मुख्यमन्त्रीमा तेस्रो पटक पनि थापाको पनि दावी, गठबन्धन नटुट्ने जिकिर

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले संविधानको धारा १६८ को उपधारा (५) अनुसारको मुख्यमन्त्रीमा पनि आफ्नो दाबी रहेको बताएका छन् ।

उपधारा ३ अनुसार नियुक्त भएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामाको घोषणा गरेपछि प्रदेशसभा परिसरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै थापाले दलको नेता भएकोले मुख्यमन्त्रीमा आफ्नो स्वभाविक दावी रहेको बताए ।

‘अहिले दलको नेता म हुँ, यो दलिय सिस्टम रहेकोले मुख्यमन्त्रीमा दावी छ’ उनले भने,‘तर, मुख्यमन्त्रीमा कसलाई अगाडि सार्ने भन्ने विषयमा गठबन्धन दलका शीर्ष नेताले गर्ने निर्णय स्वीकार्य हुन्छ ।’ थापाले यसअघि उपधारा २ अनुसार २ पटक मुख्यमन्त्री नियुक्त भएका थापा सर्वोच्च अदालतको आदेशबाट बर्खास्त भएका थिए ।

अदालतबाट थापाको बर्खास्तीपछि अदालतकै परमादेशअनुसार संविधानको धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका कार्कीले राजीनामा दिएपछि अब उपधारा ५ अनुसार सरकार गठनको बाटो खुलेको छ । सो उपधारमा प्रदेशसभाको कुनैपनि सदस्यले बहुमत देखाएर मुख्यमन्त्री दावी गर्न पाउँछ ।

नेपाली कांग्रेसमा पनि थापा बाहेक अरुलाई अगाडि सारेर जानुपर्ने आवाज उठिरहेको बेला थापाले मुख्यमन्त्रीमा आफ्नो दाबी रहने बताएका हुन् । दुई पटक मुख्यमन्त्री बन्ने अवसर पाए पनि काम गर्ने मौका नपाएकोले फेरि पनि दावी रहेको उनको भनाइ छ । दलको नेताबाहेक मुख्यमन्त्री बन्न पाउने भएपनि त्यसबारे दल र पार्टीले निर्णय गर्ने उनले बताए ।

दल मात्र नभएर गठबन्धन पनि रहेकोले गठबन्धन तोडेर केही पनि मुख्यमन्त्री दावी गर्न नजाने थापाले बताए । कोही पनि दलको अनुशासन तोडेर जान्छ भने मान्न नसकिने उनको भनाइ छ ।

एमाले र कांग्रेस मिलेर सरकार बन्छ भन्ने प्रश्नमा संसदीय दलका नेता गठबन्धन तोडेर सरकार नबन्ने बताए । हिजो आफ्नो सरकार गठनका लागि माओवादीले सभामुखलाई भोट हाल्न लगाउनेदेखि राजीनामा गराएको भन्दै उनले भने, माओवादीलाई छोडेर सत्ताका लागि एमालेसँग सहकार्य गर्न नैतिकताले नदिने स्पष्ट पारे । माओवादी, एकीकृत समाजवादी र जसपा पनि गठबन्धन तोडेर एमालेसँग नजाने उनको दाबी छ ।

शनिबार, २० असोज, २०८०, साँझको ०५:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर