नेपालको सम्बन्धमा समृद्धि र समाजवादको चियोचर्चा गर्दा वा छलफल गर्दा हामीले हाम्रो संविधान २०७२ को समाजवादउन्मुख भन्ने वाक्यांशमा ध्यान केन्द्रित गर्न आवश्यक हुन्छ । यसअर्थमा समाजवादको संरचना, स्वरुप र किसिमलगायत नेपालमा स्थापित गरिने समाजवाद नेपालको मौलिकताहरु, विषेशताहरु र विशिष्टताहरु अनुरुप के कस्तो हुने र कसरी स्थापित गर्न सकिने भनेर छलफल र विमर्शको शिलशिला निरन्तरताको विषय हुनुपर्ने हो । तर, सुशासन र समृद्धिको नयाँ जलप लगाएका नारासमेत देखा परेका छन् । जसले गर्दा समाजवाद, समृद्धि, सुशासन, र विकासरुपी बहुआयामिक तर सिंगो लक्ष्यतिर समग्र राष्ट्रको मनोनैतिक अडान डोरिन पुगेको छ । तर, हामीले आत्मसाथ गर्नुपर्ने कुरा के हो भने ‘वैज्ञानिक समाजवाद’लाई पन्छाई सकेपछि नेपाली विशेषताअनुरुप ल्याइने समाजवाद, समृद्धि र विकास वास्तवमा एउटै घरको फरक फरक पाखाहरु र लाछी मात्र हुन् । जसमध्ये कुनै पाखा वा लाछीको अभावमा वा अपूर्णतामा सिंगो घर नै अधकल्चो हुन जानेछ । र यस्तो अधकल्चो तबरबाट निर्मित घर चुहिने, मक्किने, भत्किने वा लडेर झ्याउ लाग्ने एवम् हुरी बतास आउँदा घरको अपूर्णतायुक्त पाखा, लाछी र डाँडाभाटाहरु हावा हुरीले उडाउनसक्ने सम्भावना रहनजान्छ ।
यसै कारणले गर्दा घर निर्माणकर्ताले घर निर्माण गर्नु अगावै घर निर्माणका निमित्त उपयुक्त कार्यनीति र त्यसको सम्पादन व्यवस्थाको गुरुयोजना पूर्णविज्ञता र पोख्ततायुक्त तवरबाट गर्न अनिवार्य हुन्छ । त्यसैगरि देशको विकास, समृद्धि र समाजवादका निमित्त पनि कार्यनीति र त्यसको व्यवस्थापन र कार्यान्वयन नीतिको गुरुयोजनाको अभावमा चिताएको लक्ष्य प्राप्त गर्न सकिदैन । यसअर्थमा विकास, समृद्धि र समाजवादको प्रथम तगारो भनेको यसको निमित्त चाहिने कार्यदिशा व्यवस्थापन र सम्पादनका लागि चाहिने गुरुयोजना निर्धारण हुन नसक्नु नै हुनेछ । यस दृष्टिकोणबाट विवेकयुक्त विश्वासिलो र भरपर्दो कार्यदिशायुक्त गुरुयोजना नभएको दल वा दलहरुले मुलुक र समाजलाई चिताए बमोजिमको गन्तव्यतिर हाँक्नसक्ने कुरा नै आउदैन । यसो भन्नुको अर्थ दल वा दलहरुले सक्षम कार्यदिशाले मात्र मुलुक र समाजलाई चिताएको बमोजिमको लक्ष्यतिर हाक्न सक्दछन् । यसका साथै कुनैपनि दल वा दलहरुको कार्यदिशाको संरचना र स्वरुप उसको कार्यदिशाको सार वा गुदी (फर्म र सबटान्स) मा सामन्जस्यता पनि उत्तिकै अनिवार्य हुने गर्दछ । नत्र ‘.. गिट्ठाको बोट रोपेर कँहा फल्दछ कागति’ वा मिथिला क्षेत्र भित्रको प्रचलित उक्ति ‘रोपे पेड बबरके तो आम काहाँसे होय’ सार्थक हुन पुग्नेछ ।
त्यसैले दल वा दलहरुको र सत्ता र शक्तिमा संलग्न नेकपाका राजनितिक कार्यदिशा स्पष्ट, यथार्थतामा आधारित पोख्तता र दक्षतायुक्त हुन सकेन भने वा भएपनि त्यसको सम्पादन वा कार्यान्वयनमा संलग्न हुनुपर्ने निर्वाचित जनप्रतिनिधिरुपी फौजी इमान्दार, अनुशासित, कार्यकुशल, उत्तरदायी नभएर अनुत्तरदायी, अनुशासनविहिन, अमर्यादित र असभ्य तथा लोभीपापीहरु मात्र हुनपुगे भने र आफ्नो तथा आफ्नो परिवारको भविष्य पुराण लेख्न मात्र प्रयत्नशिल हुनपुगे भने कार्यदिशामा निहित यिनै चरित्रहरुको कारणले गर्दा समृद्धि विकास र समाजवादका लक्ष्यको बाटोमा अयोग्यता र असक्षमतारुपी दोस्रो तगरो उभिन आउने कुरा प्रष्ट छ । त्यसकारण राजनीतिक कार्यदिशासितै त्यसको व्यवस्थापन र कार्यान्वयनमा संलग्न दल वा दलहरुको चरित्रले राष्ट्रकै सिंगो चरित्रलाई निर्धारण गरिरहेको छ । यस्तो चरित्र भनेकै दल वा दलहरुको राजनीतिक कार्यदिशाको गुदी हो । यस प्रकारको गुदी राजनीतिक कार्यदिशाको संरचना र स्वरुपसित मेल खाएन र राजनीतिक कार्यदिशाको गुदी शोषण, उत्पीडक, साम्राज्यवादी, नवसाम्राज्यवादी, उपनिवेश वा नवउपनिवेशवादी तथा विस्तारवादीहरुको स्वार्थलाई सहयोग, पु¥याउने, प्रकार वा किसिमको पटकै हुनुहुदैन । बरु त्यस प्रकारका तत्वहरुको स्वार्थहरुको विरुद्धमा पूर्ण रुपमा संकल्पित एवम् प्रतिबद्ध हुनु अनिवार्य हुनजान्छ ।
दलहरुको कार्यदिशा जहिले पनि वर्गीय, जातीय, लैङ्गिक, क्षेत्रीय र साँस्कृतिक विभेद विरोधी हुनुका साथै मुलुकको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वार्थको आधारभूमीमा टेकेर उभिएको हुनुपर्दछ । यसप्रकार खासगरि सत्ता र सरकार अभिभारायुक्त दल (वर्तमान समयमा नेकपा) को निमित्त यो चरित्र समृद्धि, विकास र समाजवादको तगारोहरुलाई पूर्ण निषेध गर्नका निमित्त अनिवार्य रुपमा हुनुपर्ने चरित्र देखापर्दछ । यसअर्थमा दल वा विशेषगरि सत्ता वा सरकार चलाउने दलमा विचारधारात्मक प्रणालीगत, अनुशासनात्मक र मर्यादागत क्षेत्रमा कमिकमजोरी, निष्कृष्टता र संकीर्णता देखापर्नु भनेको तोकिएको लक्ष्यबाट पन्छिनु हो । जनयुद्ध छाडेर र हतियार छाडेर माओवादीले शान्ति सम्झौता गरेतापनि तथा एमालेसित एकतामा जोडिएता पनि कतिपय विचारधारात्मक अडान छाड्न तत्पर हुँदाको अवस्थामा एवम् राजनीतिक धरातलसमेत नेकपाले पूर्ण त्याग गर्ने अवस्था देखापरेमा नेकपारुपी संगठन गल्र्याम–गुर्लुम ढल्न पुग्नेछ । यो संगठन ढल्न पुग्यो भने समृद्धि, विकास र समाजवाद पनि ‘हात्ती आयो– हात्ती आयो तर फुस्स’ हुनुका साथै भारतीय कवियत्री तव्वसुम को कविता बखाद गुलिस्ता कसके बस एकही उल्लु काफी था –हर साखपे उल्लु बैठा है अन्जामे गुलिस्तां क्या होगा ? भन्ने वाक्यांश चरितार्थ हुन पुग्नेछ ।
विकास, समृद्धि र समाजवादको तेस्रो तगारो भनेको माओवादी र एमालेबीचमा हुन पुगेको एकतास्वरुप नै हो । यो एकताले निरन्तरता पाउछ वा पाउँदैन भन्ने कुरामा वर्तमान समयमा जुन प्रश्न देखा परेको छ, त्यसैको उत्तरमा विकास, समृद्धि र समाजवादको भविष्य निर्भर रहेको छ । यसअर्थमा एमाले र माओवादीबीचको एकताले निरन्तरता पाउने कुरा मुख्य हो । वर्तमान समयसम्मको विश्लेषण गर्दा, फेददेखि टुप्पैसम्म यी दुवै दलहरुबीचको एकता चिनी मा दुध वा ग्लुकोज घोलिएजस्तो रसायनिक घोल (केमिकल कम्पाउण्ड) हुनुपर्नेमा ढुङ्गा, काठ, गोरु, बाघ, स्याल र बाख्रा वा न्याउरी तथा सापहरुको सहबास (मेकानिकल मिक्चर) को रुपमा देखा पर्न थालेको छ । किनकी केन्द्रदेखि स्थानीय तहसम्मको पदहरु, दर्जाहरु, मान्यताहरु र आम्दानीमुलक स्थानहरुको बाँडफाँड र आफ्ना मान्छे विशेषको पहुँचका निमित्त दुबै दलभित्र अन्तरविरोध र हानाथापको अवस्था चर्किदै गएको देखा पर्दछ । एउटा दल जनयुद्धलाई मान्यता दिने पक्षमा छैन भने अर्को दल जनताको बहुदलीय जनवादलाई तिरस्कार गर्दछ । एउटा दल एमसीसी कार्यक्रमलाई संसदबाट अनुमोदन गराएर ज्युँका त्यँु नेपाल भित्र्याउन चाहन्छ भने अर्को दल यस आयोजनाका प्रावधानहरुमा संशोधन गर्न उद्यत देखिन्छ ।
सभामुखको चयनमा समेत दुबै दल आ–आफ्नो मानिस ल्याउन खिचातानी गरिरहे । कोही प्रधानमन्त्रीको इच्छानुसार पार्टी चलाउन चाहन्छन् भने कोही पार्टीको इच्छानुसार सरकार चलाउन चाहन्छन् । कोहि अघिपछि भएका दुबै दलका गोप्य सहमतिका पक्षमा छन् भने कोहि छैनन् । यसप्रकारको आपसी मतभेद पदहरुको बाँडफाँडलगायत राजनीतिक नियुक्तिहरुमा समेत छन् । यस्तो अवस्थाले गर्दा सत्ता र सरकारको निमित्त बहुमतप्राप्त गरेपनि विकास, समृद्धि र समाजवादको कुरा थारो गाईमा परिणत हुन्छ की भन्ने यथार्थता देखा पर्दैछ । यसो हुँदा थारो गाईले विकास, समृद्धि र समाजवादरुपी बाच्छो वा बाच्छी ब्याउने कुरै आउदैन । यसैगरि समर्थ र सिपालुले मात्र मूलाको सिन्की खाध्न सक्दछन्, तर फिष्टाले सिन्की खाद्न सक्दैन । त्यसैले विकास, समृद्धि र समाजवाद पनि शक्तिवान र समर्थवान दल वा दलहरुले मात्र स्थापित गर्न सक्दछ । नेकपाको एकता कायम रहिरह्यो र त्यस दलको नेतृत्व कुशलयुक्त, सक्षम र मर्यादित, अनुशासित भएर शक्तिशाली र समर्थ हुनसक्यो भने मात्र चिताएजस्तो विकास समृद्धि र समाजवाद त्यस दलको नेतृत्वमा आउन सक्नेछ । यस्तो एकता र नेतृत्वको आपूर्तिका निमित्त नेकपाभित्रकै अन्तर्य वा घटकका रुपमा रहेको गतिशिल उर्जालाई माध्यमको रुपमा प्रयोग गरेर खाँचोको आपूर्ति गर्दै अविछिन्न श्रृङ्खलाहरु परस्परमा गाँसेर अविछिन्न श्रृङ्खलाको इतिहास सृजना गर्न सक्नुपर्दछ । यसो भयो भने मात्र चिताए अनुसारको लक्ष्य प्राप्त हुनसक्ने छ । विकास, समृद्धि र समाजवादको चौथो तगारोको रुपमा दल वा दलहरुका नेताहरु र कार्यकर्ताहरुमा अन्तरनिहित ‘अस्टाड्रिक प्रवृत्ति’हरु हुन्, जो निम्न बमोजिम छन् ।
१) कुकुरहरु, भेडाहरु र बाँदरहरुको प्रवृत्ति (डगलाइक, सीपलाईक र एपलाइक )
२) बाघेभाग खाने, स्यालेभाग खाने र गिद्धभाग खाने (लायन शेयर, फेक्स शेयर र भलचर शेयर) प्रवृत्ति
३) निच मार्ने (एल इकीलिब्रियम) प्रवृत्ति र गतिहिनता (स्टाटिक इक्विलिव्रियम) को प्रवृत्ति
४) आफू र आफ्नो परिवारका मात्र भविष्य पुराण लेख्ने प्रवृति
५) भिक्षुक वा पराश्रीत मनोविज्ञान साँच्ने प्रवृति
६) नातागोता वाद, भनसुनवाद चाकरी र चाप्लुसीको प्रवृति
७) भाग्यवाद र अन्धविश्वासको प्रवृति
८) स्वदेशमा अल्छी र विदेशमा परिश्रमी हुने प्रवृति
सामाजिक–साँस्कृतिक, राजनीतिक र आर्थिक सबै क्षेत्रमा यस्ता कुप्रवृतिहरुको हालीमुहालीलाई निषेध गर्न बैधानिक वा कानूनी उपाय बाहेक प्राज्ञ, दक्ष र विज्ञहरुको समूहलाई उनीहरुको दक्षता र पोख्तता अनुरुपको दायित्व निर्वाहका निमित्त अवसरहरु प्रदान गर्न सक्नुपर्दछ । यसो गर्दा विज्ञ, दक्ष र विशेषज्ञहरु योग्यता अनुरुपको योग्य ठाउँमा दायित्व निर्वाहमा तल्लिन हुन पुग्नेछन् । जसले देशभित्र लक्षताको शासन (मेरीटोक्रेसी) बहाल हुनपुग्नेछ र प्रत्येक योग्य व्यक्तिको योग्यताको कदर पुग्नेछ । यस्तो मेरिटोक्रेसीको स्थापना हुन नसक्ने भनेको हुक्के, ढोके, द्वारे, आसेपासे र अदक्ष, अपरिपक्व अशिक्षित र मुर्खहरुको शासन अर्थात ‘क्रोनी क्यापिटालिज्म’ को अवस्था सृजना हुनुको जसको उपस्थिति रहेसम्म विकास समृद्धि र समाजवाद एउटा गफ गर्ने मेलो मात्र हुनेछ । त्यसैले मेरिटोक्रेसीको ठाउँमा क्रोनी क्यापिटालिज्म हामीले चिताएको लक्ष्यको महत्वपूर्ण तगारो देखा पर्नेछ ।
विकास समृद्धि र समाजवादको पाँचौं तगारो वा चुनौती भनेको अधमहरुको शासन, जसलाई ‘केकिस्टोक्रेसी’ भनिन्छ । त्यसको उपस्थिति हुनु हो । यसप्रकारको शासनको अर्को नाम क्लिप्टोसिज्म हो । जो वास्तवममा एउटा भ्रष्ट शासन पद्दति हुनेगर्दछ । यस शासन पद्दतिमा भ्रष्टताका निम्न क्षेत्र हुने गर्दछन् ।
१) बिचौलीयागिरीको हालिमुहाली वा अदृष्य हातहरुको मार्गदर्शनको शासन ।
२) एकाधिकारवादी वा सिण्डिकेटवादीको शासन ।
३) आर्जनमुलक वा उत्पादनमुलक क्षेत्रमा अधिनायक वा माफियागिरीको शासन ।
४) भ्रष्ट कर्मचारीतन्त्रबाट प्रत्यक्ष वा अप्रत्यक्ष घुसको लेनदेनबाट चलेको शासन ।
उपरोक्त चार स्थितिहरुको नेपालमा उपस्थिति रहेसम्म नेपालको विकास, समृद्धि र समाजवाद प्राप्त गर्ने लक्ष्य कहिल्यै पुरा हुन सक्दैन ।
विकास, समृद्धि र समाजवादको सबैभन्दा अन्तिम उल्लेखनीय तगारो भनेको ‘भारतको नेपाल नीति’ हो । भारतको नेपाल नीतिको कारणबाट नेपाल निरन्तर शिकारी कुकुरले लखेटेको खरायोजस्तो हुने गरेको छ । जसरी कुकुरको लखेट्याँईमा परेको खरायोले उभिएर ढुक्कसँग गाँजर र दुवो खान भ्याउदैन, ठीक त्यसैगरि राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता, अखण्डता र सार्वभौमिकताको राष्ट्रिय स्वार्थको तल्लिनतामा निरन्तर डुबेको देशले आफ्नो राष्ट्रिय तल्लिनताबाट फुक्का मनस्थिति नबनेसम्म विकास, समृद्धि र समाजवाद विषयको तल्लिनता लिनसक्ने कुरा नै आउदैन । भारतको नेपाल नीति निम्न विषयवस्तुहरुमा नेपाल सजग र सतर्क नरहेसम्म नेपालले आफ्नो स्वाधिनता, स्वतन्त्रता र सार्वभौमिकता वा अखण्डता सजिलै गुमाउन सक्नेछ ।
१) भारत परिवेशिष्ठटताको परिणाम
२) खुल्ला सीमानाको दुष्परिणाम
३) असमान सन्धिहरुबाट श्रृजित परिणाम
४) फिजीकरण हुने सम्भावना
५) हाईब्रिड वार वा भलभेट वारमा पार्न गरिने भारतीय उद्योगको परिणाम
६) भारतीय उक्साहटमा हुनसक्ने बिखण्डनको सम्भावना (सिभिल एट वार )
७) नेपाली राजनिति र नेपाली सीमानामा गरिने भारतीय चलखेल र थिचोमिचो ।
भारतको नेपाल नीतिको यी सप्ताङ्गहरुको उपस्थितिले गर्दा नेपालको समृद्धि, विकास र समाजवादको सपना सत्यतामा परिवर्तित हुनसक्ने सम्भावना ज्यादै न्यून छ । नेपालको अत्यधिक जलस्रोतलगायत अन्य प्राकृतिक स्रोतहरुमाथि एकाधिपत्य कायम राख्ने उद्देश्यबाट प्रेरित हुनुको साथै नेपालभित्र चिनियाँ प्रभावलाई रोक्ने उद्देश्य वा नेपाली भूभागको सामरिक महत्वलाई मध्यनजर गरेर भारत नेपालसित रोटिबेटीको साइनो लगाएर विशेष सम्बन्ध रहेको वा साँस्कृतिक समानताको दृष्टिकोणबाट एउटै भएको कारण अघि सारेर नेपालभित्र धेरैभन्दा धेरै भारतीय आप्रवासीहरु पूर्वपश्चिम र दक्षिणतिरको खुला सीमानाबाट नेपाल छिराएर, उनीहरुलाई नेपाली नागरिकता दिलाएर केहि वर्षपछि उनीहरुको जनसंख्या नेपालको मुल जनसंख्याभन्दा अत्यधिक पुगेपछि फिजिमा जस्तै भारतीय मुलका बासिन्दा शासन स्थापित गर्न उद्यत रहेको देखा पर्दछ । (हेर्नुहोस्, लेखकको पुस्तकः भारतको नेपाल नीति)
यसबाहेक नेपालको विकास, समृद्धि र समाजवादको लक्ष्य निर्धारण गर्दा यस्तो खुला सीमानाबाट बिनारोकतोक भित्रने गरेका र नेपाली नागरिकमा परिवर्तित हुने गरेका असंख्य भारतीयहरुको समेतको भविष्यलाई ध्यानमा राखेर विकास, समृद्धि र समाजवादको योजनाहरु र बजेट निर्धारण गर्नुपर्ने हुन्छ । के यसो गर्नका निमित्त प्रशसस्त क्षमता छ त ? छैन भने यो तगारोलाई नपन्छाएसम्म नेपालले आफ्नो लक्ष्य हासिल गर्न सक्दैन ।
उपरोक्त तगारोहरुबाहेक आधुनिक नवउपनिवेशको विकासोन्मुख देशहरुलाई आफ्नो पिछलग्गु, आश्रित र आफ्नो बजार बनाउने उद्देश्यसहित (क) आफूलाई चाहिने प्राकृतिक सम्पदाहरु र स्रोतका निमित्त (ख) अरुको स्थानीय बजारमा आफ्नो माल बेच्नका निमित्त (ग) सस्तो श्रम प्राप्त गर्नका निमित्त (घ) आफ्ना गतिविधिहरुलाई पर्यावरणलगायत अन्य प्रतिबन्धहरुबाट मुक्त राख्न (ङ) साँस्कृतिक हस्तक्षेप, सामरिक महत्व भएको क्षेत्रमा बर्चश्वका लागि तथा प्रतिभा प्रवास वा विकासशिल देशका प्रतिभाहरु वा दक्ष र विज्ञहरुलाई आफ्नो देशमा भित्रन आकर्षण दिनका निमित्त र (च) प्रदुशषण हस्तान्तरणका निमित्त आफुसँग भएको पूँजी र प्रविधि सहयोग दिने प्रलोभन दिएर अन्य विकासोन्मुख मुलुकलाई बधिया बनाउने योजना विस्तार गर्दछन् । यसलाई नै हाईब्रिड वार भन्ने गरिन्छ । यसको वर्तमान उदाहरण एमसीसी कार्यक्रम हो । जसका प्रावधान र शर्तहरु र प्रावधानहरुको स्वीकारोक्तिमा कुनैपनि विकासोन्मुख देशको स्वाधिनता, सार्वभौमिकता र स्वतन्त्रतामा आँच पु¥याउने खालका छन् । यस्तो हाईब्रिड वारको चपेटामा पर्दा मोटोघाटो त हुइन्छ । तर, देशको हैसियत पट्टा बाँधिएको कुकुरजस्तो मात्र हुन पुग्नेछ । यस्तो अवस्थामा विकास, समृद्धि र समाजवादको लक्ष्य गफ गर्ने विषयवस्तु मात्र रहन जानेछ ।