अब संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने

विराटनगर । कोरोना संक्रमितको संख्या बढेसँगै प्रदेश १ मा संक्रमितलाई वर्गीकरण गरेर उपचार गरिने भएको छ ।

कोरोनाको लक्षण देखिएकालाई कोभिड अस्पताल र रिपोर्ट पोजेटिभ आएकालाई आईसोलेसन केन्द्रमा राखेर उपचार गर्ने प्रदेश सरकारको तयारी छ ।

विरामीलाई वर्गीकरण गरेर उपचार गर्ने तयारीसँगै प्रदेश सरकारले ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र निर्माण गरिरहेको छ । संक्रमितको संख्यामा बृद्धि भएसँगै संक्रमितलाई वर्गीकरण गरेर उपचार गर्ने तयारी शुरु भएको हो । विराटनगर र सुनसरीको धरानमा कोभिड अस्पताल तयार गरि प्रदेश सरकारले संक्रमितको उपचार गरिरहेको छ भने झापाको मेची अस्पतालमा पनि कोरोना उपचार गर्ने अस्पताल तयार गरिदैछ ।

प्रदेश सरकारले पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँ, झापाको दमक, सुनसरीको वराहक्षेत्र र नेपाली सेनाको पुर्वी पृतना इटहरीमा ४ सय ५० वेडको आईसोलेसन उपचार केन्द्र तयार गरिरहेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिनुभयो । अब कोरोना लक्षण नदेखिएका संक्रमितलाई कोभिड १९ उपचार केन्द्रमा लगिनेछैन ।

संक्रमितको उपचार बर्गीकरण गरेर गर्नेगरि आवश्यक मार्गदर्शन र निर्देशिका प्रदेश सरकारले तयार गरिसकेको मन्त्री घिमिरेले बताउनुभयो । प्रदेशमा पुल विधिबाट कोरोना परीक्षणको काम सुरु भएको जानकारी दिँदै उहाँले परीक्षणको क्षमता बढेसँगै आवश्यक सामाग्रीको भने अभाव भएको बताउनुभयो ।

प्रदेश १ मा जेठ र असारभित्रमा ७० हजारको पीसीआर परीक्षण गर्ने मन्त्री घिमिरेको दावी छ । ४० हजार प्रदेशवासी र ३० हजार भारतबाट आउनेको परीक्षण गर्ने उहाँले बताउनुभयो । प्रदेशमा कन्ट्याक टे«सिङ, टेष्टिङ र ट्रिटमेन्ट गर्ने टिम अलर्ट रहेको छ ।

बुधबार, १४ जेठ, २०७७, बिहानको ०८:३२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर