विराटनगर । मंगलबार नेप्से परिसूचक बढेर बन्द भएको छ । सोमबार करिब २० अंक बढेर बन्द भएको नेप्से मंगलबार करिब १८ अंक बढेको छ ।यस दिन नेप्से परिसूचक १७.८० अंक बढेर २७७५.८५ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स ०.५८ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३७ अंक बढेको छ ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन साढे १० अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३०७ स्टकको ८८ हजार ७७५ पटकको कारोबारमा ८ अर्ब ५२ लाख १२ हजार रुपैयाँ बराबरको १ करोड ८१ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।
यस दिन ५ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । दिव्यश्वरी हाइड्रोपावर, इंगवा हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, जोशी हाइड्रोपावर र सुपर मादी हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य साढे ८ प्रतिशत बढेको छ । कारोबारमा आएको अप्पर साङ्गे हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक ९.५१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन ङादी ग्रुप पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २६ करोड ७५ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन जानकी फाइनान्सको साढे २६ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने बेस्ट फाइनान्सको २४ करोडभन्दा बढीको शयर किनबेच भएको छ ।
बजारका १३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक ५.९६ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन वित्त, जलविद्युत र जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा धेरै बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.७१ प्रतिशत घटेको छ ।