आजबाट एसईई अर्थात् प्रवेशिका परीक्षा । धेरै विद्यालय मालिकहरु दौडा–दौडमा छन्, यतिखेर । माालिकहरु यसरी दौडादौडमा गर्नुको पछाडि ठूलो स्वार्थ लुकेको छ, यहाँ । जतिसक्दो धेरै विद्यार्थी, त्यो पनि उत्कृष्ट श्रेणीमा उत्तीर्ण गराउने प्रमुख धेय छ, उनीहरुको । चाहे त्यो साम, दाम, दण्ड, भेद जे गरेर होस् । केहीलाई छोडेर धेरै लोभीपापी मार्काका मालिकहरुको राज चलेको छ, शैक्षिक क्षेत्रमा । आजकाल व्यापारको टेडमार्क बनेको छ, नेपालको शैक्षिक क्षेत्र ।
विद्यालयको कथित साख जोगाउने नाममा गाँठ कुम्ल्याउने प्रपच्च नै चलेको छ, यहाँ । जसले शिक्षाको ठेक्कापट्टाको जिम्मा लिएको डिङ हाक्ने गरेका छन् । हप्ता दिनसम्म उनीहरुलाई चैन हुँदैन, निद हराम हुन्छ रे नि त । यसमा पनि विशेष त निजी विद्यालयलाई बढी चटारो परेको छ । शिक्षालाई सेवा नभई व्यापार व्यवसाय गर्नेहरुका लागि अहिले असारे धमाधमले छोपेको अवस्था हो ।
यसपटकको एसईई विगतभन्दा केही त भिन्न हुनुपर्ने हो । किनकि नेपाली मनलाई कोरोनाले नराम्रोसँग कोपरेको छ, यतिबेला । कोरोनाको त्रासले तपाइँहाम्रो मन–मष्तिकमा मनग्गे डेरा जमाएको छ । त्यो त्रासले परीक्षार्थीहरुको मन पनि अछुतो हुने अवस्था रहँदैन । त्यो मनोविज्ञानलाई दूर गर्न सरकारले परीक्षा केन्द्रमै हेल्पडेक्सको व्यवस्था गरेको अनुमान लगाउन सकिन्छ । विगतमा भने यसखाले विशेष व्यवस्थाको प्रबन्ध गरिएको थाहा पत्तो छैन ।
कोरोनाको त्रास फैलाएर वा देखाएर यसपटक पनि परीक्षामा बेविचारीहरु उत्तिकै सलबलाउन र सक्रिय हुन सक्छन् । चाहे ती कथित शिक्षक हुन् वा कथित अभिभावक वा कथित परीक्षक वा अरु जो कोही । परीक्षाको अर्को पाटो हो, सुरक्षा । परीक्षाहल र परीक्षक र परीक्षार्थीहरुको सुरक्षा महत्वपूर्ण हुन्छ । त्यसलाई पनि सरकारले विगतभन्दा बढी सजकता अपनाउनु जरुरी छ ।
आजको दोस्रो प्रसंग हो, नोबेल कोरोना भाइरस अर्थात् कोभिड १९ । कोरोनाविरुद्ध प्रदेश वा स्थानीय सरकारले कत्तिको भरपर्दो काम गर्दैछन् त ? ती सरकारबाट आमनागरिक कत्तिको विश्वस्त छन् त । यो नै यतिखेरको गाँठी कुरो हो । तसर्थ विश्वसनीय बनाउन के कति काम भए त । त्यो प्रष्ट हुन जरुरी छ ।
त्यस्तै कोरोनाबारे हाम्रो स्थानीय सरकार अर्थात् विराटनगर महानगरपालिकाले कस्तो भूमिका निर्वाह गरिरहेको छ त ? प्रदेश ३ स्थित भरतपुर महानगरपालिकाले त ७२ घण्टाभित्रै कोरोना भाइरसविरुद्ध अस्पताल खडा गर्ने निर्णय गरेछ । कार्यान्वयन कत्तिको हुन्छ, त्यो देख्न वा सुन्न ७२ घण्टा जति कुर्नुपर्ला ।
प्रदेश १ का महानगर, उपमहानगर र नगरपािलकामा स्वास्थ्य सेवामा कत्तिको जिम्मेवार र संवेदनशी छन् ? यस्तै आपत्तविपत्त परेको बेला देखिने हो,m यिनीहरुको खुट्टी दरा छन् कि लुला । सेवाभावका छन् वा बेवास्तातिरका । गम्भीर छन् वा लापरवाह । दूधको दूध पानीको पानी खुट्याउने न्यायाधीश त जनता हुन् है, ख्याल गरेस् ।
कोरोनाको त्रास भित्रिएको महिनौंपछि बल्ल प्रदेश सरकारले उसैको राजधानी विराटनगरमा बजार अनुगमन गरेको समाचार बाहिरियो । ग्यास र पेटोलियम पदार्थको हाहाकार भएर उपभोक्ता हैरान भएको उसलाई बल्ल पो थाहा पत्तो भएछ क्यारे । कालोबजारी गर्नेहरुले यसअघि राम्रैसँग लुट्ने मौका पाए वा मौका दिइयो । मास्कदेखि ग्याससम्म चर्को मोलमा बेचिहाले ऽ उपभोत्तालाई परो सास्ती ।
हाम्रो महानगर त बेखरबर छ, यस मामिलामा । खै कता हरायो, महानगरको त्यत्रो शक्ति अनि फुर्तिफार्ति ? स्थानीय सरकारले पनि त राम्ररी गरिखान जान्नु नि जनतालाई आपतकाल आइलागेको बेला । न बजार अनुगमनमा तदारुकता छ न सार्वजनिक सेवाका क्षेत्रमा दायित्व निर्वाह गर्ने उत्सुकता छ । न सुपथ मूल्यका पसल । बडो विचित्र, भनी साध्य छैन ।
बजारमा क्रमशः दैनिक उपभोग्य वस्तुको अभाव भित्रिदैछ वा भित्र्याइँदैछ । केही अत्तोपत्तो, थाहा सुद्धि छैन, बजार बजारमा सिंहदरबार चलाउनेहरुलाई । गाउँ–गाउँमा सिंहदरबार चलाउनेको त कुरै छोडौं । अचम्म ! आश्चर्य ! उल्टै व्यापारीहरुले पो सरकारसँग राहत मागिसके । कोरोनाले व्यापार फस्टाएन रे नि । तब त राहत चाहियो । सहुलियत चाहियो । सर्वसाधारण भने मरेको मरै । जताबाट पनि पिरमर्का खप्ने त एउटै पक्ष सर्वसाधारण जहिले पनि । महंगीको मार पनि उनीहरुले नै थेग्ने हो, जति नै बढी भए नि ।
महामारी वा आपतविपत्तको बेला मालामाल हुने व्यापारी बाहेक अर्को पक्ष पनि छ । चाहे नाकाबन्दीको बेला होस् वा भूकम्पको बेला । त्यो पक्ष निकै सशक्त र प्रभावकारी पनि छ, कमाउधन्दामा । त्यो कमाउधन्दामा माहिर र शक्तिशााली पक्ष हो, भ्रष्ट कर्मचारीतन्त्र । जसले मन्त्री पद पनि खाइदिन बेर लाउँदैन, आफ्नो स्वार्थमा ठेस लागेको बेला । भनिन्छ नि जो कमजोर छ, त्यहीबेला उसमाथि प्रहार गरिन्छ । अनि आफू सबल र सक्षम भएको डंका पिटिन्छ । विज्ञापन गरिन्छ, भएभरको मरमसला हालेर । सस्ता र गुणस्तरहीन मालवस्तु बेचिन्छ, भ्रमको आकर्षक खेती गरेर । जनमनमा सरकारहरुको खडेरी पल्टेको विचित्र अवस्था । अब चाहिं मित्रमिलनमा १० औली जोडौं र मित्रभण्डारको जोहो गरौं है ।