विराटनगर । कोशी प्रदेशसभाको चौथो अधिवेशनको पहिलो बैठकको कार्यसुची तय भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसुची तय गरेको हो ।
आजको बैठकको सुरुवातमा दलका नेताहरुले शुभकामना दिनेछन् । कुनैपनि अधिवेशन सुरु वा अन्त्य हुँदा दलका नेताहरुले सम्बोधन गर्ने प्रचलन रहेको छ । नेताहरुको सम्बोधनपछि सरकारले जारी गरेको आर्थिक र विनियोजन अध्यादेश टेबल गर्ने कार्यसूची तय गरिएको नेकपा एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिएका छन् ।
आजकै बैठकमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरूको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि टेबुल हुनेछ । मुख्यमन्त्रीले विश्वासको मत लिने समय २० गतेसम्म रहेपनि २० गते शनिबार परेकाले १९ गते नै विश्वासको मत लिनेबारेमा पनि छलफल भएको उनले जानकारी दिए ।
सर्वोच्च अदालतको परमादेशपछि भदौ २२ गते सभामा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका कार्कीले असोज २० गतेभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक बाध्यता छ । भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिँदा सभाध्यक्षसमेतको मत जोडेको विषयलाई गैरसंवैधानिक करार दिँदै सवोच्च अदालतले भदौ २१ गते बदर गरिदिएपछि कार्की अदालतको परमादेशबाट मुख्यमन्त्री नियुक्त भएका थिए ।