झन् जटिल बन्दै पानी समस्या

हामीले शायदै सोचेका थियौं कि पानी बोतलमा बोकेर हिँड्नुपर्छ । अझ नेपाली संस्कारीहरुले त यो पनि सोचेका थिएनन् की पानीको किनबेच हुन्छ । तर, पानी एउटा बहुमूल्य बस्तु भएको छ । विश्वमा सानादेखि ठूल्ठूला लडार्इंहरु पानीका लागि हुनथाले । पानीको अभाबबाट सिर्जित समस्याले मानव समुदायसहित जैविक संसारकै अस्तित्वको प्रश्न उठ्न थालेको छ । विकासको विनाशकारी रुप र अन्धोपनले पनि हाम्रो पानीलाई चेपिदियो र स्रोतहरुलाई मासिदियो । त्यस्तै प्राकृतिक र कृत्रिम क्रियाकलापबाट जलवायु परिवर्तन हुनथाल्यो, यसले पनि उग्र रुप लिएर तीब्र रुपमा गति लियो र पानीलाई हान्यो । अनि त यावत् पानीसम्बन्धी समस्याहरु मौलाए ।

पहिल्यैदेखि भनिएको थियो कि २१ औँ शताब्दीमा पानी पाउनका लागि संघर्ष गर्नुपर्ने हुन्छ । अधिकांश ठाउँमा पिउने पानीको अभाव हुने, उपलब्ध भएका ठाउँमा पनि शुद्ध नहुने, पानीका कारण लाग्ने रोगको संख्या र प्रकोपमा बृद्धि हुने जस्ता प्रसस्त समस्या आउने भविष्यवाणी विगतमै गरिएका थिए । सोहीअनुसारका परिणामहरु त देखि नै रहेका छन् । पानीका मुहानहरु सुक्ने हराउने गर्नाले वास्तवमा पानी संरक्षण ठूलो चुनौति बनेको छ । पानीका सन्दर्भको चुनौतिलाई सामना गर्न हामीले प्रकृतिलाई कसरी प्रयोग गर्न सक्छौं भन्ने आजको सवाल हो ।

तीब्र जनसंख्या बृद्धि भएसँगै पानीमा चुनौति थपियो । आजको अवस्थामा विश्वका २ अर्ब १० करोड मानिस सुरक्षित पिउने पानीबाट बञ्चित छन् । दिगो विकासको लक्ष्य–६ ले भन्छ– सन् २०३० पछि यस्तो समस्या रहँदैन । सबै मानिस पिउने पानीको सेवा क्षेत्रभित्र पर्छन् । तर, लक्ष्यमा पुग्न सजिलो भने देखिएको छैन । उद्योगधन्दा, घरबस्ती, खेतीपाती आदिबाट निस्कने ८० प्रतिशत पानी सोझै प्रकृतिमा फालिने गरेको छ । जसले गर्दा प्रकृतिको गर्भमा रहेको पानी दूषित बनिरहन्छ । संसारका १ अर्ब ८० करोड मानिस फोहोर पानी, त्यसमा पनि दिसाको अंशमिश्रित पानी पिउन बाध्य छन् । असुरक्षित पानी र फितलो सरसफाइका कारण हरेक वर्ष करिब ८ लाख ४२ हजार जना मान्छे मर्ने गरेका विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।

संयुक्त राष्ट्रसंघका विभिन्न बैठकहरु, जनसंख्या र विकास सम्बन्धीका विभिन्न संस्थाहरुका सभाहरुले हिसाब निकालेका छन् की सन् २०५० सम्ममा विश्व जनसंख्या २ अर्ब बढ्नेछ । तर, पानीको माग हालभन्दा ३० प्रतिशतले बढ्नेछ । अहिलेकै अवस्थामा पनि करिब १ अर्ब ८० करोड मानिस मरुभूमिकरणको जोखिममा छन् । तिनीहरुलाई निकट भविष्यमा पानी संकट आइलाग्न सक्छ । पृथ्वीको ७५ प्रतिशत भाग पानीले ओगटेको भएपनि किन पानी अभाव हुने ? एउटा तर्क रहन्छ । जवाफ जटिल छैन– जति पानी छ, त्यसको करिब ३ प्रतिशत मात्र खास प्रयोगमा आउनसक्छ । तीन प्रतिशत चाहिँ लवण कम भएको फ्रेस पानी हो, जसलाई पिउन र अरु घरायसी, औद्योगिक र कृषि कर्ममा प्रयोग गर्न सकिन्छ । ९७ प्रतिशत पानी समुद्रमा छ, त्यसलाई पिउनको लागि उपयोगी बनाउन धेरै खर्च लाग्छ । सिँचाइमा पनि उपयोगी मानिदैन । अनि जति फ्रेस पानी छ, त्यसको पनि ३० प्रतिशत त भूमिगत नै छ । भूमिगत पानीलाई उपयोग गर्न उर्जाको आवश्यकता पर्छ । आज संसारको पानी प्रयोगको स्थिति हेर्ने हो भने सिँचाइमा ६९ प्रतिशत, उद्योगमा २० प्रतिशत, घरायसी प्रयोगमा १० र पिउनका लागि १ प्रतिशत भएको पाइन्छ । यति कम मात्रामा चाहिने भएपनि आज मानिस काकाकुल भन्ने अवस्थामा आइपुगेको छ ।

वातावरणमा पु¥याइएको क्षति, जलवायु परिवर्तन, विकास निर्माण, वन विनास, औद्योगिकरण, अव्यवस्थित बसोबासजस्ता कुराहरुले प्रकृतिलाई चुनौति दिइरहेका छन् । जब प्रकृतिमा दोहन गरिन्छ तब पानीका स्रोत हराउने हुन् । अनि पानीचक्रमा समेत उथलपुथल आइदिन्छ । विकासोन्मुख देशहरुमा तीब्र गतिमा विकासका कामहरु भइरहेका छन् । विकास छिटो र छरितो अनि कम बजेटमा गर्ने उद्देश्य लिएर काम गर्दा वातावरण विनास भएको मानिसले थाहा पाएका छैनन् । एकैचोटी नकारात्मक परिणाम देखिएपछि चेत खुल्छ÷खुल्दैछ । सडक निर्माणको कामले संसारमै धेरै वन विनास भएको छ र पानीका मुलहरु सुकेका छन् । घर–घरमा पानी पु¥याउने कार्यले एकातिर विकासको प्रत्याभूति त दिएको छ, नेपालकै सन्दर्भमा पनि । तर, एउटा मूलको पानी थुनेर घरतिर सोझ्याउँदा त्यसको तल्लो क्षेत्रमा पर्ने कतिवटा मूल सुक्छन् भन्ने कुराको हेक्का कमैलाई होला । प्राकृतिक रुपमा रहेको सो मुहानबाट उत्सर्जित पानीले कति जग्गालाई सिँचित गरेर,सिमसार बनाएर वातावरण शुद्धिकरणमा भूमिका निर्वाह गरेको हुन्थ्यो, त्यसले कति मात्रामा भूमिगत पानीको आयतनमा वृद्धि गराइदिन्थ्यो । त्यो मुलको पानीबाट प्राकृतिक रुपमा पानी छानिएर अरु धेरै मुलहरु तल्लो भागमा उम्रिएका हुन्थे । ती पनि सुकेको अवस्था छ । यस्तो समस्या नेपालजस्तो देशमा धेरै देखिएको छ । संसारमा जति सिमसार क्षेत्र थिए, त्यसको करिब ७० प्रतिशत सन् १९०० देखि यता नै मासिएका हुन् । जति मासिए, अधिकांश चाहिँ मानवीय गतिविधिकै कारण भन्ने निष्कर्ष छ । यसर्थ विकासले जलस्रोतलाई विनास गरिरहेको स्थिति हो ।

वायु प्रदूषणका कारण अम्लीय वर्षाले स्थान पाएको छ । अम्लीय वर्षाले गर्दा जलभण्डार समेत अम्लीय बन्न पुगेको छ, जसले पानीलाई पिउन नहुने वा हानिकारक बनाएको छ । भूउष्णिकरण वा पृथ्वीका तापमानमा बृद्धिले गर्दा जलभण्डारको रुपमा रहेको हिमालको हिउँ पग्लिने क्रम तीब्र्र छ । पहाडका टुप्पामा रहेको ठोस पानी विस्तारै रसिएर मधेशका मैदानमा बस्ने मानिसलाई समेत पिउने पानीको स्रोत बन्न सकेको थियो । तर, हिउँ पर्ने क्रम घट्दै आएको र भएको हिउँ पनि छिट्टै पग्लिनाले समस्या आएको छ । जलवायु परिवर्तनका कारण आजकाल जलचक्र नराम्ररी प्रभावित बनेको छ । समयमा पानी नपर्ने, लामो खडेरी लाग्ने, एकैदिन धेरै पानी पर्ने, मनसुनमा गडबडी आउने जस्ता समस्या देखिएका छन् । भूमिगत पानीको प्रमुख स्रोत आकाशको पानी नै । अधिकांश मानिसको पिउने पानीको स्रोत भूमिगत पानी नै हो । तसर्थ वर्षा नियमित भइदिएन भने भूमिगत पानी बन्न सक्दैन । अनि त आजकाल नेपालकै तराई क्षेत्रमा हिउँदमा ट्यूववेलमा पानी सुकेका खबरहरु आइरहेका छन् । जब एकैदिन धेरै पानी पर्छ भने सो पानी सोसिँदैन, बगेर अनि उडेर जान्छ ।

हिमालमा हिउँ जम्न नपाएपछि पूरै जलाधार क्षेत्रमा बाह्रमासे मुलहरु सुक्छन्, साना नदीहरु सुख्खा बनिदिन्छन्, भूमिगत पानी पनि प्रसस्त बन्न सक्दैन । अनि त पिउने पानीको हाहाकार हुन्छ । यसको सुरुआत भइसकेको स्थिति हो । तराईमा विद्युतिकरणसँगै सिँचाइका लागि भूमगित पानी मोटर लगाएर तान्ने प्रवृति बढेको छ । यसबाट कृषिमा र किसानको आर्थिक स्थितिमा केही सुधार भएको अवस्था हो । तर, भूमिगत पानीको नाश पनि भएको छ । यो क्रमलाई रोक्न सरकारले पिउने पानीबाहेक अरु प्रयोजनमा बोरिङ गर्नुपरे सरकारसँग अनुमति लिनुपर्ने नियम बनाएको छ । तथापि यो निष्प्रभावी जस्तो भएको छ । प्रकृतिमाथिको दोहनको कारणले गर्दा पानीमा असर परेको छ भन्ने विश्वका वैज्ञानिकहरुको ठहर हो । प्रकृतिको संरक्षण गर्नसकेको खण्डमा मात्र पानीको संरक्षण हुनसक्छ ।

त्यति मात्र होइन हामीले पानीको प्रयोगमा पनि मितव्ययिता अपनाउनुपर्ने हुन्छ । तपाईँ आफैँ सोच्नुहोस् न नुहाउन ययार्थमा कति पानी चाहिन्छ र कति खर्च गर्नुहुन्छ ? हात धुँदा कति पानी नाश भइरहेको होला ? अनि भाँडा र लुगा धुँदा पनि हाम्रो परम्परागत स्वभाव र अभ्यास कतिको फुर्मासी छ ? यो कुरा विचार गर्न जरुरी छ । एकजनाले दिनमा एक लिटर मात्र पानी फुर्मासी हुनबाट बचाइयो भने एक दिनमा नेपालमा मात्र करिब ३ करोड लिटर जोगिन्छ । जसले विराटनगरका मानिसलाई एकदिन घरायसी काममा पुग्छ । त्यसैले यसतर्फ पनि ध्यान दिऔँ । हरेक वर्ष विश्व पानी दिवस÷सप्ताह मनाइन्छ । यो चालु हप्ता पानी हप्ता पनि हो । यस सन्दर्भमा पानीबारे आफू सचेत भई अलिकता सचेतना अरुलाई पनि बाँड्ने हो कि ।

ramchandra.adhikari@gmail.com

बुधबार, ०५ चैत, २०७६

प्रतिक्रिया:

सम्बन्धित खवर