एमालेको हेविवेट भट्टराईलाई माओवादीका क्षेत्रीको चुनौती

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका सचिब योगेश भट्टराईलाई पाँच दलीय गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुढाक्षेत्री (पराग) ले कडा चुनौति दिने भएका छन् ।

ताप्लेजुङबाट दोस्रो पटक प्रतिनिधिसभामा निर्वाचित हुने ध्येयमा रहेका भट्टराईलाई सत्तारुढ गठबन्धन अबरोध बन्नसक्ने देखिएको छ । २०७४ को प्रतिनिधिसभा चुनावमा माओवादी केन्द्रसमेतको समर्थनमा निर्वाचित भएका भट्टराई त्यसअघिका निर्वाचनमा काठमाडौंबाट उम्मेदवार बनेर पराजित भएका थिए ।

दोस्रो जीत निकाल्ने प्रयासमा उनी रहेपनि उनलाई २०७४ को जस्तो अनुकुलता छैन । एकातिर त्यसबोला साथ दिएको माओवादी केन्द्र सत्तारुढ दलहरुको प्रतिनिधि बनेर उनकै प्रतिष्पर्धीको रुपमा मैदानमा उत्रिएको छ भने नेकपा एमाले पनि विभाजित भएर कार्यकर्ताको एउटा हिस्सा नेकपा एकीकृत समाजवादीमा आबद्ध छ । समाजवादीको पनि क्षेत्रीलाई नै समर्थन छ ।

काँग्रेसहित सत्तारुढ गठबन्धनका उम्मेदवार क्षेत्रीलाई पन्छाएर जित निकाल्नु भट्टराईका लागि सहज छैन । बरु क्षेत्री भट्टराईभन्दा बलिया देखिएका छन् । गएको स्थानीय तह निर्वाचनमा ताप्लेजुङमा गठबन्धनको अभ्यास सफल भइकसकेकोले आगामी निर्वाचनमा पनि क्षेत्री विजयी हुने दावी गठबन्धनको छ ।

को हुन् क्षेत्री ?
क्षेत्री माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी पहिलोपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका हुन् । पहिलो पटकमा निर्वाचित हुँदै सांसद बन्ने उनको प्रयासलाई गठबन्धनले सघाएको छ ।

तीन दशकभन्दा बढी समय कम्युनिस्ट आन्दोलनमा बिताएका क्षेत्री पूर्णकालीन राजनीतिमै सक्रिय भएको पनि दुई दशकभन्दा बढी भइसक्यो । उनी जिल्लाको राजनीतिमा स्थापित नेता हुन् । ‘पूर्णकालीन राजनीतिक कार्यकर्ता भएर मैले ताप्लेजुङमै कार्यक्षेत्र बनाएर करिब २ दशक बिताएको छु’ उनी भन्छन्, ‘यहाँका हरेक समस्यासँग परिचित छु । सम्भावनाबारे जानकार छु । जनताका पीर मर्का नजिकबाट नियालेको छु ।’

ताप्लेजुङलाई विकासको बाटोमा द्रूततर गतिमा अघि बढाउन आफू प्रत्यक्षमा उम्मेदवार बनेको उनी बताउँछन् । शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, सिँचाइ, जडिबुटीलगायतको विकास गर्ने तथा सार्वजनिक सेवा सुविधा सुधार गर्ने आफ्नो योजना रहेको उनले बताए ।

ताप्लेजुङ जलस्रोतमा धनी जिल्ला हो । हाइड्रोसम्बन्धी कतिपय योजनाहरू सम्पन्न भएका छन्, कति निर्माणाधीन छन् त कति बन्ने चरणमा छन् । जलस्रोतको विकासका लागि उपयुक्त वातावरण तयार पार्ने आफ्नो एजेन्डा रहेको उनी बताउँछन् । त्यस्तै ताप्लेजुङका पर्यटकीय गन्तव्यको विकास गर्ने कुरालाई पनि क्षेत्रीले प्रमुखताका साथ अगाडि सारेका छन् ।

क्षेत्री आफूलाई जनताको उम्मेदवार भन्न रूचाउँछन् । उनी जनतासँगको सम्बन्धलाई नै आफ्नो जित्ने आधार रहेको दाबी गर्छन् । ‘म ताप्लेजुङमै जन्मिएँ, ताप्लेजुङमै हुर्किएँ, जीवनको धेरै लामो समय यहीँ बिताएँ । जनतालाई समस्या पर्दा म उहाँहरूसँगै थिएँ, छु र हुनेछु’ उनी भन्छन्, ‘यहाँका जनतासँग मेरो आत्मीय सम्बन्ध छ । उहाँहरूले पनि मलाई माया गर्नुहुन्छ । म जितेपछि पनि ताप्लेजुङकै जनताको सेवामा हुनेछु ।’

अघिल्लो पटक चुनाव जितिसकेका एमालेका ‘हेभिवेट’ उम्मेदवार भट्टराईसँगको प्रतिस्पर्धालाई सहज ठानेका उनी भन्छन्, ‘योगेशजीलाई जिताउन हामी पनि लागेका थियौँ । तर, अहिले परिस्थिति पहिलेको जस्तो छैन । उहाँले जिल्लामा गरेका काम र राजनीतिमा गरेका सबै कामको हिसाब जनतासँग छ ।’

गत स्थानीय तह निर्वाचनमा जिल्लाका ९ वटा स्थानीय तहमध्ये गठबन्धनले ६ वटा पालिकाको प्रमुख गठबन्धनले जितेको जितेको छ भने एमालेले ३ पालिकाको प्रमुख जितेको थियो । त्यो परिणामलाई पनि गठबन्धनले जीतको आधार मानेको छ ।

फक्ताङलुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका राजन लिम्बु निर्वाचित भएका थिए भने उपाध्यक्षमा नेपाली कांग्रेसका रबिन साम्रा लिम्बु निर्वाचित भएका थिए । मिक्वाखोला गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भक्तबहादुर कार्की र उपाध्यक्षमा माओवादी केन्द्रका डण्डु शेर्पा लामा निर्वाचित भएका थिए ।

त्यस्तै मेरिङदेख गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका युकहांविर हांगाम र उपाध्यक्षमा एकीकृत समाजवादीका दुर्गा प्रसाद श्रेङ चङ्वाङ निर्वाचित भएका थिए । त्यस्तै ताप्लेजुङको मैवाखोला गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका विजय प्रकाश वनेम र उपाध्यक्षमा नेपाली कांग्रेसकी कमलकुमारी लिम्बु निर्वाचित भएका थिए ।

सिरीजङ्घ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लाल कृष्ण चौहान र उपाध्यक्षमा माओवादी केन्द्रका चित्रकुमार लिम्बु निर्वाचित भएका थिए । ताप्लेजुङको एक मात्र नगरपालिका फुङलिङ नगरपालिकाको मेयरमा पनि कांग्रेसका अमिर मादेन निर्वाचित भएका थिए । यो नगरपालिकाको उपमेयरमा भने एमालेकी भीमादेवी ओझा निर्वाचित भएकी थिइन् ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमाले निर्वाचित भएको थियो । यो गाउँपालिकाको अध्यक्षमा एमालेका दिपेन्द्र पोमुख र उपाध्यक्षमा शान्ता कुमारी आङबुहाङ निर्वाचित भएका थिए । पाथीभरा याङवरक गाउँपालिको अध्यक्ष र उपाध्यक्ष पनि एमालेले जितेको छ । यो गाउँपालिकाको अध्यक्षमा एमालेका केशर सुब्बा र उपाध्यक्षमा रनमाया गुरुङ निर्वाचित भएका थिए ।

सिदिङ्वा गाउँपालिकामा एमालेले अध्यक्षमा जितेको थियो भने उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको थियो । अध्यक्षमा एमालेका
मानबहादुर राई र उपाध्यक्षमा माओवादी केन्द्रकी कृष्णकुमारी कडरिया निर्वाचित भएका थिए ।

शुक्रबार, २८ असोज, २०७९, साँझको ०६:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page