कार्कीको आमरण अनशन दोस्रो दिन पनि जारी

विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले मंगलबारबाट सुरु गरेको आमरण अनशन दोस्रो दिन पनि जारी छ ।

विराटनगरको देवकोटा चोकमा उनी अनशनमा बसेका छन् । मंगलबार दिउँसो ४ बजेबाट प्रदेशसभाको गेट नजिकै अनसनमा बसेका उनलाई प्रहरीले निषेधित क्षेत्रमा अनसन बसेको भन्दै राति करिब ८ बजे बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो ।

प्रहरीले जबरजस्ती अनसनस्थलबाट उठाएर कार्कीले बुढिगंगास्थित घरमै पुर्याएकोमा राति ने उनी देवकोटा चोकमा आएर अनसनलाई निरन्तरता दिएका हुन् । अनशनस्थलमा कार्कीसहित केहि समर्थकहरु पनि छन् । कार्कीको अनसनलाई रोक्न मोरङ प्रशासनले मंगलबार विभिन्न स्थानमा निषेधाज्ञा लगाएको छ ।

निषेधित क्षेत्रमा अनशन बसेका कार्कीलाई हटाउने क्रममा समर्थक र सुरक्षाकर्मीबीच झडपसमेत भएको थियो । त्यस क्रममा प्रहरीले १५ जनालाई नियन्त्रणमा लिएकोमा राति नै उनीहरुलाई छाडेको छ । अहिले पनि अनशनस्थल वरपर सुरक्षाकर्मी परिचालन गरिएको छ ।

कार्कीको अनशनमा नेपाली कांग्रेसको डा.शेखर कोइराला पक्षधर नेता तथा कार्यकर्ताले साथ दिएका छन् । कोइराला पक्षका प्रदेशसभा सांसदसहित विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पनि अनसनमा ऐक्यबद्धता जनाएका छन् ।

शान्तिपूर्ण रुपमा अनसन बस्दा प्रशासनले निषेधाज्ञा जारी गर्नु र अनसनस्थलबाट पक्राउ गर्नु गलत भएको भन्दै सरकारको आलोचना भइरहेको छ । शान्ति सुरक्षामा असर पार्ने भन्दै प्रशासनले निषेधाज्ञा जारी गरेको छ । तर, आमरण अनसनले शान्ति सुरक्षामा कुनै असर पुग्ने अवस्था हुँदैन । बरु अनसनलमा हस्तक्षेप गरेर प्रहरीले ने शान्ति विथोलेको थियो ।

आफू मुख्यमन्त्री भएको बेला सुरु गरेका जनउत्तरदायी कार्यक्रमहरु अहिलेको सरकारले कटौती गरेको भन्दै कार्कीले विभिन्न ९ बुँदे माग राखेर अनसन सुरु गरेका हुन् । विशिष्टीकृत सेवासहित १० वर्षमुनिका बालबालिकाकाको निःशुल्क उपचार कार्यक्रमलाई नियमित गर्नुपर्ने, बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति लिनुपर्ने, शैलजा आचार्य हृदयरोग उपचार केन्द्र संचालन गर्नुपर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता उपलब्ध गराउनुपर्ने, घिउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम यथावत राख्नुपर्ने कार्कीको माग छ । यस्तै, सुनसरी–मोरङ केसलिया करिडोरको विकास कार्यक्रममा पर्याप्त बजेट दिनुपर्ने, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने, डाक्टर, इन्जिनियरलगायत विभिन्न विधाका विद्यार्थीलाई छात्रवृत्ति दिनुपर्ने र जनावरमैत्री जंगल निर्माण गर्नुपर्ने उनको माग छ ।

माग सम्बोधन नभएसम्म अनशन जारी रहने कार्कीले बताएका छन् ।

बुधबार, २६ भदौ, २०८१, बिहानको १०:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर