लोड हुँदैछ...

मेनु

आर्थिक अपराधलाई निरुत्साहित गर

आर्थिक अपराधलाई निरुत्साहित गर

मोरङको धनपालथान गाउँपालिकामा रहेको उमागौरी कृषि सहकारी ठगी प्रकरण नेपालको सहकारी क्षेत्रमा भएका आर्थिक अपराधहरुमध्ये एउटा गम्भीर अपराधको उदाहरण हो । यसमा अनियमितता र भ्रष्टाचारलाई न्यूनीकरण गर्न सरकारलाई लगाम लगाउने संसदीय जिम्मेवारी लिएका व्यक्ति नै अप्रत्यक्ष संलग्न छन् । तर, यस प्रकरणमा भइरहेको छानविन र मुद्दा किनारा लगाउने प्रक्रिया भने सन्देहात्मक छ । यस घटनाले सहकारी संस्थाहरूमा संचालन र नियमनको कमजोरीलाई उजागर गर्दछ ।
सहकारी संस्थाले आफ्ना सदस्यहरूको विश्वास र पैसा दुरुपयोग गरेको स्पष्ट छ । अभियोगपत्रमा उल्लेख भए अनुसार, संस्थाले नियमक निकायबाट अनुमति नलिई शाखाहरू विस्तार गरेको, सस्तो ब्याजदरको प्रलोभन देखाएर बचतकर्ताहरूलाई आकर्षित गरेको र ऋणको धितोको अपचलन गरेको पाइएको छ ।

विशेष गरी, संस्थाका पदाधिकारीहरूले ऋणीहरूको जग्गा उनीहरूको सहमतिविना नै बैंकमा धितो राखेका छन् र ऋण रकमको केवल आधा रकम ऋणीलाई उपलब्ध गराएका छन् । यस्ता कार्यहरूले सहकारीप्रतिको विश्वास नै डगमगाउँछ ।
सरकारी वकिलको कार्यालयले ८ हजार ८४२ जना शेयर सदस्य र ७०७ जना ऋणीहरूलाई प्रभावित गर्ने गरी २२ करोड ४८ लाख ३७ हजार ७०० रुपैयाँको बिगो कायम गरेको छ । सहकारीका पदाधिकारीहरूले ६ देखि ८ वर्षसम्म कैद र जरिवानाको माग गरिएको छ ।

यो घटनाले नेपालमा सहकारी क्षेत्रको नियमन र अनुगमनमा सुधारको आवश्यकता देखाउँछ । सहकारी संस्थाहरूमा पारदर्शिता, जवाफदेहिता र कडा निगरानीको व्यवस्था गर्न जरुरी छ । साथै, सदस्यहरूले पनि आफ्नो बचत र लगानीप्रति सतर्क र सजग रहनुपर्छ ।

यस्ता घटनाहरूले सामाजिक र आर्थिक विश्वासमा नकारात्मक असर पार्दछन् । सहकारी संस्थाहरू स्थानीय आर्थिक विकासका महत्वपूर्ण संस्थाहरू हुन् । तर, जब यी संस्थाहरू नै भ्रष्टाचार र ठगीको केन्द्र बन्छन्, त्यसले समुदायको आर्थिक संरचनामा गहिरो क्षति पुर्याउँछ ।

यो प्रकरणले सबै सरोकारवालाहरूलाई सहकारी क्षेत्रको सुशासन र पारदर्शिता बढाउन गम्भीर बन्नु पर्छ । त्यसका लागि जनस्तरबाट पनि आवश्यक दबाब सिर्जना गर्न जरुरी हुन्छ ।अहिले सहकारी ठगीको विषयमा देशव्यापी चर्चा परिचर्चाहरु भइरहेका छन् । यसै प्रकरणमा जोडिएर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेर दुई महिनादेखि प्रहरी हिराशतमा छन् । तर यस्तै प्रकरणमा मुछिएका प्रतिनिधि सभा सार्वजनिक लेखा समितिका सभापति जोडिएको विषयमा भने देशको प्रशासन कानमा तेल हालेर बसिरहेको छ । यसले देशको सुशासनको अवस्थालाई दुरुह बनाउन सहकारी क्षेत्र र त्यसमा नेताहरुको भूमिका कतिसम्म छ भन्ने देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds