सशस्त्र युद्धमा बेपत्ता महिलाको २२ वर्षपछि अन्त्येष्टि

विराटनगर । माओवादीको अगुवाइमा भएको सशस्त्र युद्धको समयमा बेपत्ता भएकी मोरङको पथरीशनिश्चरे नगरपालिका–५ की लक्ष्मी खतिवडाको २२ वर्षपछि परिवारले काजकिरिया गरेको छ ।

२०५९ भदौ १७ गते सुरक्षाकर्मीले नियन्त्रणमा लिएर बेपत्ता पारेकी खतिवडाको २२ वर्षपछि अदालतले न्यायीक मृत्यु घोषणा गरेपछि परिवारले अन्तेष्टि गर्दै काजकिरिया गरेको हो ।

कुशको शव बनाएर परिवारले उनको दाहसंस्कार गरेको थियो । लक्ष्मीका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् ।
जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते मोरङ जिल्ला अदालतमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालीन सेनाले पक्राउ गरेर बेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो ।
सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर लक्ष्मीको दाहसंस्कार गरिएको उनका भाइ प्रेम खतिवडाले जानकारी दिए । अदालतले बेपत्ता भएको मितिलाई आधार मानेर मृत्युको घोषणा गरिदिएपछि भदौ १७ गते अन्तिम संस्कारको मिति राखेर काजकिरिया गरेको उनले बताए ।
खतिवडा २०५८ साल मंसिरमा माओवादी ‘जनयुद्ध’मा पूर्णकालीन कार्यकर्ता भएकी थिइन् । एक वर्ष नपुग्दै २०५९ भदौ १७ गते सुनसरी खनारको नहरपूर्व एक स्थानीयको घरबाट उनलाई पक्राउ गरिएको थियो । उनी पक्राउ परेको १५ दिनपछि परिवारले जानकारी पाएका थिए ।
‘दिदी पक्राउ परेको जानकारी आएपछि खोजीका लागि हामी खनार पुग्दा पक्राउ परेको पुष्टि भयो’ लक्ष्मीका भाई प्रेमले भने, ‘त्यसपछि इटहरी ब्यारेक गएर बुझ्यौँ । कहाँ लगे भन्ने कुनै पत्ता लागेन ।’

दिदीको अवस्थाबारे बुझ्न जाँदा पक्राउ परेका घरका मानिसलाई पनि सेनाले निर्घात कुटपिट गरेको पाएको प्रेमले बताए । केही नलागेपछि पीडित परिवारले माओवादीलाई नै बेपत्ताको अवस्था सार्वजनिक गर्न पहल गरिदिन माग गर्दै आएको थियो । तर, पत्ता नलागेपछि परिवारले अदालतमा मृत्युको घोषणा गर्न माग गर्दै निवेदन दिएको थियो ।

२०७५ साल भदौदेखि लागू भएको मुलुकी देवानी संहिताको दफा ४० को ४ मा बेपत्ता व्यक्तिको मृत्युको न्यायिक घोषणा गर्ने कानुनी प्रावधान छ । अदालतले लक्ष्मी पक्राउ परेको दिनलाई आधार मान्दै २५ भदौ २०८० मा मृत्युको न्यायिक घोषणा गरिदिएको हो । मुलुकी देवानी संहितामा विना सूचना १२ वर्षसम्म बेपत्ता भए मृत्यु भएको मानिने उल्लेख छ ।

सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग सम्बन्धी ऐन पनि जारी भइसकेको भएपनि आयोग गठनमा ण्लिाइ हुँदा परिवारले न्यायीक मृत्युको घोषणा गराउन अदालतमा निवेदन दिएको थियो । २०३६ साल पुस २२ गते भोजपुरको खार्तम्छास्थित सानो दिङ्लामा जन्मिएकी लक्ष्मी परिवारसँगै २०४८ सालमा सुनसरीको बौकामा बसाइँ सरेर आएकी थिइन् । त्यहाँबाट २०५१ सालमा साविक हसन्दह गाविस–१, चिलाझारमा बसोबास गरिरहेको अवस्थामा लक्ष्मी २०५८ साल मंसिरमा जनयुद्धमा हिँडेकी हुन् ।

लक्ष्मीका ८३ वर्षका वृद्ध बुबा र ७८ वर्षीय आमा रत्नकुमारीका साथै पाँच दाजुभाइ र दुई दिदीबहिनी छन् । उनको अन्तिम संस्कार चिलाझार पथरीमै गरिएको हो ।

बुधबार, २६ भदौ, २०८१, बिहानको ०७:३८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर