जनस्वास्थ्यमाथि अस्पतालकै खेलवाड

 सम्पादकीय

ढलको उचित व्यवस्थान नहुँदा शहर बजारमा झाडा पखाला, आउँ हैजादेखि जण्डिसम्मका रोगहरु फैलन्छन् । दिसाजन्य फोहोरबाट झाडापखाला, इकोला, टाइफाइड र मलेरिया, कालाजारलगायतका रोग लाग्नसक्छ । दिसाजन्य फोहोरमा हुने भाइरसस या किटाणु विभिन्न माध्यमबाट मानिसको शरीरमा प्रवेश गरेमा ती रोगहरु सर्छन् । त्यसैले सरसफाईमा ध्यान दिन जरुरी हुन्छ । यस्तो संक्रामक रोग फैलाउने जोखिम विराटनगरमा पछिल्लो समयमा कोशी अस्पतालले नै बढाइरहेको पाइएको छ । खुल्ला ठाउँमा शौचालयजन्य फोहोर बिसर्जन गर्न नहुने कानुनी व्यवस्था उल्लंघन गर्दै कोशी अस्पतालले अस्पतालको हजलाई नालामा लगेर मिसाएको पाइएको छ । शौचालयको दिशा पिसाब नालामा फाल्नेलाई फोहरमैला ऐन अनुसार महानगरले १ लाख रुपैयाँसम्म कार्वाही गर्ने व्यवस्था छ । तर, महानगर पनि सञ्चालक सदस्य रहेको कोशी अस्पतालले महानगरकै नियमलाई मात्र उल्लंघन गरिरहेको छैन, महानगरबासीको जनस्वास्थ्यमाथि नै खेलवाड गरिरहेको देखिएको छ ।
सडकको नालामा शौचालयको ढल मिसाएको आरोपमा विराटनगर महानगरपालिकाले यसअघि धेरै अस्पताल र व्यवसायिक प्रतिष्ठानलाई जरिवाना गरेको छ । फोहर व्यवस्थापनको नाममा वार्षिक २ करोड बढी खर्च गर्ने गरेको कोशी अस्पतालको सेफ्टिट्यांक भरिएर बगेको दिसा पिसाब सिधै सडक नालामा बगाउने गरेको छ । अस्पतालभित्रको विभिन्न भवनमा रहेको शौचालयको दिसापिसाब सिधै सडक नालामा बगाउँदा जनस्वास्थ्यमा जोखिम मात्र बढेको छैन, सडक नै दुर्गन्धित बनेको छ । कोशी अस्पतालमा करिब आधा दर्जन संख्यामा रहेको भवनमा जोडिएका १० वटा सेफ्टी ट्यांकीबाट दिसा पिसाब सिधै सडकको नालामा बगाइने गरिएको छ । जबकी सफाइको लागि अस्पतालले वार्षिक २ करोड रुपैयाँ भन्दा बढि रकम खर्च गर्दै आएको छ । विराटनगरमा शौचालयको दिसापिसाब व्यवस्थापनको लागि ढल प्रणाली जडान भएको छ । महानगरपालिकाको व्यवस्थित ढल प्रणाली कोशी अस्पतालसम्मै पुगेको छ । तर, अस्पताल त्यो प्रणालीमा आबद्ध भएको छैन । प्रणालीमा जोडिएर ढल व्यवस्थापन गर्दा सेफ्टी ट्यांकी बोलाएर ढल सफा गर्नुपर्ने र नालामा मिसाउनुपर्ने अवस्था पनि अन्त्य हुन्छ । तर, अस्पतालले किन प्रणालीमा जोडिएको छैन भन्ने प्रश्न उठेको छ ।

ढल प्रणालीमा आवद्ध हुँदा खासै ठूलो खर्च नआउने महानगरपालिकाले जनाएको छ । निजी व्यवसायिक प्रतिष्ठानहरुले धेरैमा १ लाख ४४ हजार रुपैयाँ वार्षिक शुल्क तिर्दा ढल प्रयोग गर्न सक्छन् । कोशी अस्पताललगायत सार्वजनिक सरकारी निकायले त्यो भन्दा कम शुल्कमै ढल प्रयोग गर्नसक्ने अवस्था छ । तर, अस्पतालले लापरवाही गरी सार्वजनिक नालामा ढल बगाइरहेको छ । ढल प्रणाली भित्र समेटिएका सबै घर, व्यवसाय र सार्वजानिक निकाय अनिवार्य रुपमा ढल प्रणालीमा सहभागि हुुनुपर्ने महानगरको व्यवस्था भए पनि सरकारी कार्यालयहरु नै उक्त प्रणालीमा आवद्ध भएका छैनन् । अस्पतालले ढलबाहेक अन्य फोहोर व्यवस्थापनमा पनि सचेतना अपनाएको छैन । अस्पतालजन्य फोहोर बिसर्जनको मान्यताविपरीत कोशी अस्पतालले मासिक ५० हजार रुपैयाँ भुक्तानी दिने गरी सविता सेफ्टी ट्यांकलाई फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी दिएको छ । कम्पनीको आफ्नै ल्याण्डफिल्ड साइट छैन । जसले गर्दा जथाभावी अस्पतालजन्य फोहोर बिसर्जन गर्ने गरेको छ । जसले पूरै महाननगरमा जोखिम बढाएको छ । यो अन्त्य हुनुपर्छ ।

बुधबार, २६ भदौ, २०८१

प्रतिक्रिया:

सम्बन्धित खवर