विराटनगर । कोशीकोे मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी प्रस्तुत गरेका नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले आफ्नो पक्ष तत्काल सनाखतमा नजाने बतनएका छन् ।
कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७/४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेका थिए । उक्त दाबी अनुसार कार्की पक्षका सांसद प्रदेश प्रमुखकाे कार्यालयमा बिहानै सनाखतका लागि पुगेका छन् ।
आङ्बाेले भने आफ्नो दाबी नपुग्ने र शीर्ष नेताबीच सहमतिकाे प्रयास भईरहेकाे कारण तत्काल सनाखतमा नजाने बताए । `काँग्रेसका ८ जना माननीयहरू सशरिर उपस्थिति भईसकेपछि हाम्राे दाबी पुग्दैन, अर्काे कुरा शीर्ष नेताहरू छलफलमै हुनुहुन्छ । त्यसकारण हामी अहिले सनाखतमा जाँदैनाैं,´ उनले भने ।
प्रदेश प्रमुख परशुराम खापुङले आज बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म दुवै दाबीकर्ताको सनाखत गर्दैछन् । समर्थनमा हस्ताक्षर गरेका प्रदेशसभा सदस्यहरूलाई प्रदेशसभा सदस्यको परिचय खुल्ने परिचयपत्रसाथ आउन उनले भनेका छन् ।
कोशीकोे मुख्यमन्त्री पदमा नियुक्तिका लागि नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो र कांग्रेसको कोइराला पक्षका केदार कार्कीले ४७/४७ जना सदस्यको समर्थन रहेको भनी हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।