मणि दाहाल
हामीले निर्वाचनको विजय र पराजयलाई मात्र सफलताको सूचक सम्झियांै । निर्वाचनदेखि निर्वाचनसम्म मात्र हाम्रो ध्यान केन्द्रित भयो । हामीले जसरी जे गरेर पनि निर्वाचन जित्ने कार्ययोजना मात्र बनायौं । जित्नैपर्ने मानसिकताले राजनीतिक मूल्यलाई बन्धक बनायौं । बन्धक नैतिकताले अनेकांै दुर्गन्धहरुसँग मितेरी गाँस्नु पर्ने अवस्था आयो । परिणामस्वरुप आज हामीले निर्वाचन जितेर पनि राजनीतिक रुपमा पराजयको सामना गरिरहेका छौं । जनजीविका झन् गिर्दो अवस्थामा छ ।
हाम्रा राजनीतिक दलहरु टिठलाग्दो अवस्थाको सामाना गर्दैछन् । जनता अघि छन् । राजनीति पछि छ । दलहरुमा कार्यकर्ता देखिदैन । भीडमात्र देखिन्छ । भीडले भीड मात्र बढाउँछ परिणाम दिन सक्दैन । शून्यतामा गुज्रिएको भध्डीले जितलाई नैतिकता र हारलई अनैतिकता सम्झन्छ । राजनीतिक रुपमा अशिक्षित भीड साध्य र साधन केही बुझ्दैन । जित्नको लागि जे पनि गर्छ । लैबरीमा दौडनु उसको विशेषता रहन्छ । आज पार्टीको मातृ संगठनदेखि भातृ संगठनहरुसम्म सोही अवस्थामा गुज्रीएका छन् ।
राजनीतिक दलहरु समस्याग्रस्त अवस्थामा छन् । जनताबीचका प्रतिवद्धताहरु बतासे सपनामा सीमितभएका छन् । राजनीतिगर्नेहरुप्रतिको समामाजिक दृष्टिकोण नकारात्मक बन्नपुगेको छ । कमाउनको लागि राजनीति भन्ने बुझाइ अधिकांशमा छ । आखिर यो किन भयो त ? राजनीति सबै भन्दा उत्कृष्ट नीति भएर पनि यसप्रति आमजनताको वितृष्णा किन बढ्दै छ ? अब यसको कारण खोज्नु जरुरी छ । कारणसहितको समाधान नखोज्ने हो भने राजनीति केबल राजनीतिको लागि मात्र हुनेछ । आत्मसन्तुष्टिसम्म मिल्ने छ । तर जीवन र जगतले केही पाउने छैन ।
अहिले राजनीतिक दलहरुले खतरनाक प्रवृत्तिलाई मलजल गरिरहेका छन् । सो प्रवृत्तिले दलहरुलाई जनता बिचबाट विस्थापित गराउँदै छ । कुशासनको पीडाग्रस्त जनता दिक भएर स्वतन्त्रलाई जिताउन अग्रसर देखिदैछन् । बालेन, हर्क र गोपाल उदाहरणका पात्रमात्र हुन् । तर, यो खतरनाक लक्षण हो । यसका अनेकौं कारणमध्ये राजनीति दलहरुले पालिपोषी हुर्काएका गलत प्रवृत्तिहरु नै मुख्य दोषी छन् । आखिर ती प्रवृत्तिहरु के हुन् त ? यस बारेमा केही चर्चा गरौं ।
निष्ठा, नैतिकता र आदर्शको खडेरी राजनीतिको मूल समस्या हो । पार्टी कामको सिन्कोसम्म नभाँच्ने लाभ र पदको लागि मरिहत्ते गर्ने । नेताको विश्वासिलो बन्न एयरपोर्ट मात्र धाउने । शक्तिवानसँग कुम जोडेको फोटो पोष्ट गरेर पहँुचवान देखाउने । नीति र निष्ठाप्रति कहिल्यै इमान्दार नरहने । स्वार्थको गुटबन्दी गर्ने । अनुकुलतामा खरानी घस्ने । प्रतिकुलतामा दूलोभित्र पस्ने । अवसरमा हारालुछ गर्ने । यस्ता प्रवृत्तिहरु राजनीतिक दलका धमिराहरु हुन् । ढिलो चाँडो यस्ताले दललाई डुबाएरै छाड्छन् । अहिले राजनीतिक दलहरु जनताबाट टाढिनुको एउटा कारण यही हो ।
राजनीतिको अर्को समस्या भनेको विवेकशून्य दासता हो । दलीय मर्यादामा नबस्ने, अनुशासनमा नबस्ने, अध्यायन फिटिक्कै नगर्ने, जान्दापनि नजान्ने अनि भनेको पनि नमान्ने । अग्रजलाई सम्मान नगर्ने, तहगत नेतृत्वलाई नमान्ने, आफैं मैमत्ता बन्ने, पहुँचकोसामु लम्पसार पर्ने, तालीमात्र पिटिरहने, पथभ्रष्टताको जयकार गर्ने, इमान्दारको दोहोलो काड्ने, संगठनको महत्व नबुझ्ने,बैठकदेखि बैठकसम्म र पार्टी अफिसदेखि पार्टी अफिससम्मलाई पार्टी काम ठान्ने, तीस दिन पार्टी काममा लाग्यो भने तीस वर्षको ब्याज खोज्नेजस्ता अनेकौंं आत्मकेन्द्रित प्रवृत्तिहरु विद्यमान राजनीतिले झेल्दै आएका समस्याहरु हुन् । यसलाई समुल नष्ट नगर्दासम्म गन्तव्यमा पुग्ने सम्भावना नै छैन ।
तदर्थवाद राजनीतिको अर्को समस्या हो । पाएको जिम्मेवारीप्रति इमान्दार नरहने, तथ्यको विश्लेषण नगरी हावाको पछाडि दौडने, वर्ण तथा लिङ्गलाई सिंढी मात्र बनाउने, क्षामतामा विकास नगर्ने, शतिmको फेर भजाउने, कामका परिणाम जहिल्यै शून्यमा आउने, धरातलको सहि विश्लेषण नगर्ने, विषयवस्तुको जानकारीसम्म नराख्ने । पूर्वको सवाल छ भने पश्चिमको बहस गर्ने, बैठकको मर्यादा नबुझ्ने, बैठकको रुलिङ नमान्ने, गलत प्रतिवेदन बुझाउने, असल पक्षको समर्थन र खराब पक्षको आलोचना गर्नै नजान्ने, सँधै दासमात्र बनिरहने जस्ता अनगिन्ति समस्यामा दलहरु जेलिएका छन् । समस्याबाट निस्कने अवस्थामा पनि छैनन् । ननिस्केसम्म दलहरुले चुनावमात्र जित्छन् । माननीय मन्त्री, सभामुख सबै हुन्छन् । तर जनप्रतिवद्धता पूरा गर्न कदापी सक्दैनन् ।
नेपालको राजनीतिलाई विकृत बनाउने अर्को पक्ष भनेको बेतनभोगी बुद्धिजीवि हुन् । राजनीतिक दलमा हावी बुद्धिजीविहरु कहिल्यै पनि स्वार्थभन्दा माथि उठ्न सकेनन् । स्वार्थको परिभाषा नै उनीहरुको विशेषता बन्न पुग्यो । राजकीय अवसरको उपभोग र भागबण्डा नै उनीहरुको दैनिकी बन्यो । उनीहरुको शहर केन्द्रित घेराबन्दीबाट जिम्मेवार नेतृत्व पनि उम्कन सकेन । नेतृत्व उनीहरुको प्रभावमा प¥यो ।
उल्लेखित विशेषता अंगालेका बौद्धिक भनिनेहरु नीतिगत तहमा हावी भए । कोरा किताबी विश्वविद्यालय र व्यवहारिक राजनीतिक विश्वविद्यालय अलग अलग पाटा हुन् भनेर राजनीतिक दलहरुले बुझेनन् । अर्थात् कारखानाको बुद्धिजीवि लामो समयसम्म त्यहाँ कार्यरत मजदुर मात्र हो भन्ने कुरा दलहरुले बुझेनन् । शैक्षिक व्यापारी, स्वास्थ्य व्यापारी, मिटर ब्याजी सहकारीकर्मी, एनजिओकर्मी, नागरिक बिनाका नागरिक समाज र पिएचडीवालाको पछाडि डोहोरिए । उनीहरु आफू उक्सिए । दललाई डुबाए । तर, अपसोच ! राजनीतिक दलहरु आजका दिनसम्म पनि स्वार्थपरस्त संजालभन्दा माथि उठ्न सकिरहेका छैनन् । भोलि सक्छन् सक्तैनन् समयले बताउला ।