विराटनगर । नेपालगञ्जका २१ जनाले कोरोनालाई पराजित गरेर शुक्रबार दिउँसो घर फर्किँदा अस्पतालले उनीहरुलाई फुलमालाले विदाई गर्दा भीडमा एकजना बालिका पनि थिइन् ।
गत वैशाख २१ गते संक्रमित पुष्टि भएपछि बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत बालिका १८ दिनपछि कोरोनामुक्त भएर डिस्चार्ज भएकी हुन् ।
यसअघि काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा कोरोना संक्रमित भेटिएकी ८१ वर्षीय बृद्धा पनि कोरोनामुक्त भएर डिस्चार्ज भइसकेकी छन् । गएको वैशाख २ गते संक्रमण पुष्टि भएकी बृद्धा १० दिनको उपचारपछि वैशाख ११ गते पाटन अस्पतालबाट डिस्चार्ज भएकी थिइन् ।
नेपालमा त्यसबाहेक बाग्लुङकी ६५ वर्षीय बृद्धासहित जेष्ठ नागरिकले पनि कोरोनालाई परास्त गरेर निको भइसकेका छन् । अन्य मुलुकहरुमा जेष्ठ नागरिकहरुलाई कोरोनाले थला पारेको र धेरैको मृत्यु भएको भएपनि नेपालमा जेष्ठ नागरिकले पनि कोरोनासँग लडिरहेका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु भएका तीन जना ५० वर्षभन्दा कम उमेरका छन् । गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुष, सिन्धुपाल्चोकको बाह्रबिसेकी नगरपालिकाकी २९ वर्षीय महिला र बाँकेको नरैनापुरका २५ वर्षीय युवकको कोरोनाबाट मृत्यु भएको छ । उनीहरुमध्ये गुल्मीका शिक्षक कोरोना संक्रमण देखिएपछि उपचारमा थिए भने अन्य दुई जनाको मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालउका अनुसार शुक्रबारसम्म नेपालमा ४८७ जना संक्रमित फेला परेका छन् । उनीहरुमध्ये ७० जना उपचारपछि निको भइसकेका छन् ।