एक्स्पो आउनेले समय बितेको पत्तै पाउँदैनन् : नविन रिजाल

मोरङ व्यापार संघले विराटनगरमा आयोजना गर्ने ‘मोरङ व्यापार संघ ट्रेड एक्पो’ को तयारी भइरहेको छ । पुस ६ देखि १६ गतेसम्म विराटनगर–२ शंकरपुरमा रहेको खाली मैदानमा लाग्ने एक्स्पोमा अपेक्षाभन्दा धेरै माग भएपछि स्टल २५० बाट थपेर २७५ पुर्याइएको छ । एक्स्पो तयारीको विषयमा आयोजक मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालसँग हामीले कुराकानी गरेका छौं । प्रस्तुत छ, हाम्रोमतले गरेको कुराकानी :

मोरङ व्यापार संघ ट्रेड एक्पोको’ तयारी कहाँ पुग्यो ?

– ‘मोरङ व्यापार संघ ट्रेड एक्पो’ विगतको भन्दा यस पटक फरक र विशेष रहन्छ । अहिले एक्स्पोको तयारी धमाधम भइरहेको छ । अहिले एक्स्पोको स्टलको लागि मैदान सम्याउने काम पुरा भएर अहिले स्टल राख्ने काम भइरहेको छ । आइफिल टावर बनाउने काम भइरहेको छ । गेटहरु राख्ने काम भइरहेको छ ।

के अर्थमा एक्स्पो विगतभन्दा फरक रहन्छ ?
– यस पटक एक्स्पो अवलोकन गर्न आउनेहरुले छुट्टै रमाइलो गर्नेछन् । एक्स्पोभित्र नेचुरल आइफिल टावर हुनेछ । यो आइफिल टावर ७० फिट अग्गो हुन्छ । यो आफैमा नौलो हो । सेल्फी स्टेन हुनेछ । जहाँ बसेर मेलामा आउने अवलोकनकर्ताहरुले फोटो खिच्न पाउनेछन् । चिल्डेन पार्क हुन्छ । जहाँ बालवाकिालहरुले दिनभरी रमाइलो गर्ने बातावरण हुनेछ । मेला अवलोकनको लागि आउनेहरूको सुरक्षाको लागि गार्ड राखिनेछ । मेलामा आउने सबैको सुरक्षाको ग्यारेन्टी गर्छौ । मेला अवलोकन गर्न आउने मानिस ४ देखि ५ घण्टा बितेको थाहै नपाउने गरि स्टल एक्स्पोमा रहनेछ । फुड जोनमा खानाको सबैखाले परिकारहरु हुन्छ । एक्स्पो लागुन्जेल उपभोक्ताहरु बजार जानु पर्दैन । एक्स्पोभित्र सम्पूर्ण बस्तु सरल र सस्तो मूल्यमा पाइन्छ ।

मेलामा आउनेहरुलाई छुट्टै रमाइलो प्रदान गर्नको लागि हामीले थप मनोरञ्जनको कार्यक्रमहरु पनि राखेका छौं । दैनिक दिउँसो २ बजेदेखि राति ९ बजेसम्म मनोरञ्जनका कार्यक्रम हुनेछन् । फेशन–शो, गायन र नृत्य प्रतियोगिता हुनेछ । विद्यार्थीहरु सहभागी हुने अवसर छ । विद्यार्थीहरुमा भएको प्रतिभा उजार गर्ने उद्देश्यले यो प्रतियोगिता गरिएको हो । प्रतियोगिताको विजेतालाई नगद एक लाख रुपैयाँ पुरस्कार दिनेछौं । दैनिक राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रस्तुतीले थप मेला आकर्षक रहेछ ।

मन्दीका कारण व्यापार नभएको गुनासो तपाईहरुकै छ । यस्तो अवस्थामा कसरी एक्स्पो चल्ला ?

–व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले यो एक्स्पो आयोजना गरिएको हो । व्यवसाय सुस्ताएको अवस्था छ । व्यापार व्यवसायलाई अगाडि बढाउन यो एक्स्पो आयोजना गरिएको हो । अहिलेको आर्थिक मन्दीमा पनि हामीले जोखिम मोलेर स्थानीय उद्योगले उत्पादन गरेको बस्तुहरु प्रवद्र्धन गर्ने प्रयास गरेका छौं । विराटनगरामा रमाइलो गर्ने ठाउँ पनि छैन । त्यसैले गर्दा पनि हामीले मनोरञ्जन दिन पनि एस्क्पो आयोजना गरेका हौं । बजार सुस्ताएको बेला आयोजना गरिएको एक्स्पोमा सस्तो मूल्यमा सामानहरु पाइने भएकोल एक्स्पो चल्ने अपेक्षा गरिएको छ ।

प्रदर्शनी स्थलको वर्षौदेखिको माग पुरा नहुँदा खुल्ला चौरमा मेला आयोजना गर्दाको सास्ती कस्तो छ ?
– धेरै ठूलो अफ्ठेरो छ । हामीले अस्थायी संरचनाको लागि प्रत्येक वर्ष ठूलो धनराशी खर्च गर्नु परेको छ । मेला सकिएपछि त्यो संरचना तेसै खेर जान्छ । मेलास्थलको झाडी पन्छाउन मात्र पाँच लाख रुपैयाँभन्दा बढी खर्च गर्नुपरेको छ । सरकारले एउटा प्रदर्शनीस्थल बनाएको भए लाखौं जोगिन्यो । हामीले पटक–पटक राज्यसँग प्रदर्शनीस्थलको माग गरेका छौं । तर, बिडम्बना ! अहिलेसम्म पुरा हुन सकेको छैन । अस्थायी संरचनामा एक्स्पो लगाउँदा व्यवस्थापनमा मात्र अढाइ करोडभन्दा बढी खर्च हुने गरेको छ । त्यसलाई अन्त्य गर्न उद्योग संगठन र मोरङ व्यापार संघले नै प्रदर्शनीस्थल बनाउन जग्गा हेरेका थियौं । तर, केही व्यक्तिले राजनीति गरेको कारणले प्रद्धर्शनीस्थल बनाउन सकिएको छैन । अब आफ्नो जग्गामा प्रदर्शनीस्थल बनाउन हामी प्रयास गछौं । सम्भवतः अर्को वर्ष स्थायी संरचनामा एक्स्पो लाग्नेछ ।

एक्स्पोमा कति स्टल अहिलेसम्म बुक भयो ?

– एक्स्पोमा घरेलु साना तथा ठूला उद्योगका सामाग्रीसँगै भारत, बंगलादेश र पाकिस्तानका पनि स्टल रहनेछ । स्टलहरु धमाधम बुक भइरहेको छ । हामीले एक्स्पोमा २५० वटा स्टल रहने भनेका थियांै । त्यो स्टल बुक भइसक्यो । अहिले थप माग भएपछि हामीले २५ वटा स्टल थप गरि २७५ वटा स्टल बनाउने तयारी अनुरुप काम भइरहेको छ । अब थप स्टल हुदैन । समयभन्दा अगाडि स्टल बुक भयो ।

एक्स्पोमा कतिले अवलोकन र कारोबार गर्ने अपेक्षा राख्नुभएको छ ?

समयभन्दा अगाडि स्टलहरु बुक भइसकेको अवस्था छ । स्टल थप्न गर्नुपर्ने अवस्था आएकोले एक्स्पोमा अवलोकन गर्ने दर्शक र कारोको संख्या पनि बढ्ने अनुमान छ । ६ देखि ७ लाखले अवलोकन गर्दा २० करोड बढीको कारोबार हुने हामीले अपेक्षा राखेका छौं । एक्स्पोमा खर्च साढे २ करोड बढी हुने अनुमान गरिएको छ । एक्स्पो भव्य रुपमा सम्पन्न गर्न संघका उपाध्यक्ष अनिल साहलाई संयोजक, संघका सचिव संजय श्रेष्ठ र कार्यकारिणी सदस्य अमित सारडालाई सह–संयोजकको जिम्मेवारी दिएका छौं ।

शुक्रबार, २९ मंसिर, २०८०, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर