दिनदहाडै व्यापारीमाथि आक्रमण : बाउन्सरबाट सडकमै कुटिन्छन् युवा

विराटनगर । केही वर्षयता सुस्ताएको गुण्डागर्दीको घटना विराटनगरमा फेरि मौलाउन थालेको छ । विराटनगरका पत्रकार, नागरिक समाज र राजनीतिक दलहरुको संयुक्त प्रयासमा गुण्डागर्दीको वातावरणलाई निस्तेज बनाएको केही वर्षपछि फेरि विराटनगरमा गुण्डागर्दी संस्थागत हुँदै गएको संकेतहरु पाइएका छन् । केही समययता प्रहरीले गुण्डागर्दी नियन्त्रणलाई प्राथमिकतामा नराखेको फाइदा उठाउँदै केही व्यक्तिहरुले फेरि पनि गुण्डागर्दी मार्फत समाजमा आतंक र अराजकता मच्चाइ अनुचित लाभ लिने प्रयत्न बढाएको देखिन्छ ।

विराटनगरमा एक हप्ताभित्रमा गुण्डागर्दीका तीन महत्वपूर्ण घटना भएका छन् । जसले सहरमा गुण्डागर्दी संस्थागत हुँदै गएको तर यसलाई नियन्त्रण गर्ने तर्फ प्रहरी प्रशासनले आवश्यक ध्यान नदिएको अनुमान गर्न गाह्रो छैन । गएको मंगलबार राति साढे १० बजे विराटनगर ११ का रेगन कँडेलले विराटनगर १२ का विजय कामतलाई तरवार प्रहार गरेर घाइते बनाए । सामान्य विवादलाई लिएर कँडेलले कामतमाथि तरबार प्रहार गरेको देखिन्छ । तरबार प्रहारबाट कामटको दायाँ हातमा गहिरो चोट लागेको छ । आक्रमण गर्ने कँडेललाई प्रहरीले पक्राउ गरेको छ र ज्यान मार्ने उद्योगमा अनुसन्धान गरिरहेको जनाएको छ ।
उक्त घटना भएको चार दिनपछि शनिबार दिउँसो विराटनगरको ब्यस्त बजार ट्राफिक चोकदेखि उत्तरको मेनरोडमा रहेको बालाजी कपडा पसलका संचालक ४३ वर्षे विजय अग्रवालमाथि यस्तै आक्रमण भएको छ । रुस्तम उप्रेती, रितिक साह, नितेन कटुवाललगायतका व्यक्तिहरुको समूहले व्यापारी अग्रवाललाई पसलमै गएर निर्घात कुटपिट गरेका हुन् । अग्रवाल विराटनगर ४ एयरपोर्टन लाइनमा रहेको तृष्णा रेष्टुरेन्टका संचालक पनि हुन् ।

शुक्रबार राति तृष्णामा व्यापारी अग्रवाल र अर्का संचालक अमन साहले रुस्तमलाई बाउन्सर लगाएर कुटपिट गरेको आरोप छ । रेष्टुरेन्ट बाहिर बाउन्सर र कर्मचारी मिलेर उप्रेतीले अपशब्द बोलेको भन्दै अग्रवालले बाउन्सर लगाएर उनीहरुलाई बाहिर निकालेका थिए । ती युवाहरुले भने रेष्टुरेन्टबाट बाहिर निकालेर आफूहरुमाथि कुटपिट गरेको आरोप लगाएका छन् । राति भएको घटनाबाट रिसाएका उप्रेतीसहितको समूहले अग्रवालको विराटनगर ९ मेनरोडमा रहेको कपडामा पसलमा आएर आक्रमण गरेका हुन् । युवाहरुको आक्रमणबाट अग्रवालको टाउको र अनुहारमा चोट लागेको छ । ‘शनिबार बिहान ११ बजे पसलमा आएर बसेको थिएँ । त्यसै बेला केटाहरुको १० देखि १२ जनाको समूह आएर अन्धाधुन्द आक्रमण गर्न थाले । पसलमै भएको अल्मुनियमको पाइपले मेरो टाउकामा ५० पटक भन्दा बढी प्रहार गरे । त्यही भएर चोट लागेको हो,’ व्यापारी अग्रवालले भने, ‘अघिल्लो दिन होटलमा झगडा भएको थियो । मैले गएर छुट्याएको थिएँ । त्यसै निहँुमा एक्कासी आएर निर्घात कुटपिट गरेका छन् ।’ व्यापारी अग्रवाललाई उप्रेतीले अल्मुनियमको पाइपले कुटपिट गरेको सिसिटिभी फुटजेमा पनि देखिन्छ । पसलमा रहेको पाइप उचालेर पटक पटक अग्रवाललाई प्रहार गरेको देखिन्छ । त्यसपछि बिमल कार्कीले पसलको सिसा माथि चढेर हेलमेटले प्रहार गरेको सिसिटिभी फुटेजमा देखिन्छ । मरणसन्न हुने गरि कुटपिट गरेपछि उनले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दर्ता गराएका छन् ।

मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रसाद जोशीले घटनाको विषयमा अनुसन्धान गर्दै आएको बताए । ‘हामीले अनुसन्धान सुरु गरेका छौं । आक्रमणमा संलग्नहरुको खोजी जारी रहेको छ,’ डिएसपी जोशीले भने, ‘घटनामा संलग्न सबै जना पक्राउ पर्नेछन् । ’
पछिल्ला यी घटनाले विराटनगरमा शान्ति सुरक्षाको विषयमा गम्भीर प्रश्न खडा भएको छ । विगतमा विराटनगरमा राजनैतिक संरक्षणमा गुण्डार्दी हुने गरेको थियो । त्यसबेलामा प्रहरीले कडाइ गरेपछि पुराना डनहरू सुध्रिए । तर, अहिले प्रहरी नरम भएपछि अहिले युवा पुस्ता गुण्डागर्दीमा सक्रिय भएका छन् ।
शान्ति सुरक्षामा खलल पुर्याउनेलाई छोड्दिन ः एसपी

मोरङ प्रहरी प्रमुख एसपी नारायण चिमरियाले शान्ति सुरक्षामा खलल पुर्यायाउने र उच्छृङ्खल गतिविमा संलग्न जो कसैलाई पनि कारवाही गर्ने बताएका छन् । समाजमा शान्ति सुरक्षामा खलल पुर्याउनेविरुद्ध खरो रुपमा उत्रिने उनको भनाइ छ । ‘विराटनगरमा शनिबार भएको घटनाका विषयमा प्रहरी गम्भीर छ । घटनामा संलग्न सबै पक्राउ पर्ने र कानुनी दायारमा आउनेछन् । अहिले प्रहरी खोजी कार्यमा व्यापक रुपमा लागिपरेको छ,’ एसपी चिमरियाले भने, ‘केही दिन अगाडि तरवार प्रकरणमा पनि संलग्नलाई पक्राउ गरी अहिले कानुनी दायरामा ल्याइएको छ ।’उच्छृङ्खल र अराजक गतिविधिमा संलग्नविरुद्ध प्रहरी निर्मम भएर लाग्ने भन्दै उनले कुनै कसर बाँकी नराख्ने बताए ।

सोमबार, ०८ पुष, २०८१, बिहानको ११:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर