अराजक प्रसाई र अहिलेको व्यवस्था

 सम्पादकीय

विवादित व्यापारी दुर्गा प्रसाईको गैरकानूनी गतिबिधि अहिले चर्चामा छ । बैंकबाट अरर्बौ ऋण लिएका प्रसाईले बैंकको ऋण तिर्न नपर्ने उक्साहटपूर्ण प्रलोभन दिएर खासगरि मधेश र तराईका गाउँवस्तीका कतिय नागरिकलाई अहिले काठमाडौं लगेका छन् । युट्युवसहितका सामाजिक सञ्जालमा विवादित अभिव्यक्ति दिँदै आएका प्रसाईंको पछि लागेको अराजक समूहले उदण्डता मच्चाउन खोजेको छ । त्यसमाथि एमाले नेता महेश बस्नेत नेतृत्वले समानन्तर गतिबिधि गरेपछि मंसिर ७ गते काठमाडौंमा झडप हुने खतरा थियो । सरकारको सचेत साबधानीले त्यो खतरा टरेको छ । तर, अझै पनि कुनै दुर्घटना नहोला भन्ने अवस्था छैन । किनकि सामाजिक सञ्जाल र आमसञ्चारका कतिपय माध्यमबाट समाजमा विखण्डन ल्याउने, सद्भाव खल्बल्याउने, हिंसात्मक क्रियाकलापको धम्की दिने, राष्ट्रिय स्वाभिमानमा आघात पु¥याउने, संविधानमाथि धावा बोल्ने हर्कत प्रसाइले खुलेआम गरिरहेकै छन् ।

सरकारको विरोध वा अभिव्यक्ति स्वतन्त्रताको प्रयोगको बहानामा छुट पाउने हर्कत प्रसाईको छैन । तर, त्यहि आवरणमा उनको गलत हर्कतलाई कतिपय राजनीतिक शक्ति र बौद्धिक भनिने जमातले पनि अघोषित संरक्षण गरिरहेको छ । नेपाललाई भारतमा मिसाउनुपर्छ, सबै मारवाडीलाई नेपालबाट खेद्नुपर्छ, नेताहरुलाई भेट्नसाथ धुलाई गर्नुपर्छ, बैंकका मेनेजरलाई कालोमोसो दल्नुपर्छ जस्ता प्रसाईका अराजक एवं आक्रामक अभिव्यक्तिले कानुनको पनि धज्जी उडाएको छ । स्वतन्त्रताका नाममा बढ्दो स्वच्छन्दता एवं अराजकता मुलुकको लागि स्वीकार्य हुनसक्दैन । फेरि पनि नेपाललाई नियन्त्रित अराजकतामा लैजाने प्रयासमा अदृश्य शक्तिबाट पुठ पाएर प्रसाईले यस्ता हर्कत गरिरहेको आशंका पनि भइरहेको छ । ८ महिना अघिसम्म एमालेको केन्द्रीय सदस्य भएर पूर्वराजाविरुद्ध आक्रामक अभिव्यक्ति दिने प्रसाई अहिले राजतन्त्र फर्काउँछु भन्ने गफ गर्दै हिँडेका छन् । त्यो भन्दा मूख्य विषय त बैंक र लघुवित्तको ऋण तिर्न पर्दैन भनेर जम्मा गरिएको सोझासिधा नागरिकलाई व्यवस्था परिवर्तनको आन्दोलन भन्दै दुरुपयोग गरिरहेका छन् ।

प्रसाई को हुन् र उनको विगत कस्तो छ भन्ने आम नेपाली जानकार छन् । तर, कतिपय मिडियासमेतले उनलाई ‘मुक्तिदाता’ को शैलीमा प्रस्तुत गरिरहेका छन् । आफूले आफैंलाई कहिले पृथ्वीनारायण शाह र कहिले आङ्साङ सुकीसँग तुलना गर्ने प्रयासको अभिव्यक्ति , स्तरहिन, अमर्यादित र अराजक मात्र छैनन्, असन्तुलित पनि छन् । तर उनै प्रसाईलाई सरकारी निकाय, कतिपय मिडिया, प्रमुख विपक्षी दल र नेताहरुले धेरै महत्व दिएर उनकै प्रचारप्रसार गरेका छन् । जसले गर्दा प्रसाई अझै हौसिएको देखिन्छ ।

नेपाली जनताको ६ दशक लामो संघर्षपछि संविधानसभामार्फत गणतन्त्रात्क संविधान लेखिएको हो । दुर्गा प्रसाई जस्ता एकाध अराजक व्यक्तिका कारण यो संविधान र व्यवस्था खतरामा छैनर पर्दैन । जनताको आन्दोलनले गद्दिबाट ओरालेर निर्मल निवासमा आराम गर्न सुझाएका ज्ञानेन्द्र शाहले फेरि राजा बन्ने प्रयास गर्नु उनकै निम्ति हितकर नभएको उनले बुझेका छन् । त्यसैले ज्ञानेन्द्र खुलेर प्रसाइको पक्षमा उभिन सकेका छैनन् । अराजक र गैरकानूनी गतिविधि गर्नेलाई कानुनी कार्वाही गर्न सरकार पछि पर्नु हुँदैन । अर्कोतिर लामो संघर्षपछि परिवर्तन भएको व्यवस्थाले आफ्नो अवस्था परिवर्तन नगरेको भन्दै नागरिक तहमा असन्तुष्टि बढ्दो छ । त्यहि असन्तुष्टिलाई प्रसाईहरुले ‘क्यास’ गर्न खोजेका हुन् । यसैले राजनीतिक नेतृत्वले आफूलाई सच्याउँदै नागरिकको अवस्था परिवर्तनमा राज्यलाई परिचालन गर्न सक्नुपर्दछ । संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नागरिकले खोजेका छैनन् । तर, नेतृत्वमाथि प्रश्न गरेका छन् । ती प्रश्नको जवाफ व्यवहारबाटै दिन सक्नुपर्छ ।

आइतबार, १० मंसिर, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर