दुई वर्षदेखि गाउँमै रहेका सोलुखुम्बुका युवामा कोरोना

विराटनगर । प्रदेश १ को उच्च हिमाली जिल्ला सोलुखुम्बमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई वर्षदेखि गाउँमै रहेका सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–८ का एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिनदेखि अस्वस्थ भई उपचारमा रहेका युवाको दुई दिनअघि पीसीआर परीक्षणका लागि काठमाडौं पठाइएकोमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितलाई युवकलाई उपचारका लागि बिहीबार बिहानै एम्बुलेनसमार्फत विराटनगर पठाएको सोलु दुधकुण्ड नगरपालिकाका मेयर नाम्ग्यालजाङ्बु शेर्पाले जानकारी दिनुभयो । संक्रमित युवा फाप्लु अस्पतालको आइसोलेसनमा उपचाररत थिए ।

प्रमुख जिल्ला अधिकारी रमा आचार्यका अनुसार ती युवक दुई वर्षदेखि गाउँबाट बाहिर गएका छैनन् । उनमा कहाँबाट कोरोना सर्यो भन्ने खोजी सुरु गरिएको र परिवारसहित सम्पर्कमा रहेका व्यक्ति र उपचारमा संलग्न स्वास्थ्यकर्मीको स्वाब परीक्षण गरिने उहाँको भनाइ छ ।

योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३० पुगेको छ भने ८ जिल्लामा संक्रमण फैलिएको छ । प्रदेशको झापामा ७९, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३० जना उपचार पछि घर फर्किएका छन् ।

बिहिबार, १५ जेठ, २०७७, दिउँसोको ०३:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर