कालापानी र लिपुलेक नेपालकै हो : भारतीय वरिष्ठ पत्रकार बर्मा

विराटनगर । भारतका वरिष्ठ पत्रकार आनन्दस्वरुप बर्माले कालापानी नेपालकै भूभाग रहेको बताउनुभएको छ ।

नेपालले कालापानी र लिम्पियाधुरासहति समेटेर नयाँ नक्सा जारी गरेपछि भारतीय मिडियाहरु नेपाल विरुद्धको प्रोपोगाण्डामा उत्रिएको बेला भारतीय पत्रकार बर्माले कालापानीसहितको भूभाग नेपालकै भएको उल्लेख गर्नुभएको हो ।

भारतीय टेलिभिजन आजतकको रेडियोसँग कुरा गर्दै बर्माले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भूभाग रहेको बताउनुभयो । सीमा विवाद दुवै देशले वार्ता गरेर समधान गर्नुपर्नेमा जोड दिँदै उहाँले सन् १९६२ मा चीनसँग युद्ध हुँदा कालापानीमा राजा महेन्द्र सरकारसँग अनुरोध गरेर भारतले केही समयका लागि सेना राखेकोमा अहिलेसम्म नउठेको बताउनभयो ।

कालापानीमा भारतीय सेनाले स्थायी अखडा बनाउँदा अहिले अवस्था जटिल भएको बताउँदै बर्माले कालापानी र लिपुलेकलाई लिएर नेपाल र भारतबीचको विवाद पुरानै भएपनि समाधानमा ढिलाई भएको बताउनुभाये । नेपालको जमिन भारतले लिन नहुने बताउँदै उहाँले भारत एउटा ठूलो राष्ट्र भएकोले हेपाहा व्यवहार देखाउन नहुने बताउनुभयो । भारतले हेपाहा व्यवहार गरिरहे नेपाल कतै ढल्किनसक्ने उहाँको भनाइ छ ।

नेपालको लागि भारत र चीन दुवै छिमेकी राष्ट्र भएकोले भारतले यस्तो व्यवहार देखाइरहे नेपालले सहयोगको लागि कतै न कतै हात फैलाउनुपर्ने अवस्था आउने बर्माको भनाइ छ ।

शुक्रबार, ०९ जेठ, २०७७, रातीको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर