस्पिटल चोकमा सञ्चालित गोल्डेन अस्पतालले विराटनगर ११ मा १०० शय्याको नयाँ अस्पताल भवन निर्माण गर्दैछ । जहाँ ५२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
विराटनगर २ मा रहेको मोरङ सहकारी अस्पताल पनि ठूलो अस्पताल हो । विराटनगरको कञ्चनबारीमा आर्या न्युरो अस्पताल सञ्चालनमा छ । निजी क्षेत्रबाट सञ्चालित यी अस्पतालहरु विराटनगरमा मात्रै होइन कोशी प्रदेश, मधेश प्रदेश र भारतको बिहारमा परिचित छन् ।
विराटनगर १४ मा संचालित विराटनगर आँखा अस्पताल दक्षिण एसियाकै उत्कृष्ट आँखा अस्पताल हो । अरब बढिको लगानी रहेको अस्पतालमा पनि सयौंले रोजगारी पाएका छन् ।
आँखा अस्पतालकै रुपमा विराटनगरमा चर्चित अर्को अस्पताल हो, गोल्छा आँखा अस्पताल । विराटनगर ७ मा रहेको यो अस्पतालमा पनि करोडौं लगानी भएको छ ।
विराटनगरको बरगाछीमा लाइफगार्ड अस्पताल र उसकै नर्सिङ कलेज सञ्चालनमा छ । विराटनगरको मुनालपथमा विराटनगर अस्पताल (विराट नर्सिङ होम) सञ्चालनमा छ ।
यस्तै विराटनगर २ मा रहेको तापडिया आँखा अस्पताल, विराटनगरको हाइवे लाइनमा खोलिएका रोडशेष दक्षिणका हिमाल आँखा अस्पताल, दिव्यज्योति आँखा अस्पताल पनि करोडौं लगानीका छन् । यस्तै विराटनगरमै सानातिना अस्पतालको रुपमा हाम्रो अस्पताल, म्याक्स अस्पताल, सप्तकोशी अस्पताल, ग्रिनक्रस अस्पताल पनि करोडौंको लगानीमा सञ्चालित छन् ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेश सरकार स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार कोशी प्रदेशमा जम्मा ८३ वटा सार्वजनिक/सामुदायिक र निजी अस्पतालहरु छन् । कोशी प्रदेशका १४ जिल्लामध्ये मोरङमा मात्रै सबैभन्दा धेरै ३४ वटा छन् । त्यसमा पनि ३०० शय्या क्षमताभन्दा बढीको ३ र २६ देखि ३०० शय्यासम्मको १५ वटा अस्पताल मोरङमै छन् । यस्तै १६ देखि २५ शय्यासम्मको ११ र १५ बेडसम्मको अस्पतालको संख्या मोरङमा ५ वटा छन् ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले ५ वर्षअगाडि गरेको सर्भेक्षणमा स्वास्थ्य तथा सामाजिक सेवा सम्बन्धी संस्थाहरुको संख्या कोशी प्रदेशमा ३ हजार ९७२ रहेको देखाएको छ । जसमध्ये मोरङमा मात्रै सबैभन्दा धेरे ५०६ वटा रहेका छन् । ती संस्थाहरुमा कार्यरत जनशक्तिको संख्या प्रदेशभरमा २७ हजार ६५२ रहँदा मोरङमा मात्रै ७ हजार १३३ जना रहेका छन् ।
निजी अस्पताल संचालकहरुको संस्था अफिनका प्रदेश अध्यक्ष डा.शंकर अधिकारीका अनुसार विराटनगरमा मेडिकल कलेजबाहेक २५ वटा निजी अस्पतालहरु छन् । जसको भौतिक संरचना, औजार, उपकरण, प्रविधि, जनशक्ति र व्यवस्थापन सबैमा भएको लगानी १५ अर्बभन्दा बढी छ ।
विराटनगरमा संचालित सरकारी अस्पतालमध्ये कोशी अस्पताल पनि ठूलो अस्पताल हो । ‘विराटनगरकै स्वास्थ्य संस्थामा मात्रै ४ हजार बढीले रोजगारी पाइरहेको देखिन्छ,’ अधिकारीले भने, ‘आँखा अस्पतालमा प्राय भारतीय विरामीहरु बढी आउने गरेका छन् । अन्य अस्पतालहरुमा पनि १० देखि १५ प्रतिशत भारतीय बिरामी आउने गरेको अनुमान छ ।’
गोल्डेन अस्पतालका सञ्चालक सनातन मण्डल विराटनगर स्वास्थ्यको हब बनिरहेको बताउँछन् । ‘विराटनगरमा मध्यमस्तरका भारतीयहरु पनि उपचारका लागि आउन थालेका छन्, किनकी यहाँको स्वास्थ्य सेवा सस्तो छ,’ उनले भने, ‘भारतका उच्च घराना र विराटनगरका उच्च घरानालाई यही उपचारको व्यवस्थापन गर्नका लागि हामीले गुणस्तर बढाउनु पर्छ ।’
गुणस्तरीय उपचारलाई प्रभावकारी बनाउन सके काठमाडौंबाट पनि विराटनगर उपचारका लागि मानिसहरु आउनसक्ने अस्पताल सञ्चालकहरु बताउँछन् । गुणस्तरीय उपचारको अभाबमा अझै पनि यस क्षेत्रका धेरै विरामी काठमाडौं र भारत जाने गरेका छन् । त्यो अवस्था अन्त्य गर्न आधुनिक अस्पताल निर्माणको काम सुरु गरेको उद्योगी राउतले बताएका छन् ।