विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री बनाउने सत्तारुढ गठबन्धनको निर्णय नमान्ने चेतावनी शेखर कोइराला पक्षले दिएको छ ।
आज बसेको गठबन्धनको शीर्ष बैठकले आङ्बोलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको भएपनि शेखर पक्षले भने आफ्नो समूह र एमालेबीच गठबन्धन बन्ने दावी गरेको छ ।
‘सात प्रदेशमा कतैपनि आफ्नो समूहलाई मुख्यमन्त्री नदिने निर्णय मान्य हुन सक्दैन, गठबन्धनको निर्णयसँग हामीलाई सरोकार छैन’ शेखर पक्षका सांसद रामकुमार खत्रीले भने, ‘संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री दावी गर्न पुग्ने संख्या आफूहरुसँग रहेकोले अगाडि बढ्छौं ।’ नेकपा एमालेले ८ जना सांसदको हस्ताक्षर लिएर आए समर्थन गरिदिने बताएकोले आफूहरु त्यहि अनुसार केदार कार्कीलाई मुख्यमन्त्री बनाउन भोलि दावी पेश गर्ने उनले बताए ।
मुख्यमन्त्रीको दावी गर्दै आएका काँग्रेस नेता केदार कार्कीले भने आफूलाई गठबन्धनको निर्णय थाहा नभएको प्रतिक्रिया दिएका छन् । उनले एमालेले आफूलाई समर्थन गर्ने कुरा पनि बजारको हल्ला मात्र भएको दावी गर्दै अहिलेसम्म औपचारिक कुराकानी नभएको बताए । भोलिसम्म एउटा टुंगोमा पुग्ने उनको भनाइ छ ।
यता नेकपा एमाले संसदीय दलका नेता एवं कामचलाउ मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कुनैपनि दलसँग सरकार निर्माणबारे छलफल नभएको बताएका छन् । ‘अहिलेसम्म कुनै पनि दलसँग सरकारको बारेमा छलफल भएको छैन’ उनले भने, ‘संस्थागत रुपमा दलहरु छलफलमा आएपछि सहकार्यबारे सोच्न सकिन्छ ।’ केदार कार्कीसँग सामान्य कुरा भएपनि संस्थागत निर्णय गरेर आउन आफूहरुले भनेको उनले बताए ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनका लागि असोज २६ गते शुक्रबार साँझ ५ बजेसम्मको समय सीमा दिएका छन् ।