विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सुरु गरेको अनशनप्रति नेकपा एमाले आक्रामक देखिएको छ ।
प्रदेशसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका सांसद तिलचन पाठकले अनशन अराजक, अनुशासनहित र अमर्यादित रहेको दाबी गरे ।
उनले केदार कार्कीको अनशनले जनतामा भ्रम फिँजाउने र कोशी प्रदेशलाई अन्यौलको भूमरिमा लान खोजेको पनि बताएका छन् । ‘कोशी प्रदेशमा अराजक, अनुशासनहित र अमर्यादित अनसनको विषयले हामी लज्जीत भएका छौं । केदार कार्कीको अनसनले हामी गम्भीर बनेका छौं । यो अनशन र अराजक हर्कतले संसदीय मूल्य, मान्यताको धज्जी उठेको छ,’ पाठकले भने ।
पाठकले केदार कार्कीको अनशन संविधानको धारा १८७ को विरुद्धमा रहेको भन्दै विशेषाधिकार समिति बनाएर छानविन गर्नुपर्नेमा जोड दिए । ‘रातो किताबमा आएका योजनाहरु कटौति गर्ने को हो ? म प्रश्न गर्न चाहन्छु । धेरै माननीयहरुले योजना प्रस्तुत गर्नुभएको थियो । तर, केदार कार्कीले नै मुख्यमन्त्री हुँदा हाम्रो योजना काट्नु भएको थियो । त्यो बेला हामीले अनशन बस्नु पर्ने थियो ?,’ उनले प्रश्न गर्दै भने, ‘उहाँ मुख्यमन्त्री बन्दा स्वास्थ्य मन्त्रालयमा २ करोडभन्दा बढी भुक्तानी दिनुपर्ने माग भएको छ ।
झुठो बिल विवरण पेश गर्ने को ? यसको जवाफ दिनुपर्दैन ?’
उनले बहुमतबाट बनेको सरकारले योजना, कार्यक्रम र बजेट ल्याउन पाउने बताउँदै केदार कार्कीले बजेटप्रति अन्यौलता सिर्जना गरेर बजेटलाई नै असफल बनाउने प्रयास गरेको, जनतालाई अन्यौल बनाउने र कोशी प्रदेशलाई अन्यौलको भूमरीमा जाक्ने काम भएको दाबी पनि गरे ।
‘हामीले रातो किताबलाई पल्टाएर हेर्ने हो भने उहाँले उठाएका मागहरु सम्बोधन भएको पाइन्छ । १० वर्ष मुनिका बालबालिकालाई निःशुल्क उपचार गर्ने कुरा अहिले पनि राखिएको छ । त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविका लक्षित बजेट पनि पर्याप्त छ,’ पाठकले भने, ‘अनशनको नौटंकीबाट प्रदेशको नागरिकलाई भुलभुलैयामा पार्ने काम भइरहेको छ । भ्रम फिँजाउने काम पूर्वमुख्यमन्त्रीले गरेको काम खेदजनक छ । निन्दनीय छ ।’
उनले हृदयरोग केन्द्र अस्पतालमा पनि बजेट छुट्याएको बताए । चालू आर्थिक वर्षका लागि पनि धूलो दूध र घिउ निर्यातमा १ करोड अनुदान बजेटको व्यवस्था गरिएको उनको दाबी थियो । तर, केदार कार्की लाष्ट बेन्चर भएको कारण बुझ्ने बानी हराएको हो कि ? भन्ने प्रश्न गरे । उनले केदार कार्कीलाई मुख्यमन्त्री कार्यालयमा गएर वार्ता, छलफलबाट समस्या समाधनका लागि पहल गर्न आग्रह गरे ।