विराटनगर । प्रदेशसभाको छैठौं अधिवेशन जेठ १४ गतेबाट सुरु हुँदैछ । प्रदेशसभाको बैठकमा प्रवेश गर्न कोरोना संक्रमण नभएको प्रमाणपत्र अनिवार्य गरिएको छ ।
बैठकमा सहभागी हुन अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने भएपछि सभामुख, उपसभामुख लगायत ७९ जना प्रदेशसभा सदस्यहरुको स्वाब परीक्षणका लागि संकलन भइसकेको छ । प्रदेशसभाका १४ जना सदस्यहरुको स्वाब संकलन र परीक्षण गर्न बाँकी रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
शुक्रबार र शनिबार संकलन गरिएको स्वाब आइतबार अपरान्ह ४ बजेटबाट परीक्षण थाल्ने बताइएको छ । त्यसको रिपोर्ट राती अबेर मात्र आउनेछ ।
बाँकी रहेका प्रदेशसभा सदस्यहरुको परीक्षणका लागि प्रयोगशाला प्रमुखसँग सोझै सम्पर्क गरेर सांसदहरुले आफैंले गराउन सक्ने गरी प्रवन्ध मिलाएको प्रदेशसभाका सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेशसभा सचिवालयका कर्मचारीहरु, त्यहाँ कार्यरत मर्यादापालक, सुरक्षाकर्मी, मन्त्री, समितिका सभापतिहरु तथा सुरक्षाका सवारी साधनका चालक, रिपोर्टिङ्गमा जाने पत्रकारहरुसमेत २ सय बढीको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको सचिव पराजुलीले जानकारी दिनुभएको छ ।
प्रदेशसभाको छैठौं अधिवेशनमा सहभागि हुन प्रदेशसभा सदस्यहरुले अनिवार्य कोरोना परीक्षण गर्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । यसै क्रममा ७९ जना प्रदेशसभा सदस्यहरुको स्वाब परीक्षणका लागि संकलन भइसकेको छ । बाँकी रहेका १४ जनाको पनि छिट्टै परीक्षण हुने सचिवालयले जानकारी दिएको छ । त्यस बाहेक प्रदेशसभा सचिवालयका कर्मचारीहरु, मर्यादापालकहरु, सुरक्षाकर्मी र सवारी चालकहरु, रिपोर्टिङ्गमा जाने पत्रकारहरुको पनि स्वाब परीक्षण गरिएको छ । परीक्षणको रिपोर्ट आइतबार राति आउने सचिवालयले जानकारी दिएको छ ।