सम्पादकीय
यतिबेला कोशी प्रदेशको राजधानी विराटनगरमा फुटबल उत्सव चलिरहेको छ । रात्रीकालीन विराट गोल्डकपले यहाँका फुटबलप्रेमीहरुको ध्यान मात्रै खिचेको छैन, कहलिएका क्लबका प्रतिभाशाली खेलाडीहरुको उपस्थितिले स्थानीय नयाँ प्रतिभालाई सिक्ने मौका पनि जुरेको छ । यद्यपि विराटनगरमा प्रतियोगिता चल्दै गर्दा समग्र नेपाली फुटबलको अवस्था भने झनै निराशालाग्दो बन्दै गएको छ । केही दिनअघि मात्रैको कुरा हो, मुलुकका दुई जना प्रतिभाशाली खेलाडीहरु अष्ट्रेलिया पलायन भए । धनकुटाका सुजल श्रेष्ठ र मोरङ उर्लाबारीका रन्जित धिमाल, दुवै राष्ट्रिय फुटबल टोलीका भरपर्दा र प्रतिभावान खेलाडी थिए । उनीहरु दुवै जना नेपालमा भविष्य नदेखेरै विदेशिएका हुन् । त्यसो त उनीहरु पछिल्ला दुई पात्र मात्रै हुन्, यसअघि दर्जनौं खेलाडी विदेशिएका छन् । फुटबल खेलाडीहरुको यो अत्यासलाग्दो पलायन एन्फा र नेपाल सरकार दुवै विफल भएको प्रमाण हो ।
यतिबेला मुलुकमा फुटबल प्रतियोगिताहरुको कमी छैन । शहिद स्मारक लिग चलिरहेकै छ । मुलुकका विभिन्न ठाउँमा नकआउट फुटबल प्रतियोगिताहरु पनि चलिरहेकै छन् । आन्तरिक प्रतियोगिताहरुको बाक्लो आयोजनाले खेलाडीहरुलाई व्यस्त राख्नुपर्ने हो । राष्ट्रिय टिम पनि व्यस्त तालिकामै छ । नयाँ प्रशिक्षकको नेतृत्वमा लाओस र भूटानसँग थ्री नेसन्स कप खेलिरहेकै बेला खेलाडीहरु पलायन हुनुले गर्ने संकेत भनेको उनीहरु स्वदेशमा भविष्यप्रति आश्वस्त छैनन् भन्ने नै हो । एन्फामा नयाँ नेतृत्व आएपछि त झनै खेलाडी पलायन बढेको छ । यसले एन्फाको नयाँ समितिप्रति र मुलुकको खेल व्यवस्थापनप्रति खेलाडी पटक्कै विश्वस्त नरहेको देखाउँछ ।
कुनै पनि फुटबल खेलाडीका लागि राष्ट्रिय टोली ठूलो सपना हुने गर्छ । राष्ट्रिय झण्डा अंकित जर्सी छातीमा टाँसेर मुलुकको प्रतिनिधित्व गर्न पाउँदा खेलाडीका लागि जीवनको सबैभन्दा ठूलो खुसी प्राप्त हुन्छ । नेपालका हकमा यो अपवाद बन्नु सबैभन्दा दुःखद् विषय हो । एउटा खेलाडी उत्पादनका लागि लाखौं रुपैयाँ मात्र होइन, उत्तिकै समय पनि खर्च भएको हुन्छ । यसका निम्ति अन्य क्षेत्रको पनि त्यत्तिकै योगदान परेको हुन्छ । तिनै खेलाडी विदेश पलायन हुँदा स्वाभाविक रूपमा खेल जगतमा अकल्पनीय क्षति भइरहेको छ । राम्रा खेलाडीले देश छाडेपछि त्यसको सबभन्दा ठूलो असर नेपाली राष्ट्रिय टिममा पर्छ । अहिले त्यही भइरहेको छ । प्रतिभाशाली खेलाडीहरु एकपछि अर्को खेलाडी पलायन हुनु नेपालका लागि ठूलो नोक्सानीको विषय हो ।
हाम्रा खेलाडीहरू जे–जस्ता कारणले पलायन भैरहेका छन्, त्यसपछाडिका सामाजिक–आर्थिक कारणहरू के–के हुन्, यो अवस्था सच्याउन के गर्न सकिन्छ, एन्फाले यसको खोजी गर्न र सुधारका उपायहरू अवलम्बन गर्न जरुरी छ । त्यसो त, यति बेला देशको ठूलो युवाशक्ति अध्ययन वा रोजगारीका सिलसिलामा विदेसिने गरेको छ । कारणहरू पक्कै उही र उस्तै होलान्, तर आम युवाजसरी नै राष्ट्रिय जीवन बनाइसकेका खेलाडीहरू पनि पलायन हुनुलाई उत्तिकै स्वाभाविक रूपमा लिनु हुन्न । आम युवाकै हकमा पनि अहिले भैरहेको पलायन रोक्न मुलुकले विस्तृत सुधारको बाटो समात्नैपर्छ, त्यसको पहिलो सुरुआत भने खेलाडीहरूमा केन्द्रित भएर हुन सक्छ । यसको खोजीमा र उपाय पहिल्याएर कार्यान्वयनमा ल्याउन पनि ढिला गर्न हुँदैन ।