प्रदेश १ : ४० हजारकोे पिसिआर परीक्षण हुने

थप ८ सय ५० बेड आइसोलेसन र १५ हजार होल्डिङ बेड बनाइने

विराटनगर । प्रदेश नं. १ मा ४० हजार बढी नागरिकको पिसिआर बिधिबाट कोरोना परीक्षण हुने भएको छ ।

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा आज बसेको क्राइसिस म्यानेजमेन्ट सेन्टर प्रादेशिक समितिको बैठकले कोभिड—१९ को परीक्षण कार्ययोजना स्वीकृत गरेको छ ।

भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरु र प्रदेशभित्र कोभिड—१९ संक्रमित पहिचानको लागि परीक्षणको दायरा बढाउन लागिएको हो । दैनिक एक हजारका दरले पिसिआर परीक्षण गर्न लागिएको मुख्यमन्त्री शेरधन राईले जानकारी दिनुभयो ।

स्वीकृत भएको कार्ययोजनामा स्वाब परीक्षणका लागि जिल्लाहरुको वर्गिकरणसमेत गरिएको छ । उच्च जोखिम, जोखिम र सामान्य जोखिम गरी तीन क्षेत्रमा जिल्लाहरु वर्गिकरण गरि परीक्षण गरिनेछ । उच्च जोखिम क्षेत्रमा जम्मा जनसंख्याको १ प्रतिशत, जोखिम क्षेत्रमा ०.७५ प्रतिशत र सामान्य जोखिम रहेको जिल्लामा ०.५ प्रतिशत नागरिकको कोरोना परीक्षण गर्न लागिएको हो । हालसम्म प्रदेश १ मा ४ हजार एक सय बढीको पिसिआर परीक्षण भइसकेको छ ।

कोभिड—१९ को नियन्त्रण, उपचार व्यवस्थाको लागि अहिले सञ्चालनमा रहेका बेड क्षमताहरुको समेत बृद्धि गरिने भएको छ । कोशी कोभिड अस्पताल १ सय, झापामा २ सय, पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा २ सय, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ३ सय, कृष्णदास आश्रम बराहश्रेत्रमा २ सय र नेपाली सेना इटहरीमा ५० गरी थप ८ सय ५० बेड थपिने भएको छ ।

यसैबीच प्रदेशमा भारतबाट स्वदेश फर्कने नेपाली नागरिकहरुलाई राख्न ईलाम, झापा, मोरङ्ग र सुनसरीमा होल्डिङ्ग एरिया निर्माण गर्ने निर्णय भएको छ । होल्डिङ्ग एरियामा १५ हजार बेड संख्या बन्नेछ । ईलाममा २ हजार, झापामा ४ हजार, मोरङ्गमा ५ हजार र सुनसरी जिल्लामा ४ हजार बेड तयार हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सूचना डेस्कले जनाएको छ । ती जिल्लाका १० ठाउँमा ११ सय ३ वटा बेड बनिसकेको बताइएको छ ।

शुक्रबार, ०९ जेठ, २०७७, साँझको ०५:४९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर