गगन–विश्वले भने : कोशी घटनाबारे देउवा र कोइरालाले जवाफ दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठनको घटनाबारे पार्टी सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाले जवाफ दिनुपर्ने बताएका छन् ।

आइतबार सभापति देउवासँग कोशी घटनाको विषयमा भएको छलफलमा आफूहरुले यस्तो धाराणा राखेको महामन्त्री शर्माले जानकारी दिएका छन् ।

भेटमा आफूहरुले कोशीमा यो परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताएको उनले उल्लेख गरे । ‘अहिले जे भएको छ, त्यो घटनामा सभापतिले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ । किन यो प्रकारको दुर्घटना भयो ? यसको सबैभन्दा ठूलो जिम्मेवारी, अंशियारी सभापतिले लिनुपर्छ’ शर्माले भने ।

कोशीमा सरकार गठनको विषयमा कोशीबाटै प्रतिनिधित्व गर्ने आफू, सहमहामन्त्री भीष्मराज आङदेम्बे, नेता विजयकुमार गच्छदार, डा. नारायण खड्कालगायत कोही पनि नेतासँग सल्लाह नै नगरेको महामन्त्री उनले बताए । यस्तै डा.शेखर कोइरालाले पनि कोशी घटनाको विषयमा जवाफ दिनुपर्ने उनको भनाइ छ ।

‘कुनै प्रदेशमा कांग्रेसको भाग थिएन, गठबन्धनमा सम्मानजनक आलोपालो भन्ने छ’ शर्माले भने, ‘सभापतिले संस्था चलाउने कुरामा फरक विचारलाई सुन्ने र समन्वय गर्ने कुरा नगर्ने र फरक विचार समूहका नेताले पनि आफ्नै समूहभित्र पनि छलफल नगर्ने परिपाटी देखियो ।’

शेखर कोइरालाले जबरजस्ती कांग्रेसको भागको माओवादीलाई दिइयो भन्ने भाष्य बनाएको भन्दै शर्माले त्यो कांग्रेसको भाग दिइएकै नभएको उल्लेख गरे । ‘कुनै प्रदेशमा कांग्रेसको भागको हुन त बहुमत ल्याएको पनि हुनुपर्थ्यो नि’ उनले भने, ‘सबै प्रदेशमा आलोपालोको सहमति रहेकोले कसैको भाग भन्ने विषय होइन ।’ यसअघि दुई पटक माओवादीले कांग्रेसलाई छाडेको हुनाले अहिले माओवादीले दाबी गर्नु स्वाभाविक भएको उनको भनाइ छ ।

कोशीमा देखिएको समस्यालाई सहमतिमै हलमा पुग्नुपर्ने बताउँदै उनले अब कांग्रेसले पनि विश्वासको मत दिएर अघि बढ्नुपर्ने सुझाव दिएको बताए । कोशीमा कांग्रेसका केदार कार्कीले आफ्नो दलका २९ मध्ये ८ जना र एमालेका ३९ सांसदको समर्थनमा मुख्यमन्त्री बनेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री नियुक्तिका लागि सहमति जनाएपछि शेखर पक्षका ८ सांसद र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

धुम्बाराहीमा सभापति, उपसभापति र महामन्त्रीसहित भएको बैठकमा महामन्त्रीद्वयले बालुवाटारमा शनिबार तीन नेताबीच भएको सम्झौताप्रति प्रश्न उठाएका छन् । ‘तीन नेताले हस्ताक्षर गरेको कागजको चिर्कटो देखियो, यस्तो चिर्कटोमा सम्झौता किन गरियो, गर्नुपर्नाका कारण के हुन् ?’ उनीहरुले सोधेका थिए । ‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा सहि हुन्थ्यो होला,’ महामन्त्री शर्माले भनेका छन् ।

शनिबार बालुवाटारमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति देउवा र नेता कोइरालाले कोशीमा नयाँ मुख्यमन्त्री बनाउने र संघीय गठबन्धन जोगाइराख्ने महत्वपूर्ण सहमति एउटा चिर्कटोमा उतारेर त्यसैमा हस्ताक्षर गरेका थिए। ।

सोमबार, २९ असोज, २०८०, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर