विराटनगर । नेकपा एमालेको मंगलबार सम्पन्न प्रदेश अधिवेशनबाट अध्यक्षमा पराजित विनोद ढकालले निर्वाचनका क्रममा पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम गुटबन्दी गरेको आरोप लगाएका छन् ।
विराटनगरस्थित एमालेको पार्टी कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गरी ढकालले नेतृत्व तहबाटै घेराबन्दी गर्दै प्रदेशको सत्तासमेत प्रयोग गरेर आफूलाई हराइएको बताए ।
आफ्नो पक्षमा लाग्ने कार्यकर्ताहरुलाई नेतृत्व तहबाट डर, त्रास र धाकधम्की दिएकोसमेत ढकालको दावी छ । ‘पार्टीको मूल सिद्धान्त र पार्टी विधानको भावनाविपरीत केन्द्रीय नेताहरूले अमूक उम्मेदवारको पक्षमा लागेर कार्यकर्तालाई डर, त्रासमा पारेर भोट माग्ने र अर्को उम्मेदवारलाई तिरस्कार गरेको व्यवहार खुलमखुला देखियो,’ उनले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘पार्टी स्थायी कमिटी सदस्य र पोलिटब्यूरो सदस्यहरुले नै खुलेआम रुपमा अमुक उम्मेदवारको पक्षमा भोट माग्ने र अर्को उम्मेदवारलाई घेराबन्दी गर्ने काममा नियोजित रुपमा लागेका मात्र होइन, त्यो कर्ममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नाम जोडेर प्रचारवाजी गर्न समेत भ्याउनुभयो ।’
ढकालले नेताहरुको तहबाट भएको त्यस्तो व्यवहारले पार्टी अध्यक्ष ओलीलाई विवादमा पार्ने काम भएको पनि दावी गरेका छन् । ‘उहाँहरुको त्यस्तो व्यवहारबाट पार्टी अध्यक्ष जस्तो संस्थालाई विवादमा पार्ने काम भएको छ भने पार्टीभित्रको प्रतिस्पर्धालाई अस्वस्थ र दवावमूलक बनाएको छ । के हामीले चाहेको यस्तै नियन्त्रित लोकतन्त्र हो ? के पार्टी अध्यक्षको नजरमा कोही कार्यकर्ता नजिक र कोही टाढाको हुनसक्छ ?,’ उनले प्रश्न गरेका छन् ।
केन्द्रीय सदस्य, पोलिटब्यूरो सदस्य तथा स्थायी समिति सदस्यहरुलाई प्रदेश अध्यक्षको लागि भोट माग्ने अधिकार नै नभएको ढकालले बताए । पार्टी अध्यक्षको नाम लिएर पक्ष वाविपक्षमा लाग्नु विधानविपरीतको अनैतिक काम भएको उनको भनाइ छ । आफूलाई चुनाव हराउनकै लागि प्रदेश सरकारमा मन्त्री तथा राज्यमन्त्री नियुक्तिदेखि अनेक हथकण्डा भएको उनले आरोप लगाएका छन् ।
एमाले कोशीको अधिवेशनमा घनश्याम खतिवडासँग ८२ मतअन्तरले पराजित भएका ढकालले पार्टीको स्थायी समिति सदस्यहरु हिक्मतकुमार कार्की, शेरधन राई, भानुभक्त ढकाल, राजेन्द्र गौतमसहित विरुद्ध आक्रोश व्यक्त गरेका हुन् । उनीहरुले अधिवेशनमा खतिवडालाई समर्थन गरेका थिए ।
यद्यपी चुनावी परिणामलाई सहर्ष स्वीकार गर्ने बताउँदे ढकालले नवनिर्वाचित नेतृत्वलाई सहयोग रहने विश्वास पनि दिलाएका छन् । अधिवेशनमा नेतृत्वको घेराबन्दी र त्रासलाई चिर्दै निर्वाचनको बेला आफूलाई सहयोग गर्ने कार्यकर्तालाई विभेदमा पारिए चुप नलाग्ने चेतावनीसमेत उनले दिएका छन् ।
‘मलाई सहयोग गरेको नाममा विभेद भएमा नेता कार्यकर्ताको संरक्षणका लागि मैले नैतिक रूपमा आवाज उठाउनु पर्ने हुन्छ’ उनले भने, ‘जसले मलाई सहयोग गर्यो, उसलाई मैले प्रतिरक्षा गर्नुपर्छ । चुनावमा कसले भोट दियो, दिएन भनेर कार्यकर्तालाई विभेदमा पार्न खोजिन्छ भने म चुप लागेर बस्दिन है भनेर भनेको छु ।’
ढकालले शपथग्रहण कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन कमिटीले धाँधली गर्यो भन्ने हिसावले दिएको धारणाले राम्रो सन्देश नगएको पनि बताएका छन् । केन्द्रले बनाएको निर्वाचन कमिटीले निर्वाचन गरेको भन्दै ढकालले आफूलाई हराउन निर्वाचन कमिटि प्रयोग भएको देखिएको बताए । ‘अध्यक्षले भनेको केही कुरा सहि हो, केहि व्यक्तिले बाहिर नै मतपत्रमा टिक लगाएर भित्र लगेको देखिएको थियो’ उनले भने, ‘ती मतपत्रमा मेरो नाममा टिक थिएन । त्यसैले विजयी भएकाहरुले नै धाँधली गरेको भनेर अध्यक्षले इंगित गर्नुभएको हो कि ? मलाई थाहा भएन ।’
अहिले पनि आफू केपी ओलीनिकट नै रहेको बताउँदै ढकालले अध्यक्षको नाम लिएर अध्यक्षका वरिपरि रहेका केही नेताहरुले गलत गरेको दाबी गरे । ‘त्यो कसले घेराबन्दी गर्यो भन्ने विषय तपाईहरुलाई थाहा छ । त्यो नाम कोड गरेरै लेखिदिनुहोला,’ उनले भने । आफूलाई बुधबार आयोजित शपथग्रहण कार्यक्रममा निकटतम प्रतिद्वन्द्वीको हिसावले बोल्न नदिएकोप्रति पनि उनले गुनासो गरेका छन् ।
‘मैले प्रदेश अधिवेशनको समापन र नव निर्वाचित पदाधिकारीको शपथग्रहण समारोहमा नै यति कुरा भनेर बधाई, धन्यवाद तथा आभार प्रकट गर्न पाइन्छ कि भन्ने ठानेको थिएँ’ उनले भने, ‘अध्यक्ष पदको निकटतम् प्रतिस्पर्धीको नाताले समापन समारोहको मञ्चबाट धन्यवाद दिने अवसर नपाएको कारण पत्रकार सम्मेलन गरेर विचार सार्वजनिक गर्नुपरेको हो ।’