विराटनगर । नेपाली कांग्रेसको आसन्त भदौ १७ गतेदेखि हुने १४ औं महाधिवेशनको चहलपहल गाउँगाउँसम्म पुगेको छ ।
नेपालको सबैभन्दा पुरानो र स्थापित लोकतान्त्रिक पार्टीको रुपमा रहेको रहेको कांग्रेसको महाधिवेशनको चर्चा भइरहँदा मोरङको जिल्ला तथा विराटनगर महानगरपालिकाको सभापतिका लागि दौडमा थुप्रै नेताहरु लागेका छन् ।
अधिवेशनको कार्यतालिका अनुसार साउन १२ गते वडा, १६ गते नगरपालिका र गाउँपालिका, २० गते संसदीय निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रमा २३ गते चुनाव हुनेछ । यसैगरी, जिल्लाको निर्वाचन साउन २६ गतेको लागि तय गरिएको छ ।
मोरङमा नेपाली कांग्रेसका १४ हजार २५५ जना नयाँ क्रियाशिल सदस्य थपिएका छन् भने पुराना क्रियाशिल सदस्यको संख्या १६ हजार २५५ रहेको छ । यसरी हेर्दा मोरङमा ३० हजारको हाराहारीमा क्रियाशिल सदस्य पुगेका छन् । ति सदस्यहरुबाट निर्वाचित जिल्लाका झण्डै ३ हजार क्षेत्रीय प्रतिनिधिहरुको मतदान प्रक्रियाबाट सभापतिसहित जिल्ला समितिको चयन हुनेछ ।
को–को छन् चर्चामा ?
कांग्रेसको १३ औं अधिवेशनबाट मोरङको सभापतिमा डिकबहादुर लिम्बू निर्वाचित भएका थिए । उनले कांग्रेसका पुराना नेता गोपालराज भण्डारी र युवा नेता केदार कार्कीलाई पराजित गरेर सभापति बनेका हुन् ।
यसपटकको अधिवेशनबाट पनि लिम्बूले आफूलाई सभापतिको दाबेदारको रुपमा अगाडि सारिरहेका छन् । यसअघि पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट चुनाव जितेका लिम्बू यस पटक भने देउवा इतर पक्षमा लागेका छन् । बौद्धिक, शालिन र मिलनसार नेताको रुपमा परिचित लिम्बू २०७० दोस्रो संविधानसभामा मोरङ क्षेत्र नम्बर ९ बाट निर्वाचित सदस्य हुन् भने २०७४ सालको संघीय संसदको निर्वाचनमा पराजित उम्मेदवार हुन् ।
सभापतिको दौडमै अर्का पुराना, इमान्दार र निष्ठावान नेताको छवि बनाएका गोपालराज भण्डारीको पनि चर्चा छ । यस्तै विद्यार्थी नेताबाट उदाएका १ नम्बर प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक रहेका केदार कार्की पनि जिल्ला सभापतिको दौडमा रहेको बताइएको छ । यसका साथै वर्तमान कांग्रेस मोरङका सचिव नागेश कोइराला पनि सभापतिका आकांक्षी हुन् । यस्तै राणाशासन विरोधी आन्दोलनमा समेत सहभागी भएका शम्भुप्रसाद रिजालका छोरा निरन्जनप्रसाद रिजाल पनि सभापतिको रुपमा चर्चामा छन् । उनी नेपाली कांग्रेसको संघर्षशील क्षणमा सँधै सहभागी भएका पुराना नेता पनि हुन् । उल्लेखित लिम्बू, भण्डारी, कार्की, कोइराला र रिजाल सबै देउवा इतर प्यानलका नेताहरु हुन् । अन्तिम सयमा आफ्नो समूहबाट एकै जना उम्मेदवार बन्ने सो समूहका नेता नागेश कोइराला बताउँछन् । ‘हामी क्रियाशिल सदस्यताको टुंगो लगाउन लागिरहेका छौं, यसपछि आफ्नो समूहमा छलफल गरेर एउटै उम्मेदवारको टुंगो लगाउँछौं,’ कोइरालाले भने, ‘म पनि सभापतिको लाइनमा छु ।’
वर्तमान सभापति लिम्बूले पनि सबैको सहमतिमा नेतृत्व चयनको प्रयास गरिने र छलफलबाटै उम्मेद्वारको पनि टुंगो लाग्ने बताए । ‘क्रियाशिल सदस्यताको टुंगो लागोस् अनि हामी बसेर सबै विषयको टुंगो लगाउँछौं,’ लिम्बूले भने, ‘साथीहरुले के भन्नुहुन्छ, कसो गर्दा राम्रो हुन्छ त्यही ढंगले म अगाडि बढ्छु ।’
यता, पार्टी सभापति शेरबहादुर देउवा लाइनबाट दिलिप गच्छदार र रमेशजंग रायमाझी मोरङ सभापति बन्ने दाउमा छन् । गच्छदारलाई पार्टी सभापति देउवाको मात्रै नभएर यसअघि राप्रपाबाट कांग्रेस प्रवेश गरेका सुनिल थापा र फोरम लोकतान्त्रिकबाट कांग्रेसमा मिसिएका विजयकुमार गच्छदारको पनि समर्थन रहेको बुझिएको छ । थारु तथा मधेशीको बाहुल्य रहेको मोरङमा गच्छदारलाई अगाडि सारिए कोइराला प्यानललाई भारी पर्नसक्ने विश्लेषण गरिएको छ । ‘गच्छदारलाई पार्टी सभापतिले समर्थन गरेका छन्, यस्तै जिल्लामा अमृत अर्याल, विजयकुमार गच्छदार तथा सुनिल थापाहरुले समर्थन गर्दा सशक्त ढंगले अगाडि आउन सक्ने देखिन्छ,’ एक जना कांग्रेस नेताले भने । गच्छदार पनि २०७० सालको संविधानसभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएका थिए ।
यस्तै हाल राष्ट्रियसभा सदस्य रहेका रमेशजंग रायमाझी पनि देउवा लाइनबाट जिल्ला सभापतिको दौडमा रहेका छन् । जिल्लामा देउवाको पक्षमा खरो उत्रने रायमाझी ०३६ सालदेखि कांग्रेसमा लागेका नेता हुन् ।
मोरङ कांग्रेसको राजनीतिमा कोइराला खेमाको बर्चस्व रहेको चर्चा हुने गरेको छ । तर, सोही खेमामा भएको गुटउपगुटले सो समूहलाई यसअघि कमजोर बनायो । हाल केन्द्रमा शेखर कोइराला, सशांक कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य, गुरु घिमिरेलगायतका नेताहरु एकीकृत ढंगले जाने परिस्थिति बनेको खण्डमा मात्रै जिल्लामा पनि जित्न सकिने सो समूहको विश्लेषण छ । सोही अनुसार एकताबद्ध बनाउने तयारीमा नेताहरु दौडधूप गरिरहेका छन् । स्रोतका अनुसार कोइराला पक्षबाट अन्तिममा डिकबहादुर लिम्बूलाई नै कांग्रेसको सभापतिमा एक्लो उम्मेदवार बनाउने सम्भावना रहेको छ ।
‘अधिवेशन मज्जाले लागेको छ, शेखर कोइराला सभापतिमा उठ्ने चर्चा चलिरहेको बेला उनैलाई सभापति बनाउनुपर्छ भन्ने कांग्रेसीहरू धेरै रहेको कारण मोरङमा कोइराला पक्ष नै भारी हुने देखिन्छ,’ सो पक्षका एक नेताले भने, ‘त्यसका साथै महेश आचार्य, मिनेन्द्र रिजाल र शेखरबीच केन्द्रमा नै सहमति हुने सम्भावना भएको कारण र यसअघि देउवा प्यानलबाट सभापतिमा विजयी भएका डिकबहादुर लिम्बू पनि कोइराला प्यानलमा आएका कारण जित सुनिश्चित छ ।’ यता, देउवा पक्षबाट भने गच्छदार नै उम्मेदवार हुने कांग्रेसीहरु बताउँछन् ।
यी बाहेक मोरङ सभापतिको चर्चामा कांग्रेस मोरङका पूर्वसचिव मदन संग्रौला, यदु विष्ट पनि रहेका छन् । उमेदवारको रुपमा चर्चामा उनीहरू सबैले चुनावी अभियानलाई तीव्रता पनि दिइरहेका छन् ।
क्षेत्रीय प्रतिनिधि चयनबारे विधानमा कस्तो व्यवस्था छ ?
क्षेत्रीय प्रतिनिधिको सहभागीताको लागि विधानको परिच्छेद–३ मा व्यवस्था गरिएको छ । उक्त परिच्छेदको ३ मा गाउँपालिका वडा क्षेत्रबाट क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्बन्धी व्यवस्था छ ।
परिच्छेद ३ (क) १ अनुसार एकसय पचास वा सोभन्दा कम क्रियाशील सदस्य भएको वडामा गाउँपालिका वडा अधिवेशनले क्रियाशील सदस्य मध्येबाट प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशनका लागि कम्तिमा तीन जना महिला सहित नौं जना प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्नेछ । यस्तै परिच्छेद ३ (क) २ मा एक सय पचास भन्दा बढी क्रियाशील सदस्य भएको अवस्थामा भने वडामा बढीमा पचहत्तरको सीमा भित्र रही प्रति एक सय थप क्रियाशिल सदस्यमा दुई महिलासहित छ जना थप प्रतिनिधि प्रत्यक्ष निर्वाचित गर्ने व्यवस्था छ ।
परिच्छेद ३ (ख) अनुसार महिला, दलित, आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्रबाट (क) बमोजिम प्रत्यक्ष निर्वाचित हुने सदस्य संख्याको दुई तिहाई संख्यामा वडाको जनसंख्याको बनोट अनुसार समानुपातिक आधारमा तोकिए बमोजिम प्रतिनिधि निर्वाचित गर्नेछ । भने परिच्छेद ३ (ग) मा वडा सभापति प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन प्रतिनिधि हुनेछन् ।