विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलले नेपाल बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेविरुद्धको मानहानीको मुद्दा मिलाउने पक्षमा आफूहरू रहेको बताएका छन् ।सर्वोच्चमा चलिरहेको मानहानीको मुद्दामा नचर्काउने र मिलाउने पक्षमा सर्वोच्च अदालतका सबै न्यायाधिशहरु सहमति रहेको पनि उनले बताए । विराटनगरमा आइतबार ६९ औं बार दिवस तथा न्यायिक विचार विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
‘अहिले गोपालजीको मान हानीको कुरा पनि आयो । यसलाई चर्काउनु जरुरी छैन । हामी सबै फूलकोर्टका न्यायाधीश बसेर यसलाई नलम्ब्याउने, हटाउने । यो कुरालाई मिनिमाइज गर्ने नतन्काउने । हामी त्यसमा छौं । त्यसमा तपाईहरुले गर्नुभएको चिन्ता जायज हो । त्यसमा तलमाथि हुँदैन,’ न्यायाधीश फुयाँलले भने, ‘तर, मेरो यहाँहरुलाई के अनुरोध छ भने कतिपय कुरा बोल्दा चाहिँ तौलीतौली, विचार गरिगरी बोल्नुपर्छ । समयक्रमले अर्थको अनर्थ दिनसक्छ । यसको अर्थ नबोल्नुहोस् भनेको होइन ।’
उनले मानहानीमा दोषी ठहर हुने हो कि भन्ने चिन्ता हटाउन भन्दै ‘मैले यति भनिसकेपछि तपाईंहरु विद्वानले यो कुरा बुझ्नु भयोहोला’ भनेका थिए । ‘तपाईंहरुले चिन्ता नगर्नु होला । त्यो लिगल प्रोसेसमा छ । त्यो लिगल प्रोसेसबाटै आफ्नो हिसाबले ह्याण्डल हुन्छ । त्यसबाट केही चर्किँदैन । मैले यति भनेपछि विद्धानहरुले पक्कै पनि यो कुरा बुझ्नु भयो भन्ने लाग्छ । त्यसकारण अहिलेको बार नेतृत्व र अदालतका न्यायाधीशहरु त्यसमा छैनौं ।’
उनले आफूहरुले त्यसो भनेपछि कर्मचारी फ्याक्टरलाई बुझ्नुपर्ने आशय व्यक्त गरे । ‘हामीले बुझ्नु पर्ने अर्को कुरा पनि के हो भने हाम्रा कर्मचारीहरु पनि हामीसँगै काम गर्छन् । मिसिल ल्याउँछन्, फायल ल्याउँछन् । सबै टाइपिङ गरेर ल्याउँछन् । हाम्रा अभिन्न अंगको रुपमा काम गर्छन् । उहाँहरुको पनि गुनासो र रिजर्भेसनहरु छन्,’ फुयाँलले भने ।
बारका अध्यक्ष घिमिरेविरुद्ध सर्वोच्च अदालत प्रशासनले गत असोजमा अवहेलना मुद्दा दर्ता गरेको थियो । न्यायपरिषद्को न्यायाधीश सिफारिस सम्बन्धी निर्णयमाथि आलोचना गरेको विषयलाई लिएर सर्वोच्च अदालतका सूचना अधिकारीसमेत रहेका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले अघिसारेको अवहेलनाको प्रतिवेदनका आधारमा बार अध्यक्ष घिमिरेविरुद्ध मुद्दा चलाइएको हो । मुद्दामा घिमिरेले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध भ्रामक र आधारहीन अभिव्यक्ति दिएको दाबी गरिएको छ । अध्यक्ष घिमिरेले एक कार्यक्रममा ‘तपाईं (न्यायाधीश विश्वमभरप्रसाद श्रेष्ठ) ले लेनदेनका आधारमा नियुक्ति गर्नुभयो भनेर भनिसकें, तपाईंले आफूले लिएको हिसाबकिताब मिलानका लागि न्यायाधीश नियुक्ति गर्नुभयो । सक्नुहुन्छ भने थुन्नुस् । के कानुन लगाउने हो, तपाईंले सबै कानुन लगाउन सक्नुहुन्छ,’ भनेका थिए । अवहेलना मुद्दा दर्ता गरेपछि नेपाल बार र सर्वोच्च प्रशासनबीच द्वन्द्व सिर्जना भएको थियो । मानहानीको मुद्दा लागेपछि त्यसविरुद्ध आफूहरु लड्ने भन्दै बारले पनि निर्णय गरेको थियो । यद्यपि सो विषयलाई मिलाउनु पर्नेमा फुयाँलले जोड दिएका हुन् ।
फुयाँलले बारको पक्षमा उभिनु भनेको अदालतको विपक्षमा उभिएको नहुने पनि बताए । नयाँ पुस्तालाई पनि त्यो कुरा सिकाउन उपस्थित कानून व्ययवसायीहरुलाई आग्रह गरे । उनले कानून व्यवसायीको कार्यक्रममा जाँदा आफू पनि बारमै छु जस्तो लाग्ने बताए । ‘यहाँ कुरा के उठ्यो भने बारको पक्षमा उभिने भन्नुभयो । हामी त्यही पृष्ठभूमिका हौं । म कानून व्यवसायी नै हुँ जस्तो लाग्छ तपाईहरुसँग भेट्दा । तर, म पदीय हिसाबले पनि ब्याक सर्छु । मलाई अरुले के भन्लान् भन्ने फिल हुन्छ । तर, म यहीँकै प्रोडक्ट हुँ,’ उनले भने, ‘परिवर्तित सन्दर्भमा हामीले के बुझ्नुपर्छ भने बारको पक्षमा उभिनु भनेको अदालतको विपक्षमा उभिनु होइन । बारको पक्षमा उभिनु भनेको डेमेक्रेसीको पक्षमा उभिनु हो । रुल अफ लको पक्षमा उभिनु हो । ह्युमन राइट, सुशासनको पक्षमा उभिनु हो । बारको पक्षमा उभिनु भनेको न्यायलयको सबै सब सिस्टमहरूलाई एकत्रित गर्ने र त्यसमा आफूले कन्ट्रिब्युट गर्नुपर्छ भन्ने मान्यताको पक्षमा उभिनु हो । नयाँ पुस्तालाई पनि त्यही ढंगले सिकाउनु पर्छ ।’