विराटनगर । मोरङको धनपालथान गाउँपालिका–३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा संलग्न २६ जनालाई २२ करोड ४८ लाखको बिगो कायम गरिएको छ । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा २७ मंसिरमा संघीय संसदको सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अंजला कोइरालासहित २६ जनालाई उक्त बिगो दाबी गरेको हो । २८ मंसिरमा जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पूर्पक्षका लागि थुनामा पठाएको छ । अन्य प्रतिवादी भने फरार छन् ।
सरकारी वकिलको कार्यालय मोरङले दायर गरेको अभियोगपत्रमा ८ हजार ८ सय ४२ जना शेयर सदस्यहरुको ३ करोड ८ लाख ८० हजार ३ सय रुपैयाँ सेयर रकम रहेको र ७०७ जना ऋणीहरुले २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ संस्थाबाट ऋण लिएको सहकारीले देखाएको उल्लेख छ । यद्यपि उक्त ऋणमध्ये ८ करोड १३ लाख ६४ हजार ७ सय रुपैयाँ ऋण उठेको र बाँकी १६ करोड १६ लाख ५७ हजार ८३२ रुपैयाँ ऋण उठ्न बाँकी देखाइएको विवरण छ । ‘तर, उक्त ऋणहरुको निवेदन समेतको व्यहोराबाट उमागौरी कृषि सहकारी संस्थाबाट महिला उद्यमशिल कर्जा शीर्षकबाट ऋण उपलब्ध गराउने भनी तमसुक बनाएर धितोको लागि ऋणीहरुले घरजग्गा राखेकोमा सोही धितो राखिएको जग्गा नविल बैंक लिमिटेडमा धितो राखी कर्जा निकाली माग गरेको धितो रकम भन्दा आधा रकम मात्र सम्बन्धीत ऋणीलाई उपलब्ध गराइ आधा रकम आफैंले खाइमासी हिनामिना गरेको कारण हाल सफ्टवेयरमा संस्थाले लगानी गरेको ऋण बढी देखिएको पाइन्छ,’ अभियोगपत्रमा उल्लेख छ ।
उक्त सहकारीले नियमक निकायबाट केन्द्र विस्तार गर्ने अनुमतीसमेत नलिई अमरदह, आमबारी, रमाइलो लगायतको ठाउँमा शाखा बिस्तार गरी सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने र बचतकर्ताहरुको दैनिक तथा मासिक किस्ताबाटै ऋणको साँवा ब्याज कटिने भनेर प्रलोभन देखाइ रकम बचत जम्मा गर्न लगाएको देखिएको छ । यस्तै ‘कर्जाको लागि धितो राखेको घरजग्गा सम्बन्धित ऋणीहरुको सहमती बिना नै नविल बैंकमा धितो राखी उक्त रकम निकासा भए पश्चात अपचलन गरेको देखिन्छ,’ अभियोग पत्रमा उल्लेख छ ।
‘प्रमाणहरु समेतबाट संस्थामा आवद्ध प्रतिवादी अंजलासहितका २६ जनाले समयमा साधारण सभा गरी संस्थालाई नाफामा देखाउने उद्देश्यले गलत लेखा परीक्षण गराउने, संस्थाका पदाधिकारीहरु संस्थाको आयोजनामा हुने मिटिङमा सहभागी हुने, निर्णयमा दस्तखत गर्ने कार्यले सबैको संलग्नतासमेत स्थापित भएको…,’ अभियोगपत्रमा उल्लेख छ ।
उक्त अभियोगपत्रमा शम्भुप्रसाद रौनियार, लक्ष्मण साह रौनियार, आलम अनसारी मियाँ, शम्भुप्रसाद सिंह, आमोदकुमार मण्डल, जितमान ठाकुर, बिजयकुमार यादव, सुरेन्द्रकुमार राजबंशी, अशोककुमार विश्वास, दिलमाया राई, अंजला कोइराला, उपासी राजबंशी, सोनु यादव, मोहमद नजाम उद्दिन, चम्पा गिरी, शम्भुप्रसाद सिंह, संतलाल खवास, लक्ष्मीदेवी कार्की राजवंशी, ज्योती बाँस्कोटा, सुमन लोहनी, मित्रप्रसाद सिवाकोटी, सरदराज सिंह, मो.नसरुदिन, मनोजकुमार सोनी, यशोदाकुमारी राजवंशी फरार रहेका प्रतिवादीमा राखिएको छ ।
प्रतिवादीहरुले सहकारी ऐन, २०७४ को दफा १२२ को देहाय (घ), (ङ), (च), (छ), (ज), (ञ) र (त) बमोजिमको कार्य कसूर गरेको पुष्टि हुने अभियोग पत्रमा उल्लेख छ । प्रतिवादीहरुलाई सहकारी ऐन दफा १२४ को उपदफा (१) को देहाय (घ) (५) बमोजिम विगो २२ करोड ४८ लाख ३७ हजार ७ सय रुपैयाँ बिस पैसा बिगो कायम गरी संस्था मार्फत नै पीडित जाहेरवालाहरुलाई बिगो भराइ सो बाहेकको दायित्व समेतको बाँकी रकम समेत संस्थालाई दिलाइ भराइ प्रतिवादीहरुलाई बिगो बमोजिम जरिवाना गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद सजायको माग गरिएको छ ।
फरार प्रतिवादीको सूचिमा रंगेली नगरपालिका–वडा नम्बर २ का वडा अध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्व उपाध्यक्ष हुन् । २०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए ।
सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय भने अहिले बन्द छ । अनुसन्धानमा असहयोग गरेको भन्दै प्रहरीले गत १४ कात्तिकमा सहकारीको कार्यालयको ताला फोडेर कागजात जफत गरेको थियो । उजुरीका लागि सार्वजनिक आह्वान पनि गरेको थियो । आह्वान गर्दा २० जना ऋणीले आफूहरु ठगिएको भन्दै प्रहरीमा निवेदन दिएका छन् ।
सहकारी ठगी प्रकरणमा प्रहरीले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पक्राउ गरेको छ । धनपालथान गाउँपालिका–४ का पूर्व वडा अध्यक्ष राजवंशी यो सहकारीबाट आफंै पीडित रहेको बयान दिएका छन् । सहकारीका अध्यक्ष सम्भुप्रसाद रौनियारले राजवंशीको आमाको नाममा रहेको घरजग्गा बैंकमा धितो राखेर ८० लाख रुपैयाँ ऋण निकालेर प्रयोग गरेका छन् । ऋण माग गर्दै सहकारीमा गएपछि आफूलाई सहकारीको सञ्चालक बनाएको दाबी गर्दै राजवंशीले आमाको नामको जग्गा राखेर २०७३ सालमा सिभिल बैंकबाट ८० लाख रुपैयाँ ऋण निकालेर आफूलाई ३० लाख मात्रै दिएको दाबी गरेका छन् ।