कोरोना देखिएपछि विराटनगरमा कडा लकडाउन (फोटो फिचर)

विराटनगर । विराटनगरमा पनि कोरोना देखिएपछि यहाँ लकडाउनलाई कडा पारिएको छ । बिहानैदेखि कोशी राजमार्गमा बाक्लोरुपमा प्रहरी परिचालन गरिएको छ भने भित्री सडकमा पनि गस्ती बढाइएको छ ।

हाइवे सुनसान देखिएपनि कतिपय भित्री सडकका पेटिमा बसेर रमिता हेर्ने सर्वसाधरणको कमि छैन । यस्तै तरकारी बोकेका ठेला तथा किराना आइटम बोकेका भेनहरु भित्री सडकतिर देखिएका छन् । खाद्यान्न तथा किराना पसल पनि आजदेखि बन्द गरिएको जिल्ला प्रहरी कार्यालयको भनाइ छ ।

कोरोना देखिनु अगाडि लकडाउनलाई केही खुकुलो बनाइएको भएपनि आजदेखि कडाइ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक बहादुर राईले बताउनु भयो । यसअघिका सवारी पास खारेज गरिएको पनि उहाँले जानकारी दिनुभयो । सडकमा स्वास्थ्यकर्मी र संचारकर्मीलाई मात्रै निस्कन अनुमति दिइएको उहाँको भनाइ छ ।

यसअघि हिंजो साँझ एक विज्ञप्ति जारी गर्दै राईले अत्यावश्यक औषधि पसल, पानी र दूधपसल बाहेक अन्य क्रियाकलापहरु बन्द हुने जानकारी गराउनु भएको थियो । ‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को संक्रमण विराटनगर महानगरपालिकाको विभिन्न वडाहरुमा समेत देखिएकोले अत्यावश्यक औषधि पसल, पानी र दूधपसल बाहेक अन्य क्रियाकलापहरु बन्द हुने व्होरा अनुरोध छ,’ विज्ञप्तिमा उल्लेख छ ।

यसअघि हिंजो विराटनगर १५ हडतालीहाट क्षेत्रका एक ३५ वर्षे युवा र विराटनगर ६ का २९ वर्षे महिलामा कोरोना पुष्टि भएको थियो । पुरुष विराटनगर महानगरपालिकाका सफाई कर्मचारी हुन् भने महिला माछा व्यापारी हुन् । ती महिला केही दिन अगाडि मात्रै भारतबाट नेपाल फर्केको बताइएको छ । कोरोना देखिएपछि ति दुई वटा वडा सिलबन्दी गर्ने स्थानीय प्रशासनले हिंजै निर्णय गरेर लागू गरेको जनाएको छ ।

सोमबार, ०५ जेठ, २०७७, बिहानको ०८:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर