न रोजगारी पाए, न घर जान पाए

इँटा उद्योगका २० हजार मजदुर सङकटमा

विराटनगर । कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि जारी लकडाउनका कारण सबै उद्योगद्यन्दा तथा कलकारखानाहरु ठप्प हुँदा श्रमिकहरु समस्यामा परेका छन् ।

विगत २ महिनादेखि जारी लकडाउनका कारण बिशेषगरि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको रोजीरोटीमा असर परेको छ । मोरङ्ग सुनसरी कोरिडोर अन्तर्गत सञ्चालन भएका करिब ६ सय उद्योगहरुमा ६० हजार बढी प्रत्यक्ष कामदारहरु छन् । झापा, मोरङ्ग, सुनसरी र सप्तरीमा सञ्चालन भएका १ सय बढी ईट्टाभट्टाहरुमा मात्रै करिब २० हजार बढी नेपाली तथा भारतीय कामदारहरु कार्यरत छन् । तर लकडाउनका कारण हाल अत्यावश्यक क्षेत्रका उद्योगहरुमा कार्यरत एक चौथाई कामदारहरु बाहेक अन्य सबै कामदारहरु रोजगारविहिन भएका छन् ।

रोजीरोटीका लागि छिमेकी मुलुक भारत र नेपालका विभिन्न जिल्लाबाट ईट्टा उद्योगमा काम गर्न आएका मजदुरहरु लकडाउनका कारण घर जान पाएका छैनन् । उनीहरुको पारिवारिक आयस्रोत समेत शुन्य भएको छ । उद्योगीहरुले खान र बस्ने व्यवस्था त मिलाईदिएका छन्, तर कति दिनसम्म भन्ने बिषयको जवाफ कसैसँग छैन । मोरङको कटहरी–२ स्थित आरती ईट्टा ट्रायल उद्योग प्रा.लि मा कार्यरत मजदुरहरुको परिस्थिति पनि यस्तै छ ।

विगत ७ वर्षदेखि उद्योगमा कार्यरत २२ वर्षीय समयुल मियाँ स्वदेश फर्कन चाहेर पनि पाएका छैनन् । भारतको पश्चिम बङ्गाल निवासी उनी आफ्नो श्रीमती, बुवा, भाई र एउटी छोरीका साथ उद्योगमै दिन बिताईरहेका छन् । दिनभर ज्याला मजदुरी गरेर जेनतेन छाक टार्दै आएका उनको दिनचर्या हाल असहज बन्दै गएको छ । सोही ईट्टा उद्योगमा कार्यरत २५ वर्षीय मोमिनुर मियाँको हालत पनि उस्तै छ । लकडाउन भएदेखि नै उनी बेरोजगार बसेका छन् । लकडाउनको कारण विगत २ महिनादेखि ईट्टाभट्टा ठप्प हुँदा उनको आयआर्जनको श्रोत पनि ठप्प भएको छ ।

उनीहरु जस्तै उक्त ईट्टा उद्योगमा कार्यरत अन्य २ सय ४३ जना कामदारहरुको परिस्थिति समान छ । उनीहरुको व्यवस्थापनका लागि आवश्यक पहल तथा प्रयासहरु भईरहेको उद्योगका ईन्चार्ज यमकुमार श्रेष्ठले बताउनुभयो । सरकार र भारतीय राजदुतावासम्म प्रयास जारी रहेको उहाँको भनाई छ ।

लकडाउनका कारण मजदुरहरुमा भोकमरीको अवस्था सिर्जना हुन नदिन सरकार वैकल्पिक रुपमा अगाडि बढनुपर्ने आवश्यक देखिएको उद्योग सङगठन मोरङ्गका अध्यक्ष भीम घिमिरेले बताउनुहुन्छ । विभिन्न उद्योगद्यन्दा तथा कलकारखानाहरुमा कार्यरत मजदुरहरुले पनि मितव्ययी भएर कम खर्चमा जिविकोपार्जन गर्ने बानी बसाल्नुपर्ने उहाँको भनाई छ । उहाँले सरकारको तर्फबाट आफ्नो स्वदेश फर्कन चाहने भारतीय कामदारहरुका आवश्यक पहल भईरहेको आश्वासन प्राप्त भएको जानकारी दिनुभयो ।

आफ्नो स्वदेश फर्कन चाहने भारतीय कामदारहरुका लागि सरकारले निकास दिने प्रयास जारी राखेको छ । तर लकडाउनका मुलुकभरि यस्ता थुप्रै कामदारहरुको जनजीवन प्रभावित बनेको छ । सरकारले भने त्यसतर्फ पनि ध्यानदिनु अत्यन्तै आवश्यक देखिन्छ ।

शुक्रबार, ०९ जेठ, २०७७, बिहानको ११:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर